
काठमाडौं : पुनः श्रम स्वीकृतिबिना वैदेशिक रोजगारीमा जान लागेका एक श्रमिकसँग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालयन एयरलाइन्सका एक कर्मचारीले घुस लिएको सार्वजनिक भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका अनुसार असोज २६ गते वैदेशिक रोजगारीमा जान लागेका मिनबहादुर रावतसँग घुस लिएको आरोपमा हिमालयन एयरलाइन्सका कर्मचारी हंशराज जैशीलाई नियन्त्रणमा लिइएको छ ।
अध्यागमन कार्यालयका अनुसार सोमबार वैदेशिक रोजगारीमा जान लागेका राहदानी नम्बर पिबी ०२४९२८४ भएका मिनबहादुर रावतको श्रम स्वीकृतिको म्याद समाप्त भएको पाइएको थियो । जैशीले पुनः श्रम स्वीकृति गराउनुपर्ने भन्दै रावतसँग १४ हजार रुपैयाँ लिएको पाइएको कार्यालयले जनाएको छ ।
अध्यागमन कार्यालयद्वारा जारी विज्ञप्तिमा सिसिटिभी फुटेजमा पनि जैशीले सहजीकरणका नाममा रावतसँग शंकास्पद गतिविधि गरेको देखिएको उल्लेख छ । अध्यागमन कार्यालयले अनुसन्धानका क्रममा रावतले इसेवामार्फत जैशीको मोबाइल नम्बरमा १४ हजार रुपैयाँ पठाएको देखिएको जनाएको छ ।
वैदेशिक रोजगारीमा जाने श्रमिकलाई चेपुवामा पारेर रकम असुली गरिएको यो पहिलो घटना भने होइन । यसअघि कुवेत जाने श्रमिकको श्रम स्वीकृति नवीकरण नभएको घटनामा २८ हजार रुपैयाँमा मोलमोलाइ गरेर २३ हजार रुपैयाँ असुली गरिएको घटना सार्वजनिक भएको थियो ।
वैदेशिक रोजगारीका लागि श्रम स्वीकृतिबिना कुवेत पुगेका श्रमिकले दीपक मल्ल नामका व्यक्तिको एनआइसी एसिया बैंकको क्युआरमा घुसबापत २३ हजार रुपैयाँ पठाएको बताएका थिए ।
बिदामा नेपाल आएर पुनः श्रम गन्तव्यमा फर्किँदा श्रम स्वीकृति नवीकरण गर्नुपर्ने व्यवस्था छ । बिमा, अभिमुखीकरण, स्वास्थ्य परीक्षण र सामाजिक सुरक्षा कोषमा रकम जम्मा गरेपछि वैदेशिक रोजगार विभागले अनलाइन आवेदनका आधारमा पुनः श्रम स्वीकृति दिने गरेको छ । कहिलेकाहीँ विभागको अनलाइन प्रणालीमा समस्या आउने र कतिपयलाई पुनः श्रम स्वीकृति लिनुपर्छ भन्ने जानकारी नहुने भएकाले श्रमिक पुनः श्रम स्वीकृतिबिना नै विमानस्थल पुग्ने गरेका छन् ।
यसैबीच, वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै ८० लाख ४८ हजार रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बागलुङको तमानखोला गाउँपालिका–४ का २२ वर्षीय दीपक श्रीपाली, ललितपुरको महालक्ष्मी नगरपालिका–५ की ३४ वर्षीया नेहा अधिकारी, पाँचथरको याङवरक गाउँपालिका–६ का ४२ वर्षीय सुमन योङहाङ र चन्द्रागिरि नगरपालिका–६ की ४२ वर्षीया सुस्मिता नेपाली रहेका छन् ।
प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार उनीहरूले वैदेशिक रोजगारीका लागि टर्की, बेलायत र दक्षिण कोरिया पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम लिएर सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार दीपकले टर्की पठाइदिने भन्दै एक पीडितबाट २ लाख ४८ हजार रुपैयाँ, नेहाले बेलायत पठाइदिने भन्दै ६७ लाख रुपैयाँ, सुमनले दक्षिण कोरिया पठाइदिने भन्दै ६ लाख रुपैयाँ र सुस्मिताले बेलायत पठाइदिने भन्दै ५ लाख रुपैयाँ लिएको आरोप छ ।
उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।