
क्वालालम्पुर : मलेसियामा दुई नेपाली महिला शंकास्पद अवस्थामा मृत फेला परेका छन् । नुवाकोटको शिवपुरी गाउँपालिका–३ की साङ्गेला मेन्दो तामाङ र सिन्धुपाल्चोककी सन्ध्या तामाङको मृत्यु भएको घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्राप्त विवरणअनुसार, दुवै महिला मलेसियाको पेनाङ राज्यमा काम गर्दै आएका थिए । घरबाट पठाइएको सामान लिन जाने भन्दै उनीहरू गत बिहीबार रातिको काम सकेर शुक्रबार सार्वजनिक बसमार्फत राजधानी क्वालालम्पुर पुगेका थिए । त्यसपछि उनीहरू त्यहाँको एक होटलमा बसेको बताइएको छ ।
सन्ध्याले शनिबार बिहान मृत्यु भएको जानकारी दिँदै साङ्गेलाले कम्पनीमा कार्यरत अन्य नेपाली कामदारलाई सन्देश पठाएको विवरण सार्वजनिक भएको छ । उनले अस्पतालमा रहेको बताउँदै रकमसमेत मागेकी थिइन् । तर, कुन अस्पतालमा रहेको हो भन्ने प्रश्नको स्पष्ट जवाफ नआएको र भिडियो कल गर्दा पनि सम्पर्क हुन नसकेपछि सहकर्मीहरूले शंका गरेका थिए ।
सहकर्मीहरूले पटक–पटक रकम मागिएको विषयमा शंका लागेपछि पैसा नपठाई कम्पनीलाई जानकारी गराएका थिए । त्यसपछि घटनाबारे थप खोजी सुरु भएको बताइएको छ ।
प्राप्त जानकारीअनुसार, दुवै महिलाको मृत्यु भएको खुलेको छ । सन्ध्याको मृत्यु भएको तस्बिर पठाएर रकम मागिएको भनिए पनि त्यसअघि नै साङ्गेलाको समेत मृत्यु भइसकेको हुन सक्ने उनका परिवारजनले आशंका गरेका छन् । मृतकहरूको सामाजिक सञ्जाल प्रयोग भइरहेको भनिएको विषयले पनि घटनालाई थप रहस्यमय बनाएको छ ।
मलेसियामा नेपाली महिला मिल्दोजुल्दो प्रकृतिका घटनामा मृत फेला परेको विवरण सार्वजनिक भइरहेका बेला पछिल्लो घटनाले थप प्रश्न उठाएको छ । मृतकका आफन्तले घटनामा नेपाली नागरिककै संलग्नता हुन सक्ने आशंका व्यक्त गरेका छन् । यद्यपि, घटनामा कसको संलग्नता छ भन्ने विषय अनुसन्धानबाट पुष्टि हुन बाँकी छ ।
प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको र एक नेपाली नागरिक तथा एक स्थानीय व्यक्तिलाई पक्राउ गरी सोधपुछ तथा अनुसन्धान गरिरहेको स्रोतले जनाएको छ । तर, घटनाको वास्तविक कारण, मृत्युको परिस्थिति र रकम माग्न प्रयोग गरिएको सामाजिक सञ्जालसम्बन्धी विवरणबारे अनुसन्धानबाट थप तथ्य खुल्न बाँकी छ ।
नेपाली दूतावास स्रोतका अनुसार, अनुसन्धान पूरा नभएसम्म घटनाबारे कुनै निष्कर्षमा पुग्न सकिने अवस्था छैन । घटनाको सत्यतथ्य पत्ता लगाउन र मृतकका परिवारलाई न्याय दिलाउन निष्पक्ष अनुसन्धान आवश्यक देखिएको छ ।