२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

अर्जुन दोङको मृत्युपछि कीर्तिपुर अस्पतालमा तनाव, निष्पक्ष छानबिन र कारबाहीको माग

Nada
२०८३ असोज ६ गते १२:४८
Shares
अर्जुन दोङको मृत्युपछि कीर्तिपुर अस्पतालमा तनाव, निष्पक्ष छानबिन र कारबाहीको माग

काठमाडौँ : त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका मकवानपुरका अर्जुन दोङको उपचारका क्रममा मृत्यु भएपछि कीर्तिपुरस्थित बर्न अस्पताल परिसरमा तनाव उत्पन्न भएको छ ।

ncell

दोङको मृत्युको खबर सार्वजनिक भएपछि उनका आफन्त तथा समर्थकहरू अस्पताल परिसरमा भेला भएर प्रदर्शन गरिरहेका छन् । उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी जिम्मेवार पक्षमाथि कानुनी कारबाही गर्न माग गरेका छन् ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ घर भएका दोङले सोमबार त्रिपुरेश्वरमा आफैँले चलाएको बसभित्र आत्मदाहको प्रयास गरेका थिए । ट्राफिक प्रहरीसँग भनाभन भएपछि उनले बसभित्रै आत्मदाहको प्रयास गरेको प्रारम्भिक विवरण छ ।

गम्भीर घाइते भएका दोङलाई उद्धार गरी उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको अस्पताल प्रशासनले पुष्टि गरेको छ ।

दोङको मृत्यु भएपछि आक्रोशित आफन्त तथा समर्थकहरू अस्पताल परिसरमा भेला भएका हुन् । उनीहरूले आत्मदाहको घटनाको कारण र त्यसअघिको परिस्थितिबारे गम्भीर अनुसन्धान गर्नुपर्ने माग गरिरहेका छन् ।

प्रदर्शनकारीहरूले पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, घटनामा दोषी देखिने व्यक्तिमाथि तत्काल कानुनी कारबाही गर्नुपर्ने तथा अनुसन्धानबाट प्राप्त तथ्य सार्वजनिक गर्नुपर्ने माग राखेका छन् ।

अस्पताल परिसरमा प्रदर्शन बढेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। सम्भावित अप्रिय अवस्था रोक्न सुरक्षाकर्मी परिचालन गरिएको छ भने मृतकका परिवार र स्थानीय प्रशासनबीच संवादमार्फत स्थिति सामान्य बनाउने प्रयास भइरहेको छ ।

दोङले आत्मदाहको प्रयास गर्नुपर्ने अवस्था कसरी सिर्जना भयो भन्ने विषयमा विस्तृत तथ्य भने सार्वजनिक भइसकेको छैन । घटनाको पृष्ठभूमि, ट्राफिक प्रहरीसँग भएको भनाभन र त्यसपछि भएको आत्मदाह प्रयासबारे अनुसन्धानबाट थप तथ्य खुल्ने अपेक्षा गरिएको छ ।

मृतकका परिवार तथा समर्थकले घटनालाई गम्भीर रूपमा लिएर निष्पक्ष छानबिन नगरेसम्म आफूहरूको विरोध जारी रहने बताएका छन् । अस्पताल परिसरमा उनीहरूको प्रदर्शनका कारण तनावको अवस्था कायमै रहेको छ ।

ताजा खबर

सम्बन्धित खबर