२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

महिला श्रम र समानताको प्रश्न

Nada
विणाकुमारी सिंह
२०८३ असोज २८ गते ०६:००
Shares
महिला श्रम र समानताको प्रश्न

दसैं नेपाली समाजको महत्त्वपूर्ण सांस्कृतिक पर्व हो । रोजगारी, व्यापार–व्यवसाय, अध्ययन र अन्य कामका सिलसिलामा वर्षभरि घरबाहिर रहेका परिवारका सदस्य घर फर्किने, आफन्तसँग भेटघाट गर्ने र खुसी साटासाट गर्ने अवसर पनि हो यो । घटस्थापनासँगै घरघरमा सरसफाइ, पूजाको तयारी र चाडपर्वको चहलपहल सुरु भएको छ । तर, यो चहलपहलभित्र एउटा महत्त्वपूर्ण प्रश्न लुकेको छ– दसैंको खुसी र जिम्मेवारी सबैले समान रूपमा बाँडिरहेका छौं त ?

ncell

विशेषगरी मधेशको सामाजिक तथा सांस्कृतिक परिवेशमा दसैंजस्ता चाडपर्वले महिलाको श्रम र जिम्मेवारी बढाउँछन् । घरको लिपपोत र सरसफाइदेखि भान्छाको व्यवस्थापन, पूजाको तयारी, खानपान, पाहुनाको सत्कार तथा बालबालिका र ज्येष्ठ नागरिकको हेरचाहमा महिलाको समय र श्रम खर्च हुन्छ । घरका अन्य सदस्य भेटघाट र रमाइलोमा सहभागी भइरहँदा महिलाहरू भने बिहानदेखि रातिसम्म घरायसी काममा व्यस्त रहने अवस्था अझै व्यापक छ । यो घरायसी कामको विषय मात्र होइन । श्रमको विभाजन, सामाजिक मान्यता र लैंगिक शक्तिसम्बन्धसँग जोडिएको सवाल पनि हो ।

अदृश्य महिला श्रम 

हाम्रो समाजमा घरायसी कामलाई प्रायः महिलाको स्वाभाविक जिम्मेवारीका रूपमा बुझिन्छ । खाना पकाउने, घर सफा गर्ने, परिवारका सदस्यको हेरचाह गर्ने र चाडपर्वको व्यवस्थापन गर्ने काम महिलाले गर्नैपर्छ भन्ने मान्यता गहिरो गरी बसेको छ । यसले महिलाको श्रमलाई जिम्मेवारीका रूपमा स्वीकार गरे पनि त्यसको पहिचान र सम्मान गर्न भने कन्जुस्याइँ गर्छ ।

महिलाले घर र परिवारका लागि गर्ने कामको आर्थिक मूल्य प्रत्यक्ष देखिँदैन । त्यसैले उनीहरूको समय, श्रम र योगदानलाई सामान्य ठानिन्छ । तर, घरायसी श्रमबिना परिवारको दैनिक जीवन र सामाजिक पुनरुत्पादन सम्भव हुँदैन । परिवारका सदस्यलाई काम गर्न, पढ्न र सार्वजनिक जीवनमा सहभागी हुन सहज बनाउने आधार पनि यही श्रम हो ।

महिलावादी दृष्टिकोणबाट हेर्दा घरभित्रको श्रम विभाजन व्यक्तिगत रुचि वा पारिवारिक व्यवस्थापनको विषय मात्र होइन । यो महिला र पुरुषका लागि समाजले निर्धारण गरेका भूमिका, अपेक्षा र शक्तिसम्बन्धको परिणाम पनि हो । घरायसी कामलाई महिलाको मात्र दायित्व मान्दा उनीहरूको समय र स्वतन्त्रतामाथि असमान नियन्त्रण स्थापित हुन्छ ।

मधेशमा चाडपर्व र लैंगिक भूमिका

मधेशको सामाजिक जीवनमा परिवार, आफन्त, परम्परा र सामुदायिक सम्बन्धको ठुलो महत्त्व छ । चाडपर्वले यी सम्बन्धलाई थप प्रगाढ बनाउँछन् । तर, यिनै सांस्कृतिक अभ्यासभित्र कतिपय असमान लैंगिक मान्यताले पनि निरन्तरता पाउँछन् । 

दसैंको तयारीका क्रममा घर सफा गर्ने, खानेकुरा तयार पार्ने, पूजा सामग्री जुटाउने र पाहुनाको स्वागत गर्ने जिम्मेवारी प्रायः महिलामाथि बढी पर्छ । परिवारका सदस्य घर फर्किएपछि महिलाको काम घट्नुको सट्टा झन् बढ्न सक्छ । महिलाले पनि दसैं मनाउने, आराम गर्ने र आफन्तसँग रमाउने इच्छा राख्छन् भन्ने कुरा व्यवहारमा सधैं प्राथमिकतामा पर्दैन ।

यहाँ प्रश्न संस्कृति वा परम्पराको विरोध गर्ने होइन । कुनै परम्पराले महिलामाथि असमान श्रमको भार थपिरहेको छ भने त्यसलाई समानता र न्यायको दृष्टिले पुनर्विचार किन नगर्ने भन्ने हो ।

संस्कृति स्थिर हुँदैन । समाजसँगै संस्कृति पनि परिवर्तन हुन्छ । समानता, सम्मान र न्यायलाई आत्मसात् गर्दै सांस्कृतिक अभ्यासलाई अझ समावेशी बनाउन सकिन्छ । परम्पराको संरक्षणका नाममा असमानतालाई निरन्तरता दिनु आवश्यक छैन ।

समानता आफ्नै घरबाट

लैंगिक समानताको चर्चा गर्दा हामी प्रायः राज्यका नीति, कानुन, राजनीतिक प्रतिनिधित्व र सार्वजनिक क्षेत्रमा महिलाको सहभागिताबारे कुरा गर्छौं । यी सबै महत्त्वपूर्ण छन् । तर, समानताको वास्तविक अभ्यास घरभित्रबाट पनि सुरु हुनुपर्छ ।

दसैं सबैको साझा पर्व हो भने यसको तयारी र जिम्मेवारी पनि सबैको साझा हुनुपर्छ । घरको सरसफाइ, खाना पकाउने, पूजा सामग्री तयार गर्ने, पाहुनाको सत्कार गर्ने तथा बालबालिका र ज्येष्ठ नागरिकको हेरचाह गर्ने काममा परिवारका सबै सदस्य सहभागी हुनुपर्छ । यी कामलाई महिला र पुरुषको काम भनेर छुट्याउनुको सट्टा आवश्यकता, समय र क्षमताअनुसार बाँड्न सकिन्छ ।

छोरालाई पनि भान्छाको काम सिकाउने, छोरीलाई मात्र घरायसी जिम्मेवारीमा सीमित नराख्ने र पुरुषले घरायसी काममा सहभागी हुँदा त्यसलाई सहयोग नभई आफ्नो जिम्मेवारीका रूपमा बुझ्ने संस्कृतिको विकास आवश्यक छ । घरको काममा पुरुषको सहभागिता महिलालाई सहयोग गर्ने विषय मात्र होइन, असमान श्रम विभाजन परिवर्तन गर्ने अभ्यास हो ।

त्यस्तै, महिलालाई चाडपर्वका निर्णयमा समान सहभागिता, आराम गर्ने समय, आफन्तसँग भेटघाट गर्ने अवसर र आफ्नो इच्छाअनुसार पर्व मनाउने स्वतन्त्रता सुनिश्चित गर्नुपर्छ । महिलाले सबै काम सकेपछि मात्र रमाउन पाउने होइनन् । उनीहरू पनि सुरुदेखि नै उत्सवका समान हिस्सेदार हुन् । 

उत्सवमा समानता, समाजमा न्याय

लैंगिकमैत्री दसैं मनाउनु घरका काम बाँड्नुमा मात्र सीमित छैन । यसले परिवारमा कसको श्रमलाई मूल्यवान् मानिन्छ, कसको समयलाई प्राथमिकता दिइन्छ र निर्णय गर्ने अधिकार कसले पाउँछ भन्ने प्रश्नलाई पनि अगाडि ल्याउँछ । घरभित्रको समान अभ्यासले बालबालिकालाई लैंगिक समानताको व्यावहारिक शिक्षा दिन्छ र सामाजिक परिवर्तनको आधार तयार गर्छ ।

महिलाको श्रमको सम्मान गर्नु भनेको उनीहरूले गर्ने कामको प्रशंसा गर्नु मात्र होइन । त्यो श्रम समान रूपमा बाँड्नु, महिलाको समय र स्वतन्त्रताको सम्मान गर्नु तथा निर्णय प्रक्रियामा उनीहरूलाई समान स्थान दिनु पनि हो । पुरुष सदस्यले घरायसी काममा सहभागी हुनु, बालबालिकाले जिम्मेवारी बाँड्नु र परिवारले महिलाको आराम तथा खुसीलाई प्राथमिकता दिनु परिवर्तनका ठोस अभ्यास हुन् । 

दसैंको खुसी महिलाको अतिरिक्त श्रममा आधारित हुनु हुँदैन । कुनै घरमा सबै सदस्य रमाइलो गरिरहँदा एउटी महिला निरन्तर भान्छामा खटिरहेकी छन् भने त्यो उत्सवको समानता अपूरो छ । महिलाको श्रमलाई अदृश्य बनाएर मनाइने उत्सवले समानताको सन्देश दिन सक्दैन ।

यस वर्षको दसैंमा हामीले आफ्नै घरबाट एउटा प्रश्न उठाऔं– हामीले महिलालाई दसैंको शुभकामना मात्र दिइरहेका छौं कि उनीहरूको श्रम, समय र स्वतन्त्रताको सम्मान पनि गरिरहेका छौं ?

मधेशका घरआँगनबाट समानताको अभ्यास सुरु गर्न सकिन्छ । जिम्मेवारी बाँडेर, विभेदकारी मान्यतामाथि प्रश्न उठाएर र महिलालाई उत्सवको समान हिस्सेदार बनाएर दसैंलाई अझ न्यायपूर्ण र अर्थपूर्ण बनाउन सकिन्छ ।

दसैं सबैको हो भने यसको खुसी पनि सबैको हुनुपर्छ र खुसीको जिम्मेवारी पनि सबैले बाँड्नुपर्छ । महिलाको श्रमको सम्मान, समान जिम्मेवारीको अभ्यास र लैंगिक न्यायप्रतिको प्रतिबद्धतासहित यस वर्षको दसैं मनाऔं ।

(लेखक सिंह मधेश प्रदेशमा महिला मानवअधिकार रक्षकका रूपमा सक्रिय छिन् ।)

सम्बन्धित खबर