
दसैं परिवारसँग भेटघाट, सुखदुःख साटासाट र खुसी बाँड्ने पर्व हो । टाढिएका आफन्त घर फर्किने, घरआँगनमा रमाइलो गर्ने र मान्यजनबाट टीका तथा आशीर्वाद लिने समय हो । तर, यही पर्वका बेला विदेशमा ज्यान गुमाएका नेपालीका परिवार भने आफ्ना प्रियजनको शव पर्खिरहेका छन् । वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका ३८ नेपालीको शव स्वदेश ल्याउने प्रक्रिया जारी रहेको तथ्यले दसैंको उल्लासभित्र लुकेको पीडालाई उजागर गर्छ ।
वैदेशिक रोजगार बोर्डको सचिवालयका अनुसार पछिल्लो तीन महिनामा मात्रै २९७ जना श्रमिकको शव नेपाल ल्याइएको छ । आर्थिक वर्ष २०८२/८३ मा एक हजार ८४, २०८१/८२ मा एक हजार ९२ र २०८०/८१ मा ९६८ जनाको शव स्वदेश ल्याइएको तथ्यांक छ । दैनिक तीनदेखि चारजनासम्म श्रमिकको शव ल्याउनुपर्ने अवस्थाले वैदेशिक रोजगारीसँग जोडिएको मानवीय संकटको गम्भीरता देखाउँछ । यो तथ्यांकको विषय मात्र होइन, हजारौं परिवारको पीडा र देशको श्रम व्यवस्थापनसँग जोडिएको प्रश्न पनि हो ।
वैदेशिक रोजगारी नेपाली अर्थतन्त्रको महत्त्वपूर्ण आधार बनेको छ । विप्रेषणले परिवारको खर्च धान्न, शिक्षा र स्वास्थ्यमा लगानी गर्न तथा राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गरेको छ । तर, यसका लागि विदेशिएका नागरिकको जीवन, सुरक्षा र मृत्युपछिको सम्मानजनक व्यवस्थापनमा राज्यले उत्तिकै जिम्मेवारी लिनुपर्छ । श्रम स्वीकृति दिएर विदेश पठाउनु मात्रै राज्यको दायित्व पूरा हुनु होइन । श्रमिकको सुरक्षा, मृत्युको अवस्थामा परिवारलाई सहयोग र शव स्वदेश ल्याउने प्रक्रियालाई सहज बनाउनु पनि सरकारको जिम्मेवारी हो ।
विदेशमा मृत्यु भएपछि सम्बन्धित देशको कानुनी प्रक्रिया पूरा गर्न समय लाग्न सक्छ । त्यसैले सबै शव तत्काल ल्याउन सम्भव नहुन सक्छ । तर, प्रक्रियागत जटिलता र प्रशासनिक ढिलाइका कारण शोकमा रहेका परिवार थप पीडित हुनु हुँदैन । सम्बन्धित नेपाली दूतावास, परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय, कन्सुलर सेवा विभाग र वैदेशिक रोजगार बोर्डबीच प्रभावकारी समन्वय हुनुपर्छ । शव ल्याउने प्रक्रियाको अवस्था, लाग्ने सम्भावित समय र आवश्यक कागजातबारे परिवारलाई नियमित जानकारी दिनुपर्छ । शंकास्पद मृत्युका घटनामा निष्पक्ष अनुसन्धानलाई पनि प्राथमिकता दिनुपर्छ ।
दसैंमा घर फर्किने आफन्तको प्रतीक्षा गर्नु र विदेशबाट शव आउने प्रतीक्षामा बस्नुबीच ठुलो अन्तर छ । राज्यले यो पीडा बुझ्नुपर्छ । विदेशमा ज्यान गुमाएका श्रमिकका परिवारलाई राहत दिनु भनेको शव ल्याइदिनु मात्रै होइन, उनीहरूको दुःखमा राज्य साथमा छ भन्ने अनुभूति दिलाउनु पनि हो । चाडपर्वमा औपचारिक शुभकामनाभन्दा पीडित परिवारलाई तत्काल सहयोग आवश्यक छ । विदेशमा श्रम गर्ने नागरिकको सम्मान र उनीहरूका परिवारको संवेदनाप्रति उत्तरदायी बन्न सके मात्रै राज्यको जिम्मेवारी पूरा हुनेछ ।