
काठमाडौं : नापी कार्यालय डिल्लीबजार, ३ नं. नापी टोली माछापोखरीका टोली प्रमुख नापी अधिकृत डिल्लीबहादुर वली ९ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले उनलाई घुस रकमसहित नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।
छुट जग्गा दर्ता सिफारिससहितको मिसिल पत्र भूमि प्रशासन कार्यालय, मनमैजु, काठमाडौंमा पठाउनका लागि सेवाग्राहीलाई अनावश्यक सास्ती, दुःख र हैरानी दिँदै घुस/रिसवत माग गरिरहेको भन्ने उजुरी निवेदन आयोगमा परेको थियो ।
सोही उजुरीका आधारमा अख्तियारको टंगालबाट खटिएको टोलीले नापी अधिकृत वलीले सेवाग्राहीबाट घुस बापत ९ लाख रुपैयाँ लिइसकेको अवस्थामा सोही रकमसहित नियन्त्रणमा लिएको हो । उनलाई काठमाडौंको टोखा नगरपालिका वडा नं. ०५ बसुन्धारा चोकस्थित एक रेस्टुरेन्टबाट नियन्त्रणमा लिइएको थियो ।
नियन्त्रणमा लिइएका नापी अधिकृत वलीमाथि घुस/रिसवत भ्रष्टाचार सम्बन्धी मुद्दामा विशेष अदालतको आदेशबाट म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाइए अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।