२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

ओलीलाई शंकरले भने- ‘तपाईंको असहमतिमा म पार्टी अध्यक्ष बन्दिनँ’

Nada
२०८३ असोज ६ गते १३:२७
Shares
ओलीलाई शंकरले भने- ‘तपाईंको असहमतिमा म पार्टी अध्यक्ष बन्दिनँ’

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्र समस्या रहेको महसुस गरेर मात्रै नहुने भन्दै त्यसअनुसार व्यवहारमा पनि सुधार ल्याउनुपर्ने बताएका छन् । उनले अध्यक्ष केपी शर्मा ओलीलाई नेता मानेर अघि बढिरहेको स्पष्ट गर्दै आफ्नो असहमति ओलीलाई नमान्नु नभएको बताएका हुन् ।

ncell

एमाले केन्द्रीय कमिटीको मंगलबारको बैठकमा बोल्दै पोखरेलले पार्टीभित्रका समस्या पहिचान गरेर समाधान गर्नुपर्नेमा जोड दिए । बैठकमा सहभागी एक नेताका अनुसार उनले ओलीलाई भने, ‘तपाईंलाई भ्रम परेको छ । मैले कुनै विषयमा असहमति राख्नु भनेको तपाईंलाई नमान्नु होइन । तपाईं र मेरो दूरी छैन ।’

पार्टीभित्र समस्या रहेको यथार्थ स्वीकार नगरी समाधान सम्भव नहुने उनको भनाइ थियो । ‘पार्टीभित्र समस्या छन्, त्यसलाई रियलाइज गरौँ, अनि मात्रै समाधान हुन्छ,’ उनले भनेका थिए ।

पोखरेलले अध्यक्षले कार्यकर्तालाई समान रूपमा हेर्ने दृष्टिकोण बनाउनुपर्नेमा जोड दिएका थिए । राजनीतिक, वैचारिक र सैद्धान्तिक तहमा समेत समस्या देखिएको उल्लेख गर्दै उनले यही कारण कतिपय मानिसले एमालेप्रति विश्वास गर्न छाडेको धारणा राखेका थिए ।

‘रियलाइजेसनसहितको एकता हो भने त्यसले परिणाम दिन्छ । प्रतिवेदनमा रियलाइजेसन गर्ने तर व्यवहार भने यथावत् राख्ने कुराले ठीक हुँदैन,’ उनको भनाइ थियो ।

उनले पार्टी सुधारका लागि मिहिनेत गरेर तयार पारिएको कार्यदलको प्रतिवेदनलाई बेवास्ता गर्न नहुने बताए । निर्वाचनमा जनताले दिएको सन्देश नबुझी गरिने निर्णयले पार्टीलाई सही दिशामा लैजान नसक्ने उनको धारणा थियो ।

केन्द्रीय सदस्य सूर्य थापाका अनुसार पोखरेलले अध्यक्ष ओलीसँग आफ्नो सम्बन्ध र भूमिकाबारे पनि बैठकमा स्पष्ट पारेका थिए ।

‘सँगसँगै बसेर काम गरिरहँदा अध्यक्ष कमरेडलाई अभियोग लगाउने काम मबाट हुँदैन,’ पोखरेलले भनेका थिए । पार्टीमा असमझदारी र विग्रह आउने गरी आफूले विशेष महाधिवेशन आयोजनाको नेतृत्व नगर्ने पनि उनले स्पष्ट पारे ।

‘तपाईंको असहमतिमा म पार्टीको अध्यक्ष बन्दिनँ,’ पोखरेलले ओलीलाई भनेका थिए ।

आफू र अध्यक्षबीच असहमति नरहेको सन्देश दिँदै उनले ओलीलाई आश्वस्त पार्ने प्रयाससमेत गरेका थिए । ‘पार्टी अध्यक्षसँग मेरो असहमति छँदैछैन । तपाईंलाई त्यस्तो अनुभूति छ भने भोलिको दिनदेखि नै हुनेछैन । यो विश्वास दिलाउन चाहन्छु,’ उनको भनाइ थियो ।

ओलीले सोमबारको बैठकमा महासचिव पोखरेललाई कुनै भूमिका नदिएपछि पोखरेलले त्यही दिन गुण्डु पुगेर बैठक सञ्चालनको तरिकाबारे असहमति राखेको विवरण सार्वजनिक भएको थियो । मंगलबारको बैठकमा पोखरेलले पार्टीको वर्तमान अवस्था र सुधारको आवश्यकताबारे धारणा राखेका हुन् ।

ताजा खबर

सम्बन्धित खबर