
काठमाडौं : वैदेशिक रोजगार विभागले मलेसियाको फरेन वर्कर सेन्ट्रल म्यानेजमेन्ट सिस्टम (एफडब्लुसिएमएस)मा मुख्य कम्पनीको हैसियतमा रहेका २५ म्यानपावर कम्पनीलाई विगत पाँच वर्षको आर्थिक कारोबारसहित सम्पूर्ण विवरण बुझाउन पत्र काटेको छ ।
विभागले २५ वटा म्यानपावर संस्थालाई वैदेशिक रोजगार ऐन, २०६४ को दफा ३४ बमोजिम व्यावसायिक तथा वित्तीय विवरण माग गरेको हो । ऐनको उक्त दफामा विभागले इजाजतपत्रवालाको कार्यालयमा निरीक्षण गरी वैदेशिक रोजगारसम्बन्धी अभिलेख तथा कागजात जाँच गर्न र आवश्यक विवरण माग गर्न सक्ने व्यवस्था छ ।
त्यसैगरी विभागले ऐनको दफा ८० तथा वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ५० र ५१ बमोजिम कामदारसम्बन्धी अभिलेख तथा वार्षिक रूपमा पठाइएका कामदारको संख्या, पूर्वस्वीकृति, श्रम स्वीकृति, शाखा, प्रतिनिधि तथा सेवा शुल्क, प्रवर्धन खर्चलगायतका सम्बन्धित विवरण सम्बन्धित संस्था नियमन, अनुगमन तथा आवश्यक जाँचबुझ प्रयोजनका लागि माग गरिएको बताएको छ ।
विभागले २५ संस्थालाई पछिल्ला पाँच आर्थिक वर्ष अर्थात् आर्थिक वर्ष २०७८/७९ देखि आ.व. २०८२/८३ र चालु आर्थिक वर्ष २०८३/८४ को हालसम्मको विवरण संस्थाको सञ्चालकबाट प्रमाणित गरी पत्र प्राप्त भएको मितिले १५ दिनभित्र विभागमा बुझाउन तथा सोको विद्युतीय मेलमा पठाउन पनि निर्देशन दिएको छ ।
त्यस्तै, वैदेशिक रोजगार व्यवसायबाट प्राप्त कुल आम्दानी तथा श्रमिकबाट लिइएको सेवा शुल्कको विवरण, प्रवर्धक, एजेन्ट वा प्रतिनिधि, प्रशासनिक, कर्मचारी, कार्यालय शाखा तथा अन्य प्रमुख खर्चको विवरण, विदेशी एजेन्ट वा साझेदारसँग भएको प्राप्ति तथा भुक्तानी कारोबारको विवरण र वैदेशिक रोजगारसम्बन्धी ठुलो वित्तीय कारोबारको विवरण पनि पठाउनुपर्ने विभागको पत्रमा उल्लेख छ ।
त्यस्तै आयकर, भ्याटलगायत लागू हुने करसम्बन्धी दर्ता, विवरण दाखिला, कर दायित्व तथा कर चुक्ताको अवस्था, सम्बन्धित आर्थिक वर्षका लेखापरीक्षण भएको वित्तीय विवरण तथा लेखापरीक्षण प्रतिवेदन, शाखा, प्रतिनिधि तथा एजेन्टसम्बन्धी विवरण र तिनसँगको कारोबार, श्रमिकसम्बन्धी बाँकी दायित्व, फिर्ता रकम, क्षतिपूर्ति तथा विचाराधीन वित्तीय दाबी वा विवादको विवरण, वैदेशिक रोजगार व्यवसायसँग सम्बन्धित अन्य महत्वपूर्ण व्यावसायिक तथा वित्तीय कारोबारको विवरण पठाउन भनिएको छ ।
यसका अतिरिक्त विभागले छुट्टै सूचनामार्फत सबै म्यानपावर कम्पनीलाई वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकको अवस्थासम्बन्धी तीनमहिने प्रगति विवरण असोज २१ गतेभित्र बुझाउन भनेको छ ।
विभागले गत असार ४ गते सूचना प्रकाशित गरी इजाजतपत्र प्राप्त संस्थाले प्रत्येक तीन–तीन महिनामा प्रगति विवरण बुझाउनुपर्ने व्यवस्था गरेको थियो । विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको हक, हित र सुरक्षालाई ध्यानमा राखी प्रगति विवरण माग गरेको बताएको छ ।
म्यानपावर कम्पनीहरूले आफूले उडाएका श्रमिक सुरक्षित रूपमा सम्बन्धित गन्तव्य मुलुकमा पुगे वा नपुगेको विवरण, सम्झौताअनुसारको सेवा सुविधाको सुनिश्चितता भए–नभएको तथा श्रमिकले वैदेशिक रोजगार सम्झौताबमोजिमको कार्य, तोकिएको तलब र अन्य सेवा सुविधा प्राप्त गरे–नगरेको विषयमा प्रत्यक्ष सम्पर्क गरी विवरण तयार गर्नुपर्ने विभागले बताएको छ ।
त्यस्तै, श्रमिकको अवस्था तथा विवरण इजाजतपत्र प्राप्त संस्थाले श्रमिकको उडान भएको २० दिनभित्र अनिवार्य रूपमा विभागको संस्था अनुगमन शाखामा इमेलमार्फत पेस गर्नुपर्ने पनि बताएको छ ।
विभागले दिएको निर्देशन पालना नगर्ने वा नेपाली श्रमिकको अवस्थाबारे सूचना अद्यावधिक नगर्ने इजाजतपत्र प्राप्त संस्थामाथि वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम कारबाही हुने चेतावनी दिइएको छ ।
यता, नेपाल वैदेशिक रोजगार व्यवसायी संघले एफडब्लुसिएमएसमा सब एजेन्टका रूपमा देखिएका २५० म्यानपावर कम्पनीलाई आफ्नो सहमतिबिना नाम राखिएको भन्दै आफ्नो संस्थाको लेटरहेडमा आवश्यक विवरण भरी एफडब्लुसिएमएसलगायतमा पठाउन आग्रह गरेको छ ।
आफ्नो संस्था र नामको सम्भावित दुरुपयोग रोक्न तथा एफडब्लुसिएमएसबाट अनधिकृत रूपमा देखाइएको सब एजेन्ट विवरण हटाउन यथाशीघ्र इमेल पठाउन आग्रह गरिएको संघका महासचिव हिराबहादुर डाँगी (हरि)ले जानकारी दिए ।