
रियाद : त्रिशूली नदीको विनाशकारी बाढीबाट घर र पसल गुमाएका नुवाकोटका राजकुमार उप्रेतीलाई प्रवास नेपाली सम्पर्क विभाग, साउदी अरबले हवाइ टिकट सहयोग गरेको छ ।
विदुर नगरपालिका–१ का बाढीपीडित उप्रेतीलाई स्वदेश फर्किनका लागि विभागले हवाई टिकटको सहयोग उपलब्ध गराएको हो । रोजगारीको सिलसिलामा साउदी अरबको ताबुकमा कार्यरत उप्रेतीलाई रोजगारदाता कम्पनीले गत सेप्टेम्बर २ मा नेपाल जान छुट्टी स्वीकृत गरेको थियो ।
तर, भदौ १० गते त्रिशूलीमा आएको बाढीले घर र पसल दुवै बगाएपछि उनी चरम आर्थिक संकटमा परेका थिए । एकातिर घरपरिवार बाढीका कारण घरबारविहीन हुनु र अर्कोतिर आफूसँग हवाई टिकट किन्ने रकमसमेत नहुँदा उनी साउदीमै अलपत्र पर्ने अवस्था सिर्जना भएको थियो ।
उप्रेतीको यो अवस्थाबारे सामाजिक व्यक्तित्व अकल प्रधानले प्रवास नेपाली सम्पर्क विभाग साउदी अरबसमक्ष सहयोगका लागि पहल गरेका थिए । प्रधानको विशेष अनुरोध लगत्तै विभागले तत्काल अग्रसरता देखाई उनलाई नेपाल फर्कने हवाई टिकटको व्यवस्था मिलाएको हो ।
विपद्का बेला देशवासीलाई सघाउनु आफूहरूको प्रमुख कर्तव्य भएको प्रवास नेपाली सम्पर्क विभाग साउदीका अध्यक्ष भूपाल भण्डारीले बताए । ‘विपद्को समयमा एक नेपालीले अर्को नेपालीलाई साथ दिनु नै सबैभन्दा ठूलो मानवीय सेवा हो,’भण्डारीले भने, ‘उहाँको घर–पसल सबै बाढीले बगाएर ठूलो क्षति पुगेको अवस्थामा स्वदेश फर्काउन सहयोग गर्न पाउनु हाम्रो मानवीय दायित्व हो ।’ उनले प्रवासमा रहेका नेपालीहरू समस्यामा पर्दा विभागले सदैव क्षमताले भ्याएसम्म सहयोग जारी राख्ने प्रतिबद्धतासमेत जनाएका छन् ।
हवाई टिकट प्राप्त गरेपछि उप्रेतीले विभागका अध्यक्ष भण्डारी, सम्पूर्ण पदाधिकारीहरू तथा पहलकर्ता अकल प्रधानप्रति गहिरो आभार व्यक्त गरेका छन् । विदेशको भूमिमा समस्यामा परेका नेपालीलाई प्रवास नेपाली सम्पर्क विभागले गरेको यो सहयोगले प्रवासी नेपालीहरूबीचको एकता, आपसी सहयोग र मानवीय सद्भावलाई अझ प्रगाढ बनाएको छ ।