२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

सर्लाही र सिन्धुली जोड्ने सडक पहिरोका कारण अवरुद्ध

Nada
२०८३ असोज ६ गते १५:०६
Shares
सर्लाही र सिन्धुली जोड्ने सडक पहिरोका कारण अवरुद्ध

सर्लाही : सर्लाहीको बागमती र सिन्धुलीको हरिहरपुरगढी जोड्ने सडक पहिरोका कारण अवरुद्ध भएको छ । गत शनिबार वर्षासँगै गएको पहिरोबाट बागमती नगरपालिका–११ का विभिन्न तीन स्थानमा सडक पुरिएको हरिहरपुरगढी गाउँपालिका–६ का वडाध्यक्ष एकबहादुर मोक्तानले बताए ।

ncell

पहिरोले सडकमा क्षति पुर्‍याएसँगै त्यस खण्ड भएर चल्ने यातायातका साधन ठप्प भएको छ । सडक बन्द भएपछि बिरामीलाई अस्पतालसम्म लैजानसमेत समस्या उत्पन्न भएको छ । अन्तर प्रदेशस्तरीय उक्त सडकले पूर्वपश्चिम लोकमार्ग र मदन भण्डारी लोक मार्गलाई जोड्छ। कर्मैया–पिपलमाडी १६ किलोमिटर क्षेत्रमा सडक अवरुद्ध भएपछि यात्री पैदल नै हिँड्न बाध्य भएका छन् ।

सडक अवरुद्ध भएपछि हरिहरपुरगढी गाउँपालिका क्षेत्रका विभिन्न एक दर्जन गाउँका सर्वसाधारण दैनिक उपभोग्य वस्तु किनमेल गर्न, औषधि उपचार र अन्य प्रयोजनका लागि टाढा धाएर हेटौँडा वा सिन्धुली जान बाध्य छन् । छोटो सडक  पहिरोबाट अवरुद्ध भएपछि सर्वसाधारण लामो बाटो छिचोलेर हेटौँडा पुग्नुपर्ने बाध्यता रहेको व्यवसायी किस्मतराज मैनालीले बताए । 

चाडपर्वको मुखमा सडक अवरुद्ध हुँदा उपभोक्ता र व्यापारी दुवैले समस्या झेल्न परेको उनको भनाइ छ । कर्मैया–पिपलमाडी सडकमा सञ्चालन हुने बोलेरोसहित अन्य साना सवारी थन्क्याएर बस्नुपरेको यातायात व्यवसायी कर्मा लामाले बताए । 

यातायात सेवा अवरुद्ध भएपछि स्थानीय पैदल हिँडेरै आउजाउ गर्न र दाल, चामललगायत खाद्य थाप्लोमा बोक्न बाध्य भएको स्थानीयको गुनासो छ । बागमती र मधेस प्रदेश जोड्ने ‘लिंक रोड’ को रूपमा रहेको कर्मैया–पिपलमाडी सडकखण्डमा चुरेको जोखिम पूर्ण डेढ किलोमिटर सडक सर्लाहीतर्फ रहेको छ ।

ताजा खबर

सम्बन्धित खबर