२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

त्रिपुरेश्वरका दुई घटना : जरिवाना र प्रहरी व्यवहारमाथि प्रश्न

Nada
२०८३ असोज ६ गते ०६:२५
Shares
त्रिपुरेश्वरका दुई घटना : जरिवाना र प्रहरी व्यवहारमाथि प्रश्न

काठमाडौं : त्रिपुरेश्वरमा साढे दुई महिनाको अन्तरमा राज्यको नियमनकारी संयन्त्रसँग विवादमा परेका दुई युवाले आगो रोजेका छन् । असारमा २५ वर्षीय गणेश नेपालीले नगर प्रहरीसँग विवाद भएपछि राहदानी विभागअगाडि आत्मदाह गरेका थिए । सोमबार २५ वर्षीय बस चालक दावा लामाले पनि ट्राफिक प्रहरीसँग विवाद भएको केही समयपछि आफूले चलाउने सार्वजनिक बसभित्र आगो लगाए । 

ncell

दुवै घटना एउटै स्थानमा भएका छन् । दुवै घटनामा २५ वर्षीय युवा परेका छन् । घटनाअघि ट्राफिक प्रहरी र महानगर प्रहरीसँग भनाभन भएको भिडियो तथा विवरण सार्वजनिक भएका छन् । तर दुवै घटनाको प्रत्यक्ष कारण एउटै हो भन्ने निष्कर्षमा पुग्न भने अनुसन्धान पूरा हुनुपर्ने देखिन्छ । 

घटनाले ट्राफिक तथा नगर प्रहरीको व्यवहार, जरिवाना असुलीको शैली र नागरिकसँगको सम्बन्धबारे भने गम्भीर प्रश्न उठाएको छ । नियम उल्लंघन रोक्ने र नागरिकलाई सचेत गराउनेभन्दा जरिवाना असुलीमा बढी जोड दिँदा प्रहरी र चालकबीचको सम्बन्ध थप तनावपूर्ण बन्ने गरेको गुनासो लामो समयदेखि सुनिँदै आएको छ । 

हजार रुपैयाँ जरिवानापछि गणेशको मृत्यु

असार २६ गते मुगुका २५ वर्षीय गणेश नेपाली राहदानीसम्बन्धी कामका लागि त्रिपुरेश्वरस्थित राहदानी विभाग पुगेका थिए । पठाओ राइडरका रूपमा काम गर्दै परिवारको खर्च धान्दै आएका उनले विभागबाहिर मोटरसाइकल पार्क गरेका थिए । 

काठमाडौं महानगरपालिकाका नगर प्रहरीले निषेधित स्थानमा मोटरसाइकल पार्क गरेको भन्दै चक्कामा लक लगाइदिए । महानगर प्रहरीका अनुसार उनलाई एक हजार रुपैयाँ जरिवाना तोकिएको थियो । 

जरिवाना तिर्ने विषयमा गणेश र नगर प्रहरीबीच विवाद भएको थियो । त्यस क्रममा मोटरसाइकल हटाउन महानगरको टोली बोलाउने तयारी भइरहेका बेला उनले मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा खन्याई आगो लगाएका थिए ।

घटनाअघिको भनाभानको भिडियोसमेत सार्वजनिक भएको थियो । गम्भीर अवस्थामा वीर अस्पतालमा उपचाररत गणेशको असार २७ गते मृत्यु भयो । उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको थियो । 

परिवारले नगर प्रहरीको व्यवहार र पटक–पटकको जरिवानाले गणेशमाथि मानसिक दबाब बढाएको आरोप लगाएको थियो । महानगर प्रहरी पक्षले भने आफूहरूले कानुनी प्रक्रियाअनुसार काम गरेको र एक हजार रुपैयाँको जरिवाना मात्रै आत्मदाहको कारण हुन नसक्ने बताएको थियो । 

दावाको घटनामा ट्राफिकसँग विवाद

गणेशको घटनाको करिब साढे दुई महिनापछि सोमबार त्यस्तै प्रकृतिको अर्को घटना भयो । काभ्रेका २५ वर्षीय दावा लामा रिद्धिसिद्धि यातायातको बस चलाउँदै थिए । यात्रु नभएको बस त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि रोकिएका बेला बसभित्रै आगलागी भयो । बसको ढोका बन्द रहेकाले सुरक्षाकर्मीले ढोका फुटाएर लामाको उद्धार गरेका थिए ।

प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा लामाले नै बसमा आगो लगाएको आशंका गरेको छ । उनको शरीरको ९० प्रतिशतभन्दा बढी भाग जलेको चिकित्सकले बताएका छन् । गम्भीर अवस्थामा उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।

घटनाअघि लामा र ट्राफिक प्रहरीबीच विवाद भएको भिडियो बाहिरिएको छ । भिडियोमा लामाले आफूले गल्ती नगरेको अवस्थामा जरिवाना गर्न खोजिएको भन्दै विरोध गरेको देखिन्छ । उनले आक्रोशमा आफू मर्न तयार रहेको अभिव्यक्तिसमेत दिएका थिए । 

तर उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपलब्ध गराएको विवरणअनुसार लामामाथि कुनै कारबाही नगरिएको दाबी गरेको छ । विवादको वास्तविक कारण पत्ता लगाउन सिसिटिभी फुटेजलगायत आधारमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । नेपाल प्रहरीका पूवडिआइजी केशव अधिकारी जनगुनासो बढिरहेकाले ट्राफिक प्रहरीले आफ्नो व्यवहार सुधार गर्नुपर्ने बताउँछन् । ‘सडकमा चाप बढेको छ । त्यसको तुलनामा ट्राफिक प्रहरीको जनशक्ति र प्रविधि अपुग छ,’ उनले मध्यान्हसँग भने, ‘ट्राफिक व्यवस्थापन म्यानुअल गर्नुपर्ने अवस्थाले धान्न सक्ने अवस्था छैन ।’ 

ट्राफिक तथा नगर प्रहरीको मुख्य उद्देश्य सडक अनुशासन कायम गर्नु र नियम उल्लंघन घटाउनु हो । तर व्यवहारमा नागरिकले जरिवानालाई नियन्त्रण र सचेतनाभन्दा राजस्व संकलनसँग जोडेर बुझ्ने अवस्था बनेको छ । चालक र ट्राफिक प्रहरीबीचको असहज सम्बन्धले पनि यही समस्या देखाउँछ । 

नियम उल्लंघन हुँदा कारबाही आवश्यक हुन्छ । तर कारबाहीसँगै नागरिकलाई नियमबारे बुझाउने, संवाद गर्ने र विवाद बढ्न नदिने व्यवहार पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । दुई घटनाले नियम कार्यान्वयनको शैलीमाथि पुनर्विचार गर्नुपर्ने देखाएको छ । प्रश्न उठेपछि अब ट्राफिक नियम उल्लंघनमा प्रहरीले दण्डात्मकभन्दा सुधारात्मक कारबाहीमा जोड दिनुपर्ने पूर्वडिआइजी अधिकारी बताउँछन् । ‘गम्भीर गल्तीबाहेक अरूमा एकपटकलाई सम्झाइबुझाई गर्नु उपयुक्त हुन्छ,’ उनले भने, ‘व्यवहारमा सुधार गरेर पनि ट्राफिक व्यवस्थापन गर्न सकिन्छ ।’

सम्बन्धित खबर