२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

फेरि मौलायो एयरपोर्टभित्रको बिचौलिया सेटिङ, घुस लिनेको सिसिटिभी फुटेज खोजिँदै

Nada
२०८३ असोज ६ गते ०६:१०
Shares
फेरि मौलायो एयरपोर्टभित्रको बिचौलिया सेटिङ, घुस लिनेको सिसिटिभी फुटेज खोजिँदै

काठमाडौं : वैदेशिक रोजगारीमा जाने श्रमिकलाई चेपुवामा पारेर असुली गर्ने अध्यागमन कर्मचारीको रवैयामा परिवर्तन नभएको देखिएको छ । सोमबार बिहान कुवेत जाने श्रमिकको श्रम स्वीकृति नवीकरण नभएको घटनामा २८ हजार रुपैयाँमा मोलतोल गरेर २३ हजार असुली गरेको घटनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीले विगतमा जस्तै बिचौलिया प्रयोग गरेर असुली गरिरहेको देखिएको छ ।

ncell

वैदेशिक रोजगारीका लागि कुवेत पुगेका श्रमिकले दीपक मल्ल नामका व्यक्तिको एनआइसी एसिया बैंकको क्युआरमा घुसबापत २३ हजार रुपैयाँ पठाएको बताएका छन् । तर सोमबार साँझसम्म ती रकम बुझ्ने भनिएका व्यक्तिको पहिचान हुन नसकेको अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालले बताए ।

ढकालले घटना भएको भनिएको समयको सिसिटिभी फुटेज झिकाएर जाँचबुझ गर्ने र त्यसपछि मात्रै स्पष्ट रूपमा बताउन सकिने मध्यान्ह दैनिकलाई जानकारी दिए ।

बिदामा नेपाल आएर पुनः श्रम गन्तव्यमा फर्किँदा श्रम स्वीकृति नवीकरण गर्नुपर्ने व्यवस्था छ । बिमा, अभिमुखीकरण, स्वास्थ्य परीक्षण र सामाजिक सुरक्षा कोषमा रकम जम्मा गरेपछि वैदेशिक रोजगार विभागले अनलाइन आवेदनका आधारमा पुनः श्रम स्वीकृति दिने गरेको छ ।

कहिलेकाहीँ विभागको अनलाइन प्रणालीमा समस्या आउने र कतिपयलाई पुनः श्रम स्वीकृति लिनुपर्छ भन्ने जानकारी नहुने गरेका कारण कतिपय श्रमिक पुनः श्रम स्वीकृतिबिना नै विमानस्थल पुग्ने गरेका छन् ।

सोमबार बिहानको घटनाले पुनः श्रम स्वीकृति नभएका मात्रै नभएर प्रतिबन्धित अवस्थामा रहेका महिला घरेलु श्रमिकलाई पनि उडाइएको हुनसक्ने आशंका बढेको छ । नेपालमा श्रम स्वीकृतिमा प्रतिबन्ध रहेको भए पनि कुवेतमा घरेलु महिलाको संख्या अस्वाभाविक रूपमा बढ्नुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट घरेलु कामका लागि महिला श्रमिकको उडान भएको हुनसक्ने आशंकालाई बल पुर्‍याएको छ ।

सम्बन्धित खबर