
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा निर्वाचनमा पार्टीले व्यहोरेको पराजयलाई बाह्य प्रहार र आन्तरिक कमजोरीको संयुक्त परिणामका रूपमा विश्लेषण गरेका छन् । उनले निर्वाचन हारलाई कुनै एक व्यक्ति वा एउटै कारणबाट भएको निष्कर्ष निकाल्न नहुने बताएका छन् ।
एमाले केन्द्रीय कमिटी बैठकमा सोमबार राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै ओलीले पार्टीको नेतृत्व, संगठन, विचार, जनसम्पर्क, सञ्चार, उम्मेदवार, शासनशैली र बदलिएको सामाजिक मनोविज्ञानलगायत पक्षले निर्वाचन परिणाम प्रभावित गरेको बताएका हुन् ।
उनले बाह्य प्रहार भएको स्वीकार गर्दै त्यसलाई मात्र हारको कारण मान्नु आत्मसान्त्वना हुने बताएका छन् । ओलीका अनुसार पार्टीभित्रका कमजोरी गम्भीर नभएको भए बाह्य प्रहारले पनि त्यति गहिरो असर पार्ने थिएन ।
‘हार बाह्य प्रहारको मात्र परिणाम होइन, हार हाम्रो आन्तरिक कमजोरीको पनि परिणाम हो । तर हार अध्यक्षको व्यक्तिगत असफलता होइन । यो सिंगो पार्टी संरचना, समयको मनोविज्ञान, बाह्य वातावरण, डिजिटल आक्रमण, चुनावी अवस्था र हाम्रा संगठनात्मक कमजोरीहरूको संयुक्त परिणाम हो,’ ओलीले भनेका छन् ।
१. बाह्य राजनीतिक प्रहार
ओलीले एमालेमाथि पार्टीबाहिरका राजनीतिक प्रतिस्पर्धी, स्वार्थ समूह, डिजिटल अभियानकर्ता, सामाजिक सञ्जालका अभियान र विभिन्न नेटवर्कबाट प्रहार भएको बताएका छन् । उनका अनुसार चुनावअघि एमालेले अर्को दलसँग मात्र प्रतिस्पर्धा गरेको थिएन, आफूविरुद्ध तयार पारिएको मनोवैज्ञानिक वातावरणसँग पनि प्रतिस्पर्धा गर्नुपरेको थियो ।
उनले ‘पुराना दल समस्या हुन्, पुरानो नेतृत्व भ्रष्टाचार हो र एमाले प्रतिरोध गर्नुपर्ने शक्ति हो’ भन्ने भाष्य निर्माण गरिएको दाबी गरेका छन् ।
२. डिजिटल चरित्रहत्या र सूचना आक्रमण
ओलीले सामाजिक सञ्जालमा फैलिएका अपुष्ट आरोप, काटिएका भिडियो, उत्तेजक शीर्षक र भावनात्मक सामग्रीले निर्वाचनमा प्रभाव पारेको बताएका छन् । उनका अनुसार यस्ता सामग्री तीव्र गतिमा फैलिँदा एमालेको तथ्य र स्पष्टीकरण ढिलो पुगे ।
‘हाम्रो तथ्य ढिलो पुगे । हाम्रो स्पष्टीकरण जनताको मोबाइलमा पुग्दा धेरैको मनमा आरोप बसिसकेको थियो,’ उनले भनेका छन् ।
ओलीले आफू र पार्टीमाथि लगाइएका विभिन्न आरोपलाई पनि यही सन्दर्भमा हेर्नुपर्ने बताएका छन् । यद्यपि उनले सार्वजनिक पदमा बसेकाले आरोपको जवाफ दिनुपर्ने र छानबिनबाट भाग्न नहुने स्पष्ट गरेका छन् ।
३. जनतासँगको दूरी
ओलीले एमालेको ठूलो संगठन भए पनि कतिपय ठाउँमा जनताको दैनिक जीवनसँग पार्टीको सम्बन्ध पातलिएको स्वीकार गरेका छन् ।
किसान, साना व्यवसायी, विदेश जान तयारी गरिरहेका युवा, शिक्षक, स्वास्थ्यकर्मी, मजदुर, महिला, विद्यार्थी, वृद्ध, अपांगता भएका नागरिक, भूमिहीन र सुकुम्बासीका समस्या पार्टीको राजनीतिक भाषामा पर्याप्त रूपमा आउन नसकेको उनको विश्लेषण छ ।
‘यी प्रश्न हामीले आफैँलाई सोध्नुपर्छ,’ ओलीले भनेका छन् ।
४. युवासँग कमजोर संवाद
ओलीले नयाँ पुस्तासँग एमालेको संवाद प्रभावकारी हुन नसकेको बताएका छन् । उनका अनुसार युवाले इतिहासको सम्मान गरे पनि आफ्नो भविष्यबारे ठोस उत्तर खोजिरहेका छन् ।
‘मेरो काम कहाँ छ? मेरो उद्यम कसरी सुरु हुन्छ? मेरो शिक्षा विश्वस्तरको किन छैन? मेरो पासपोर्ट नै मेरो भविष्य किन बन्यो? मेरो आवाज पार्टीभित्र कहाँ छ?’ भन्ने प्रश्न युवाको रहेको ओलीले उल्लेख गरेका छन् ।
उनका अनुसार एमालेले युवालाई इतिहासको गौरव सुनाए पनि उनीहरूको भाषामा र उनीहरूकै गतिमा भविष्यको योजना बुझाउन सकेन ।
५. सञ्चारशैलीमा कमजोरी
ओलीले विरोधीका आरोप सरल र छिटो फैलिएको तर एमालेको सत्य जटिल र ढिलो पुगेको बताएका छन् । आधुनिक राजनीतिमा सही कुरा हुनु मात्र पर्याप्त नभई सही समयमा सही भाषा र माध्यमबाट जनतासम्म पुर्याउनुपर्ने उनको भनाइ छ ।
‘हामीले सभााको भाषालाई मोबाइलको भाषामा बदल्न एकदमै ढिलो गर्यौँ,’ ओलीले भनेका छन् ।
उनका अनुसार एमालेले डिजिटल मञ्चलाई लामो समयसम्म पूरक साधनका रूपमा बुझ्यो, जबकि नयाँ पुस्ताका लागि त्यो मुख्य राजनीतिक चौतारो बनिसकेको थियो ।
६. संगठनात्मक निष्क्रियता
ओलीले एमालेको संगठन ठूलो भए पनि कतिपय कमिटी नाममा मात्र सीमित भएको बताएका छन् । सदस्यता भए पनि सक्रिय सम्पर्क कमजोर भएको र चुनाव नजिक आएपछि मात्र चलायमान हुने संगठनले निर्वाचनमा अपेक्षित परिणाम दिन नसक्ने उनको निष्कर्ष छ ।
‘चुनाव नजिक आएपछि चल्ने संगठन र वर्षभरि जनतासँग बस्ने संगठन फरक हुन्छ । हामीले दोस्रो प्रकारको संगठन बनाउने काम अधुरो छोड्यौँ,’ उनले भनेका छन् ।
७. आन्तरिक असन्तोष व्यवस्थापनमा कमजोरी
जिम्मेवारी बाँडफाँट, अवसर, निर्णय प्रक्रिया, उम्मेदवार छनोट र मूल्यांकनमा देखिएको असन्तोषलाई समयमै सम्बोधन गर्न नसक्दा समस्या बढेको ओलीको विश्लेषण छ ।
उनका अनुसार पार्टीभित्र असन्तुष्टिलाई सुन्ने, संवाद गर्ने र असहमतिलाई सम्मानपूर्वक स्थान दिने संस्कृति अझ बलियो बनाउन आवश्यक छ । भित्रको असन्तोष व्यवस्थापन हुन नसके त्यो बाहिर विस्फोट हुने र विपक्षीले त्यसलाई पार्टीविरुद्ध प्रयोग गर्ने उनको भनाइ छ ।
८. शासनशैली र सेवा प्रवाहमा कमजोरी
ओलीले एमाले नेतृत्वको सरकारमा ठूला पूर्वाधार तथा दीर्घकालीन कार्यक्रम अघि बढाइए पनि नागरिकको दैनिक जीवनमा अपेक्षित सुधारको अनुभूति गराउन नसकिएको स्वीकार गरेका छन् ।
उनका अनुसार जनताका लागि सरकार भनेको अस्पतालको लाइन, मालपोतको झ्याल, प्रहरी चौकीको व्यवहार, विद्यालयको गुणस्तर, किसानको अनुदान, युवाको रोजगारी फाराम र साना व्यवसायीको कर कार्यालय पनि हो ।
‘यदि यी ठाउँमा सुधारको अनुभूति कमजोर भयो भने ठूलो उपलब्धि पनि जनताको मनमा कमजोर पर्छ,’ ओलीले भनेका छन् ।
९. उम्मेदवार छनोट र स्थानीय नेतृत्व
ओलीले अब मतदाताले पार्टीको झण्डा मात्र हेरेर मत नदिने बताएका छन् । उम्मेदवारको व्यवहार, पहुँच, इमान, कामको रेकर्ड, सार्वजनिक छवि र भविष्यको क्षमतासमेत मतदाताले हेर्ने उनको विश्लेषण छ ।
उम्मेदवार छनोटमा पद, ओहदा, पहुँच र सिफारिसलाई मात्र आधार बनाउने प्रवृत्तिले परिणाममा असर पार्ने र लेनदेन, चलखेल तथा अन्तरघातले निर्णायक क्षति पुर्याउन सक्ने उनले बताएका छन् ।
१०. वैचारिक भाषाको अद्यावधिक नहुनु
ओलीले एमालेको विचार बलियो भए पनि त्यसलाई बदलिँदो समयको भाषामा विस्तार गर्न नसकिएको बताएका छन् । कृत्रिम बुद्धिमत्ता, डिजिटल अर्थतन्त्र, जलवायु संकट, वैदेशिक श्रम, सहरी गरिबी, गिग अर्थतन्त्र, शिक्षा बजार, मानसिक स्वास्थ्य, महिला सुरक्षा र युवा उद्यमजस्ता नयाँ प्रश्नमा पार्टीको वैचारिक भाषालाई जोड्नुपर्ने उनको भनाइ छ ।
‘हामीले सिद्धान्त राख्यौँ, तर त्यसको नयाँ जीवनसँगको सम्बन्ध पर्याप्त स्पष्ट गर्न सकेनौँ,’ ओलीले भनेका छन् ।
अध्यक्षका रूपमा जिम्मेवारी स्वीकार
ओलीले निर्वाचन पराजयको सम्पूर्ण जिम्मेवारी आफूबाट पन्छाउन खोजेको देखिन नहुने बताएका छन् । पार्टी अध्यक्षका रूपमा आफ्नो जिम्मेवारी अरूको भन्दा बढी रहेको उनको स्वीकारोक्ति छ ।
‘पार्टी कमजोर भयो भने अध्यक्ष जिम्मेवार हुन्छ, संगठन सुस्त भयो भने अध्यक्ष जिम्मेवार हुन्छ, जनतासँग दूरी बढ्यो भने अध्यक्ष जिम्मेवार हुन्छ, आन्तरिक असन्तोष व्यवस्थापन कमजोर भयो भने अध्यक्ष जिम्मेवार हुन्छ, चुनावी तयारी पर्याप्त भएन भने अध्यक्ष जिम्मेवार हुन्छ,’ उनले भनेका छन् ।
तर, ओलीले हारको सम्पूर्ण दोष एक व्यक्तिलाई दिन नहुने तर्क गरेका छन् ।
‘जिम्मेवारी लिनु र सम्पूर्ण दोष एक व्यक्तिमा थोपर्नु फरक कुरा हो । मेरो वास्तविक कमजोरी कसैले औँल्याइदियो भने म सधैं त्यसलाई खुसीसाथ स्वागत गर्छु र सच्याउन तत्पर हुन्छु,’ उनले भनेका छन् ।
उनले अब दोषारोपणभन्दा पार्टीको संगठन, जनसम्पर्क, युवा संवाद र सञ्चार प्रणाली सुधारमा ध्यान दिनुपर्ने बताएका छन् ।
‘यो समय भाग्ने समय होइन, यो समय दोषारोपणमा हराउने समय होइन । यो समय एकताबद्ध भएर एमालेको प्रतिरक्षा प्रणाली पुनर्निर्माण गर्ने समय हो,’ ओलीले भनेका छन् ।
ओलीले निर्वाचन पराजयलाई अन्त्य नभई सिकाइका रूपमा लिनुपर्ने बताएका छन् । उनका अनुसार एमालेसँग विचार, संगठन, इतिहास र कार्यकर्ता भए पनि पुरानो शक्तिको भरमा नयाँ विजय सम्भव छैन ।
‘नयाँ विजयका लागि नयाँ विनम्रता, नयाँ शैली, नयाँ सञ्चार, नयाँ जनसम्पर्क, आन्तरिक एकता, नयाँ संगठनात्मक अनुशासन र प्रयास चाहिन्छ,’ उनले भनेका छन् ।