२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

मिडिया र सामाजिक सञ्जालमार्फत नेतृत्वमाथि प्रश्न उठाउने अभ्यास अनुचित : ओली

Nada
२०८३ असोज ५ गते १३:५७
Shares
मिडिया र सामाजिक सञ्जालमार्फत नेतृत्वमाथि प्रश्न उठाउने अभ्यास अनुचित : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कमिटी बैठक ढिलो हुनुको मुख्य कारण कार्यदलले प्रतिवेदन बुझाउन गरेको ढिलाइ भएको बताएका छन् । बैठकलाई सम्बोधन गर्दै उनले पार्टीलाई नयाँ गतिमा अघि बढाउने उद्देश्यले कार्यदल गठन गरिएको स्पष्ट पारे ।

ncell

ओलीका अनुसार कार्यदललाई एक महिनाको समय दिइए पनि प्रतिवेदन तयार हुन झन्डै चार महिना लागेको हो ।

बैठकको उद्घाटन सत्रमा ओलीले स्वयंसेवक (भोलेन्टियर)हरूलाई सदस्यहरूको आवागमन र अभिव्यक्तिमा कुनै बाधा नपुग्ने गरी व्यवस्थापन गर्न निर्देशन दिएका छन् । बैठकमा कुनै पनि प्रकारको अवरोध नहुने वातावरण सुनिश्चित गर्न उनले स्पष्ट निर्देशन दिएका हुन् ।

त्यसैगरी उनले यो बैठकलाई पार्टीका लागि महत्वपूर्ण अभिभारा बोकेको बैठकको रूपमा व्याख्या गर्दै कार्यकर्ता र जनताको अपेक्षा अनुसार सफल बनाउनुपर्नेमा जोड दिए ।

ओलीले पार्टीभित्र नेतृत्वविरुद्ध सार्वजनिक रूपमा टिप्पणी गर्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै कडा प्रतिक्रिया दिएका छन् । उनले पार्टीभित्रका विषय पार्टीभित्रै छलफल गर्नुपर्ने भन्दै मिडिया र सामाजिक सञ्जालमार्फत नेतृत्वमाथि प्रश्न उठाउने अभ्यास अनुचित भएको बताए ।

उनले हालै सामाजिक सञ्जालमा देखिएका आपत्तिजनक टिप्पणीप्रति पनि संकेत गर्दै यस्ता व्यवहार पार्टी अनुशासनविपरीत हुने चेतावनी दिए । यस्ता गतिविधिले विपक्षीलाई फाइदा पुग्ने भएकाले पार्टी एकताबद्ध र अनुशासित रहनुपर्ने उनको भनाइ थियो ।

महाधिवेशनले लोकतान्त्रिक प्रक्रियाबाट नीति, विधान र नेतृत्व चयन गरिसकेको उल्लेख गर्दै ओलीले त्यसपछि अराजकता स्वीकार्य नहुने स्पष्ट पारे । विचार र संगठन दुवै रूपमा एमाले एकताबद्ध भएर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

देशको वर्तमान राजनीतिक परिस्थितिबारे बोल्दै ओलीले लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षामा एमाले अग्रपंक्तिमा रहेकाले पार्टीमाथि दबाब र आक्रमण भइरहेको दाबी गरे । यस्तो अवस्थामा पार्टीभित्र अनुशासन कायम राख्दै जनतासम्म स्पष्ट सन्देश लिएर जान उनले कार्यकर्तालाई आग्रह गरे ।

सम्बन्धित खबर