२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

दोलखाकी नयाँ सिडिओ कँडेलले सम्हालिन् कार्यभार, शान्ति सुरक्षा र सुशासन प्राथमिकतामा

Nada
राजकुमार भुजेल
२०८३ असोज १ गते २१:०३
Shares
दोलखाकी नयाँ सिडिओ कँडेलले सम्हालिन् कार्यभार, शान्ति सुरक्षा र सुशासन प्राथमिकतामा

चरिकोट : दोलखामा नयाँ प्रमुख जिल्ला अधिकारीका रूपमा रेखा कँडेलले कार्यभार सम्हालेकी छन् । खोटाङबाट सरुवा भएर आएकी कँडेल दोलखाकी दोस्रो महिला प्रमुख जिल्ला अधिकारी हुन् ।

ncell

कार्यभार सम्हालेको भोलिपल्ट बिहीबार सञ्चारकर्मीसँग भेटघाट गर्दै कँडेलले जिल्लामा शान्ति सुरक्षा कायम गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको बताइन् । हत्या, हिंसा तथा अशान्ति फैलाउने गतिविधि नियन्त्रणसँगै नागरिकले सुरक्षित र शान्त वातावरणको अनुभूति गर्ने गरी काम गर्ने उनको भनाइ छ ।

उनले सुशासन, प्रभावकारी सेवा प्रवाह र विकास निर्माणमा देखिएका समस्या समाधानलाई समेत प्राथमिकतामा राख्ने बताइन् । लामो समयदेखि रोकिएका विकास आयोजनाको अवस्था बुझ्ने, सरकारी कार्यालयको सेवा प्रवाह अनुगमन गर्ने तथा सार्वजनिक निकायलाई जिम्मेवार र पारदर्शी बनाउन समन्वय गर्ने उनले बताइन् ।

कँडेलले बजार अनुगमन, विपद् व्यवस्थापन तथा नागरिकका गुनासा सम्बोधनमा समेत प्रशासन सक्रिय हुने बताइन् । जिल्लाका सरकारी निकायबीच समन्वय गर्दै प्रशासनिक सुधारमा जोड दिने उनको भनाइ छ ।

पत्रकार भेटघाटका क्रममा उनले जिल्लाको समग्र अवस्था र समस्याबारे जानकारी लिँदै सञ्चारकर्मीलाई प्रशासनका लागि महत्वपूर्ण सूचना स्रोतका रूपमा लिइन् । आगामी दिनमा पत्रकारसँग सहकार्य र समन्वय गरेर अघि बढ्ने उनले बताइन् । 

सञ्चारकर्मीहरूले जिल्लाको सुशासन, विकास निर्माण, सेवा प्रवाह र सार्वजनिक निकायमा देखिएका समस्याबारे ध्यानाकर्षण गराएका थिए । नयाँ प्रमुख जिल्ला अधिकारीको आगमनसँगै उनले अघि सारेका प्राथमिकता र प्रतिबद्धता कार्यान्वयनमा जिल्लावासीको चासो देखिएको छ ।

ताजा खबर

सम्बन्धित खबर