
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ताहिर अलि भाटले सरकार राज्य सञ्चालन, सुशासन, रोजगारी, शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रमा असफल हुँदै गएको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले सरकारले जनतालाई सुशासन दिन नसकेको आरोप लगाउँदै अघिल्लो केपी शर्मा ओलीको नेतृत्वको सरकार तथा वर्तमान सरकारको कार्यशैलीमा कुनै फरक नरहेको टिप्पणी गरे । उनले मन्त्रीहरूले सल्लाहकारमा राष्ट्रिय फौज जस्तै भर्ना गर्न थालेको भन्दै आलोचना पनि गरे । शिक्षा र स्वास्थ्य क्षेत्रमा समेत सरकारले प्रभावकारी काम गर्न नसकेको सांसद भाटको आरोप छ । उनले रासायनिक मलको उपलब्धताका लागि करोडौँ रुपैयाँ विनियोजन गरिए पनि किसानले मल पाउन नसकेको उनको भनाइ छ ।
उनले भने, ‘सम्माननीय सभामुख महोदय, राज्य पुरै असफलतिर ढल्किराखेको छ । सरकारले काम गर्न सकेन, जनतालाई सुशासन दिन सकेन । मन्त्रीको सल्लाहकार राष्ट्रिय फौज जस्तै भर्ना हुन लागेको छ । त्यसकारण पहिलाको सरकार र अहिलेको सरकारमा कुनै फरक मैले देखिराखेको छैन सभामुख महोदय । एउटा हिन्दीमा मलाई एउटा शायर याद आयो । ‘कुर्ते ने कहाँ पैजामे से हम तुम बने एक धागे से । हममे तुममे इतना फरक तुम्हें पहनता पीछे से, हमे पहनता आगे से ।’ बस त्यत्ति फरक छ । त्यसकारण युवा बेरोजगार व्याप्त छ । ५ सय युवालाई पनि रोजगारी दिन सकेन यो सरकारले । शिक्षा, स्वास्थ्य कुनैपनि क्षेत्रमा सरकारले राम्रो काम गर्न सकेन । किसानलाई यो सरकारले मल दिन सकेन । २ करोड रुपैयाँ कृषि माफियाको लागि अनुदान छुट्यायो र १ लाख, २ लाख, ४ लाख, ५ लाख काम गर्ने कृषक, गरिब कृषकको लागि १ रुपैयाँ पनि अनुदान छुट्याएन । त्यसकारण बीमामा यो बीमाको लागि अस्पतालमा बिरामी जान्छ, बीमाको महत्त्व दिँदैन । यसकारण मलाई लागेको छ सरकार हरेक ठाउँ असफल भइराखेको छ ।’
सरकार बिस्तारै सबै क्षेत्रमा असफल हुँदै गएको सांसद भाटको आरोप छ ।