
दोहा, कतार : नेपाल गजल प्रतिष्ठानले मोती जयन्ती २०८३ को अवसरमा आयोजना गरेको विश्वव्यापी गजल प्रतियोगिता २०८३ को उपाधि कतारमा कार्यरत ओखलढुंगाका गजलकार पूर्ण कान्छा गुरुङले जितेका छन् । प्रतियोगितामा प्रकाश राईको गजलले द्वितीय र पवन गौतमको गजलले तृतीय स्थान हासिल गरेको नेपाल गजल प्रतिष्ठानले जनाएको छ। प्रतियोगिताको प्रथम पुरस्कार स्वरूप विजेता गुरुङको गजल सङ्ग्रह पुस्तक प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ ।
कतारमा स्थापित नवोदित साहित्यिक वाचनालय कतारका द्वितीय उपाध्यक्ष समेत रहेका गुरुङ कतारमा रहेर नेपाली साहित्य, विशेष गरी गजल लेखनमा सक्रिय छन् । विश्वव्यापी प्रतियोगितामा प्रथम स्थान हासिल गरेसँगै उनको साहित्यिक यात्रामा अर्को महत्त्वपूर्ण उपलब्धि थपिएको छ । गुरुङले प्रतियोगितामा प्रस्तुत गरेको गजलमा जीवन, अभाव, जिम्मेवारी, प्रेम, आशा र संघर्षका भावलाई सरल तर प्रभावशाली ढंगले प्रस्तुत गरेका छन् । गजलको सुरुवातमै उनले लेखेका छन्, ‘खुसीको खबर जो खबरमै सकिन्छ, यहाँ जिम्मेवारी रहरमै सकिन्छ ।’
‘हिँडे बाटो आफ्नै नदी पुग्छ सागर, खडेरीको यात्रा बगरमै सकिन्छ’ भन्दै उनले जीवनका आरोह–अवरोहलाई प्रतीकात्मक बिम्बमार्फत प्रस्तुत गरेका छन् । त्यस्तै आशा, प्रेम र श्रमजीवी जीवनका अनुभूतिलाई पनि गजलमा मार्मिक रूपमा उतारिएको छ। गजलको अन्तिम शेरमा गुरुङ लेख्छन्, ‘छुने जुन तारा थियो चाहिँ मेरो, गरिबको पसिना सफरमै सकिन्छ ।’ यसले सीमित साधनबीच सपना बोकेर अघि बढ्ने श्रमजीवी जीवनको संघर्ष र यथार्थलाई अभिव्यक्त गरेको छ ।
प्रतियोगिताको निर्णायकमा टंक गुरुङ, करुण थापा, रवि प्राञ्जल रहेका थिए । प्रतिष्ठानले विश्वभर रहेका नेपाली गजलकारलाई सहभागी गराउँदै आयोजना गरेको प्रतियोगितामा गुरुङको गजल उत्कृष्ट ठहरिएको हो ।
गजल
खुसीको खबर जो खबरमै सकिन्छ
यहाँ जिन्दगानी रहरमै सकिन्छ ।
हिँडी बाटो आफ्नै नदी पुग्छ सागर
खडेरीको यात्रा बगरमै सकिन्छ ।
यसै टुट्छ आशा धुवाँ जिन्दगीको
कुनै दिन हुरीको नजरमै सकिन्छ ।
जमर्को छ उनको हृदयसम्म पुग्ने
झुटो प्रेम गाथा अधरमै सकिन्छ ।
छुने जून तारा थियो चाह मेरो
गरिबको पसीना सफरमै सकिन्छ ।
