
समरकन्द, उज्बेकिस्तान : उज्बेकिस्तानको समरकन्दमा जारी ४६औं चेस ओलम्पियाडमा नेपाली चेस टोलीले दोस्रो चरणको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै प्रभावशाली जित दर्ता गरेको छ ।
बिहिबार सम्पन्न दोस्रो चरणको खेलमा खुलातर्फ नेपतलले कोमोरोस आइल्यान्ड्ससँग चुनौती पेस गर्दै ४-० को सहज जित दर्ता गर्न सफल भएको छ ।
सिएम पुरुषोत्तम सिलवाललाई विश्राम दिएको खेलमा नेपालका एफएम रुपेश जैसवाल, सिएम सुश्रुत दाहाल, आशिष फुयाँल र राजन सुबेदीले आ–आफ्नो खेल जित्दै नेपाललाई क्लिन स्वीप दिलाए ।
यसअघि पहिलो चरणमा नेपालका आशिष फुयाँलको बराबरीसँगै नेपालले बलियो डेनमार्कसँग ३.५–०.५ को हार बेहोरेको थियो ।
प्रशिक्षक किरिल देरिनोभको क्याप्टेनसिपमा खेलेको दोश्रो चरण अन्तर्गत २१५१ रेटेड रुपेश जैसवालले कोमोरोसका १८६१ रेटेड मोहमद इस्माइल अजिराड्जिलाई, २०३८ रेटेड सिएम सुश्रुत दहालले १८०६ रेटेड मोहमद अब्दोलाई पराजित गरेका छन् ।
यस्तै २००८ रेटेड आशिष फुयाँलले १६७७ रेटेड अजहर सैद विरुद्ध वाकओभर पाए भने १९६७ रेटेड राजन सुवेदीले १७०१ रेटेड ओमर एमचझ्गामालाई हराए ।
यसैगरी एफएम रिजेन्द्र राजभण्डारीको प्रशिक्षणमा रहेको महिला तर्फ नेपाली टोलीले अफगानिस्तानमाथि ४–० को शानदार नतिजा निकाल्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेका छन् ।
जसमा एन्जल महर्जनले सेतारेह अजिजिलाई, कृतिसरा अधिकारीले नूरीन गोउहरिलाई, पूजा भण्डारीले गुनेश बेल्कसलाई र सिन्दिरा जोशीले जैनव फराहमन्दलाई पराजित गरेका हुन् । नेपाल महिला टोलीका कप्तान रिजेन्द्र राजभण्डारी रहेका छन् ।
यससँगै नेपालको पुरुष टोलीले २ अंक जोड्न सफल भएका छन् भने ब्यक्तिगत रुपमा आशिषको १.५ अंक सहित आज विजयी भएका सबै खेलाडीको समान १-१ अंक खातामा जम्मा भएको छ ।
४६औं चेस ओलम्पियाड सेप्टेम्बर १५ देखि २७ सम्म समरकन्दमा भइरहेको छ । ओपन र महिला दुवै विधामा ११ चरणको स्विस प्रणाली क्लासिकल प्रतिस्पर्धा हुँदैछ। यस संस्करणमा विश्वभरबाट चार सयभन्दा बढी राष्ट्रिय टोली सहभागी छन् ।