२०८३ कार्तिक ९ गते सोमवार / Oct 26 , 2026 , Monday
२०८३ कार्तिक ९ गते सोमवार

गोरखा सेवा समाज कतारद्वारा बाढीपीडितका लागि २ हजार ५६५ कतारी रियाल सहयोग

Nada
तिलु शर्मा पौडेल
२०८३ भदौ २५ गते १८:०४
Shares
गोरखा सेवा समाज कतारद्वारा बाढीपीडितका लागि २ हजार ५६५ कतारी रियाल सहयोग

दोहा, कतार : चीनको तिब्बततर्फबाट आएको विनाशकारी बाढीका कारण रसुवा र नुवाकोटलगायत क्षेत्रमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै गोर्खा सेवा समाज कतारले बाढीपीडितका लागि २ हजार ५६५ कतारी रियाल आर्थिक सहयोग गरेको छ ।

ncell

प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले एनआरएनए एनसिसी कतारको नेतृत्वमा सञ्चालित राहत अभियानअन्तर्गत उक्त रकम गण्डकी प्रदेश समन्वय परिषद्का अध्यक्ष नन्दलाल बिकलाई हस्तान्तरण गरिएको हो । विपद्को समयमा मातृभूमिका पीडितसँग हातेमालो गर्नु आफ्नो कर्तव्य भएको उल्लेख गर्दै समाजका अध्यक्ष विकास श्रेष्ठले सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति धन्यवाद व्यक्त गरेका छन् । समाजको सानो सहयोगले पनि पीडित परिवारमा आशा, भरोसा र नयाँ हिम्मत जगाउन सक्ने विश्वास उनले व्यक्त गरे ।

प्राकृतिक विपद्‍मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै समाजले शोक सन्तप्त परिवारजनमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । प्रभावित नेपाली तथा विदेशी नागरिकलाई तत्काल राहत उपलब्ध गराउनु मानवीय दायित्व भएको महसुस गर्दै सहयोग गरिएको समाजले जनाएको छ । कतारस्थित नेपाली संघसंस्थाहरूको सहकार्यमा संकलित उक्त रकम यथाशीघ्र नेपाल सरकारको राहत कोषमा पठाइने जनाइएको छ ।

एनसिसी कतारले नेपालमा बाढी पहिरोबाट प्रभावितका लागि आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरिरहेको छ । अभियानअन्तर्गत कतारमा रहेका सातै प्रदेश समन्वय परिषद् मातहतका जिल्ला तथा सामाजिक संस्थाहरूले संकलन गरेको सहयोग सम्बन्धित प्रदेश समितिलाई बुझाउने र प्रदेश समितिले एनसिसी कतारलाई हस्तान्तरण गर्ने व्यवस्था गरिएको छ । प्रदेश संरचनाभन्दा बाहिर रहेका विभिन्न संघसंस्थाहरूले भने संकलित सहयोग रकम प्रत्यक्ष रूपमा एनसिसी कतारलाई हस्तान्तरण गरिरहेका छन् ।

यसरी विभिन्न माध्यमबाट एनसिसी कतारमा संकलित सहयोग रकम गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी)मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी अभियान सञ्चालन भइरहेको जनाइएको छ ।

सम्बन्धित खबर