२०८३ असोज १९ गते सोमवार / Oct 05 , 2026 , Monday
२०८३ असोज १९ गते सोमवार

खुलामञ्चको राजनीतिक सन्देश

Nada
२०८३ असोज १९ गते ०६:१०
Shares
खुलामञ्चको राजनीतिक सन्देश

दशकपछि खुलामञ्च फेरि राजनीतिक बहसको केन्द्र बन्यो । नेपाली कांग्रेसको १५औं महाधिवेशन उद्घाटनका क्रममा एउटै मञ्चमा सत्ता र प्रतिपक्षका प्रमुख नेताहरू उभिए । कांग्रेस सभापति गगन थापा, रास्वपा सभापति रवि लामिछाने, नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले महासचिव शंकर पोखरेलका अभिव्यक्तिले नेपाली राजनीतिमा देखिएको शक्ति–सन्तुलन, असन्तुष्टि र परिवर्तनको चाहना एकै ठाउँमा सुनियो । खुलामञ्च आफैंमा राजनीतिक प्रतीक हो । यही ठाउँबाट विगतमा असहमति, आन्दोलन र परिवर्तनका आवाज उठे । यसपटक पनि मञ्चमा भाषणभन्दा ठुलो विषय त्यहाँ देखिएको राजनीतिक संवाद थियो । गगन थापाले संसदभित्रै ‘खुलामञ्च’ आवश्यक रहेको बताए । संसद्मा प्रधानमन्त्रीको उपस्थितिसँग जोडेर उनले लोकतन्त्रमा जवाफदेहिता र संवादको आवश्यकता औंल्याए । 

ncell

रास्वपा सभापति रवि लामिछानेको स्वर प्रतिपक्षको भन्दा पनि सत्तापक्षको आत्मविश्वास र कांग्रेसमाथिको राजनीतिक प्रश्न दुवै बोकेको देखिन्थ्यो । कांग्रेसको इतिहासलाई शक्ति पनि र कमजोरी पनि भन्नु, विगतको मतलाई स्थायी स्वामित्व नमान्नु र नयाँ राजनीतिक शक्तिको उदयलाई सम्झाउनु उनको सन्देश थियो । थापाको जवाफ पनि स्वाभाविक रूपमा राजनीतिक थियो । कांग्रेसले रास्वपालाई नेतृत्वदेखि संसद्सम्म पुर्‍याउन भूमिका खेलेको स्मरण गराउँदै उनले प्रतिवाद गरे । दुवै पक्षले आगामी राजनीतिक उत्तरदायित्वको खाकाभन्दा विगतको घोचपेचमै समय खर्चिए । प्रचण्डले ‘क्रमभंग’को प्रसंग उठाउँदै थापा र लामिछानेलाई नयाँ बाटो रोज्न सुझाए । एमालेका शंकर पोखरेलले पनि निरास युवालाई थप निरास हुन नदिन पुराना राजनीतिक शक्तिबीच सहकार्यको आवश्यकता औंल्याए । 

कांग्रेसको महाधिवेशनमा यी अभिव्यक्ति आउनु आफैंमा बदलिएको राजनीतिक परिस्थिति बुझ्ने अवसर हो । तर खुलामञ्चको मूल सन्देश नेताहरूको घोचपेचभन्दा पर छ । जनताले राजनीतिक दलसँग इतिहासको गौरव मात्र होइन, वर्तमानको जवाफ र भविष्यको बाटो खोजिरहेका हुन्छन् । नयाँ पुस्ताले अनुहार परिवर्तन मात्रै होइन, व्यवहार, कार्यशैली र परिणाममा परिवर्तन खोजेको छ । कांग्रेसका लागि यो महाधिवेशन संगठन पुनर्संरचनाको अवसर हो भने सत्तापक्षका लागि शासनको जवाफदेहिता देखाउने समय । प्रतिपक्षका लागि सरकारलाई प्रश्न गर्ने अधिकारसँगै वैकल्पिक दृष्टिकोण प्रस्तुत गर्ने जिम्मेवारी पनि उत्तिकै महत्त्वपूर्ण छ । खुलामञ्च फेरि खुला भयो । त्यहाँ उठेका आवाज संसद्, सरकार र दलभित्र कति खुला होलान् ? लोकतन्त्रको वास्तविक खुलामञ्च भाषण गर्ने ठाउँमा होइन, प्रश्न सुन्ने, जवाफ दिने र जनतासामु उत्तरदायी हुने राजनीतिक संस्कारबाट निर्माण हुनेछ ।

सम्बन्धित खबर