
जोहोर : मलेसियाको जोहोरस्थित गेलेङ पाताह क्षेत्रमा दुईवटा कारखानामा गरिएको संयुक्त अध्यागमन कारबाहीमा नौ नेपाली महिलासहित १७७ जना गैरकानुनी रूपमा बसेका विदेशी नागरिक पक्राउ परेका छन् ।
जोहोर अध्यागमन विभागका निर्देशक दातुक मोहम्मद रुुस्दी मोहम्मद दारुसका अनुसार सोमबार (अक्टोबर ५) साँझ ५ बजेदेखि सञ्चालन गरिएको कारबाहीमा मलेसियाली अध्यागमन विभाग र मलेसियाली सीमा नियन्त्रण तथा संरक्षण निकाय सहभागी थिए ।
कारबाही गरिएका दुई कारखानामध्ये एउटा विद्युतीय तथा विद्युतीय उपकरणसम्बन्धी र अर्को धातु इन्जिनियरिङसम्बन्धी रहेको जनाइएको छ । ती कम्पनीमा गैरकानुनी रूपमा विदेशी श्रमिक कार्यरत रहेको सूचना, गुप्तचर जानकारी तथा स्थानीयवासीबाट प्राप्त उजुरीका आधारमा छापा मारिएको अध्यागमन विभागले जनाएको छ ।
कारबाहीका क्रममा केही विदेशी श्रमिकले भाग्ने प्रयास गरे पनि सुरक्षाकर्मीले उनीहरूलाई नियन्त्रणमा लिएका थिए ।
पक्राउ पर्नेमा म्यानमारका ३४ पुरुष, बंगलादेशका २४ पुरुष, भारतका चार पुरुष, म्यानमारका १०६ महिला र नेपालका नौ महिला रहेका छन् । पक्राउ परेका सबै विदेशी नागरिकको उमेर १९ देखि ३८ वर्षसम्म रहेको अध्यागमन विभागले जनाएको छ ।
अध्यागमन विभागका अनुसार पक्राउ परेकाहरूमाथि सन् १९६३ को अध्यागमन नियमावलीको नियम ३९(बी), सन् १९५९/६३ को अध्यागमन ऐनको दफा ६(१)(सी) र दफा १५(१)(सी) अन्तर्गत अनुसन्धान अघि बढाइएको छ।
पक्राउ परेका विदेशी नागरिकलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि पोन्तियनस्थित पेकान नानास अध्यागमन डिपो केन्द्रमा राखिएको छ ।