२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

दशैंमा नेता-मन्त्रीको नजरमा पर्छ बलिया, त्यसपछि फेरि ओझेलमा

Nada
२०८३ असोज ४ गते १६:२७
Shares
दशैंमा नेता-मन्त्रीको नजरमा पर्छ बलिया, त्यसपछि फेरि ओझेलमा
तस्बिर : युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवद्वारा बलियास्थित भगवती शक्तिपीठको दर्शन

सप्तरी : दशैंको आगमनसँगै बलियाको करिब दुई शताब्दी पुरानो भगवती शक्तिपीठमा चहलपहल बढ्छ । टाढाटाढाबाट भक्तजन आउँछन्, जनप्रतिनिधि, सांसद र मन्त्रीहरू पुग्छन्, धार्मिक आस्थासँगै यसको संरक्षण र विकासका विषय उठ्छन् । केही दिनका लागि ऐतिहासिक धरोहर चर्चाको केन्द्र बन्छ । तर, दशैंको रौनक सकिएपछि भने बलियाको यो पुरानो शक्तिपीठ फेरि उही प्रश्नसँगै उभिन्छ- धार्मिक आस्थाको यो धरोहर कहिले व्यवस्थित रूपमा संरक्षण र विकास हुन्छ ?

ncell

महादेवा गाउँपालिका–४ बलियास्थित भगवती शक्तिपीठ तथा शिवजी लक्ष्मी नारायण मठ धार्मिक तथा ऐतिहासिक महत्व बोकेको स्थल हो । ग्रामीण भेगमा अवस्थित यो मठले आन्तरिक पर्यटनको सम्भावना बोके पनि पर्याप्त प्रचार–प्रसार र आवश्यक पूर्वाधारको अभावमा अझै व्यापक रूपमा चिनिन सकेको छैन ।

दशैंका बेला यहाँ पुग्ने राजनीतिक नेतृत्वले मठको अवस्था अवलोकन गर्नुका साथै संरक्षण र पूर्वाधार विकासका विषयमा चासो व्यक्त गर्ने गरेका छन् । स्थानीयका अनुसार विभिन्न समयमा यस्ता प्रतिबद्धता व्यक्त भए पनि तिनलाई दीर्घकालीन योजनामा रूपान्तरण गर्न भने अझै बाँकी छ ।

भूमि सुधार तथा मालपोत कार्यालय, सप्तरीले प्रत्येक वर्ष पूजा–पाठका लागि रकम उपलब्ध गराउँदै आएको स्थानीय बताउँछन् । तर, मठको भौतिक संरचना, पहुँचमार्ग, खानेपानी, शौचालय, विश्रामस्थल तथा परिसर व्यवस्थापनलगायत पक्षमा थप काम आवश्यक रहेको उनीहरूको भनाइ छ ।

सरकारी पर्यटनसम्बन्धी अभिलेखमा बलिया भगवती मठ करिब २७५ वर्ष पुरानो धार्मिक स्थल भएको उल्लेख छ । लामो समयदेखि स्थानीय बासिन्दाले भगवतीको आराधना गर्दै आएको यस मठमा विभिन्न धार्मिक अवसरमा श्रद्धालुहरू आउने गरेका छन् ।

केही दिनअघि युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले समेत बलिया क्षेत्रको भ्रमण गर्दै धार्मिक स्थलको पूर्वाधार निर्माण तथा संरक्षणका विषयमा चासो लिने बताएका थिए । मन्त्रीको भ्रमणपछि स्थानीयले विकासको अपेक्षा गरेका छन् ।

करिब दुई शताब्दी पुरानो धार्मिक धरोहरको इतिहास र महत्वलाई व्यवस्थित रूपमा संरक्षण तथा प्रचार गर्न सके बलियालाई धार्मिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्न सकिने स्थानीयको विश्वास छ ।

दशैंमा हुने भ्रमण र व्यक्त हुने प्रतिबद्धतालाई स्थायी योजना, बजेट र कार्यान्वयनमा रूपान्तरण गर्नु नै अब मुख्य चुनौती हो । मठको संरक्षण र व्यवस्थित विकास गर्न सके यो महादेवा गाउँपालिका मात्र नभई सप्तरी जिल्लाकै धार्मिक तथा सांस्कृतिक पहिचान बोकेको महत्वपूर्ण गन्तव्य बन्न सक्ने सम्भावना रहेको स्थानीयहरू बताउँछन् ।

ताजा खबर

सम्बन्धित खबर