
टोकियो : सुदूरपश्चिमेली नेपाली समाज जापानले जापानको राजधानी टोकियो र अर्को प्रमुख सहर ओसाकामा प्रथम सुदूरपश्चिम सांस्कृतिक साँझ भव्यताका साथ सम्पन्न गरेको छ ।
समाजले सुदूरपश्चिमको कला र संस्कृतिलाई जापानमा चिनाउने उद्देश्यले जापानका विभिन्न सहरमा सांस्कृतिक साँझ आयोजना गरेको हो। यसै क्रममा आगामी अक्टोबर १७ तारिखमा फुकुओका सहरमा पनि सांस्कृतिक साँझ आयोजना गरिने भएको छ ।

समाजले सांस्कृतिक साँझबाट प्राप्त मुनाफा बाढीपीडितलाई सहयोग गर्ने घोषणा गरिसकेको छ । टोकियो र ओसाकामा आयोजित कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति समाजले धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी सामाजिक कार्य गर्ने प्रतिबद्धता जनाएको छ ।
कार्यक्रममा सुदूरपश्चिमका चर्चित कलाकार चक्र बम र रेखा जोशीले आफ्ना लोकप्रिय देउडा गीतमार्फत दर्शकलाई छमछमी नचाएका थिए । गायक चक्र बमले ‘नजर लागली’ र ‘ओ मेरी भाउजु’ लगायतका गीत प्रस्तुत गर्दा दर्शकले उनीसँगै गीत गाउँदै नाचेर मनोरञ्जन लिएका थिए ।

त्यस्तै, गायिका रेखा जोशीले ‘कर्णाली भेरीको पानी’ लगायतका चर्चित देउडा गीत प्रस्तुत गरेकी थिइन् । उनका गीतमा पनि दर्शकले सँगै गाउँदै नाच्दै साथ दिएका थिए। कलाकारका प्रस्तुतिले कार्यक्रमको माहोल उत्साहपूर्ण बनेको थियो ।
कार्यक्रममा सहभागी दर्शक अस्मिता जोशीले सांस्कृतिक साँझले आफूलाई सुदूरपश्चिमस्थित आफ्नै गाउँमा पुगेको झल्को दिएको प्रतिक्रिया दिइन् । उनीसँगै कार्यक्रममा सहभागी नमुना ओझाले भने गायक चक्र बमका सबै गीत सुन्न नपाएकाले अझै गीत सुन्ने आफ्नो चाहना पूरा नभएको बताइन् ।

सुदूरपश्चिमको मौलिक कला, संस्कृति र परम्परालाई जापानमा रहेका नेपालीमाझ परिचित गराउनुका साथै यसको प्रचारप्रसार गर्ने उद्देश्यले समाजले सांस्कृतिक साँझ आयोजना गरेको हो ।
टोकियो र ओसाकामा आयोजित कार्यक्रममा सुदूरपश्चिमेली नेपालीको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारी, पत्रकार तथा जापानमा क्रियाशील विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो ।
