
दोहा, कतार : नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनर्स्थापनाका लागि लुम्बिनी प्रदेश समन्वय परिषद् कतारले विभिन्न चरणमा साढे पाँच लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग जुटाएको छ । परिषद् कतार तथा परिषद्अन्तर्गतका जिल्ला संस्थाहरूको समन्वयमा संकलित १२ हजार ५ सय कतारी रियाल अर्थात् करिब ५ लाख २३ हजार ८ सय ७५ रुपैयाँ एनआरएनए एनसिसी कतारमार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको परिषद्ले जनाएको छ ।
यसबाहेक परिषद् अन्तर्गतका केही जिल्ला संस्थाहरूले करिब १ लाख रुपैयाँ बराबरको रकम प्रधानमन्त्री राहत कोषमा छुट्टै प्रत्यक्ष रूपमा समेत जम्मा गरेका छन् । परिषद्ले पछिल्लो पटक रोल्पाको थबाङ गाउँपालिका–उवा क्षेत्रमा गएको भीषण बाढी–पहिरोबाट प्रभावित परिवारका लागि समेत छुट्टै राहत सहयोग हस्तान्तरण गरेको छ । १४ सेप्टेम्बरमा परिषद्को समन्वय तथा अन्तर्गतका जिल्ला संस्थाहरूको सक्रियतामा संकलित २ हजार १ सय ५० कतारी रियाल रोल्पा जलजला सेवा समाज कतारमार्फत प्रभावित परिवारका लागि हस्तान्तरण गरिएको हो ।
परिषद्का अध्यक्ष साजन लौडारी, सल्लाहकार विकास गैरे, जिल्ला संस्थाका अध्यक्ष लक्ष्मण पौड्याल, जिल्ला संस्थाका प्रतिनिधि तथा परिषद् कार्यसमितिका सदस्यहरूको उपस्थितिमा उक्त रकम रोल्पा जलजला सेवा समाज कतारका अध्यक्ष बलराम जैसी, महासचिव गंगा बुढा तथा उपाध्यक्ष शिवलाल केसीलाई हस्तान्तरण गरिएको थियो । रकम ग्रहण गर्दै अध्यक्ष जैसीले प्राप्त रकम सम्बन्धित बाढी–पहिरो पीडित परिवारसम्म यथाशीघ्र पुर्याउने प्रतिबद्धता व्यक्त गरे । उनले सहयोग गर्ने लुम्बिनी प्रदेश समन्वय परिषद् कतार, अन्तर्गतका जिल्ला संस्था, पदाधिकारी, सदस्य तथा सहयोगी नेपाली समुदायप्रति धन्यवाद व्यक्त गरे ।
सहयोग रकम हस्तान्तरण गर्दै अध्यक्ष लौडारीले प्राकृतिक विपत्तिमा परेका नेपालीको पीडामा प्रवासमा रहेका नेपाली समुदायले सक्दो साथ दिनुपर्ने धारणा राखे । ‘नेपालमा बाढी–पहिरोका कारण ठुलो जनधनको क्षति भएको अवस्थामा पीडितको दुःखमा साथ दिनु हाम्रो मानवीय दायित्व हो । लुम्बिनी प्रदेश परिषद् र अन्तर्गतका जिल्ला संस्थाहरूको सहकार्यमा तत्कालीन राहतसँगै आवश्यकताअनुसार आगामी दिनमा पनि सहयोग र सहकार्यलाई निरन्तरता दिनेछौं,’ अध्यक्ष लौडारीले बताए ।
परिषद्ले प्राकृतिक विपत्तिको यस दुःखद घडीमा राहत अभियानमा साथ दिने संरक्षक, सल्लाहकार, जिल्ला संस्थाका पदाधिकारी, कार्यसमिति सदस्य तथा कतारमा रहेका सम्पूर्ण सहयोगी नेपालीप्रति आभार व्यक्त गरेको छ। परिषद्ले आगामी दिनमा पनि आवश्यकता र परिस्थितिअनुसार मानवीय सहयोग तथा सामाजिक उत्तरदायित्वका गतिविधिलाई निरन्तरता दिने जनाएको छ ।