२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

साउदीमा एक वर्षमा १५४ नेपालीको मृत्यु, ४१९ जना जेलमा

Nada
अन्जान गुभाजु
२०८३ असोज २० गते ११:५२
Shares
साउदीमा एक वर्षमा १५४ नेपालीको मृत्यु, ४१९ जना जेलमा

रियाद, साउदी अरेबिया : ​साउदी अरेबियामा कार्यरत नेपाली श्रमिकहरूसँग सम्बन्धित मृत्यु, दुर्घटना, कानुनी झमेला तथा बहिर्गमनजस्ता समस्याहरू दिनानुदिन जटिल बन्दै गएका छन् । साउदीको रियादस्थित नेपाली दूतावासले असोज १६ गते आयोजना गरेको 'श्रमिक कल्याणसम्बन्धी सरोकारवाला समन्वय कार्यक्रम'मा प्रस्तुत गरेको तथ्यांकले वैदेशिक रोजगारीका क्रममा नेपालीहरूले भोग्नुपरेका विविध चुनौतीको भयावह चित्र उजागर गरेको छ ।

ncell

​दूतावासले सार्वजनिक गरेको १८ जुलाई २०२५ देखि १६ जुलाई २०२६ सम्मको विवरण अनुसार उक्त अवधिमा साउदीमा १५४ नेपालीले ज्यान गुमाएका छन् । जसमध्ये ९९ जनाको प्राकृतिक कारण, २९ जनाको आत्महत्या, १९ जनाको सडक दुर्घटना र ७ जनाको कार्यस्थल दुर्घटनाका कारण मृत्यु भएको हो । आत्महत्याको बढ्दो दरले प्रवासी नेपालीहरूमाझ मानसिक तनाव, आर्थिक भार र सामाजिक एकाकीपनजस्ता गम्भीर मुद्दाहरू सिर्जना भइरहेको स्पष्ट पार्छ । यसैगरी, वैधानिक कागजात नभएका ५० जना मृतकका शव दूतावासको समन्वयमा स्वदेश पठाउने व्यवस्था मिलाएको छ ।

No description available.

कार्यस्थल दुर्घटनासँग सम्बन्धित ५६७ वटा क्षतिपूर्ति दाबीमध्ये २९२ वटाको भुक्तानी भइसकेको छ भने १२४ वटा स्वीकृत भई कागजातको पर्खाइमा र ६६ वटा प्रक्रियामै रहेका छन्। ५० वटा दाबी अस्वीकृत भएका छन् भने बाँकी हकदार पहिचान र पुष्टि प्रक्रियामा छन् ।

​यस्तै, रक्तधन तथा अन्य क्षतिपूर्तिसम्बन्धी दर्ता भएका ९०७ मुद्दामध्ये १३९ वटाको अदालतबाट फैसला भइसकेको र ७६८ वटा विचाराधीन अवस्थामा रहेको दूतावासले जनाएको छ । पर्याप्त जानकारीको अभाव, गैरकानुनी हैसियत र बीमा प्रक्रिया नियमित नहुँदा कतिपय श्रमिकहरू क्षतिपूर्ति पाउने अधिकारबाट वञ्चित हुनुपरेको छ ।

२० सेप्टेम्बर २०२६ सम्मको तथ्यांक अनुसार साउदीका २४ वटा कारागारमा ४१९ जना नेपाली विभिन्न ३८ प्रकारका अभियोगमा थुनामा रहेका छन् । सबैभन्दा बढी अल–अजिजियामा १११, दमाममा ८६ र जुबैलमा ५० जना नेपाली बन्दी छन् । विशेषगरी लागूऔषध तथा मदिराको उत्पादन, बिक्री-वितरण र कारोबारसम्बन्धी कसुरमा धेरै नेपालीहरू पक्राउ परेका हुनाले अन्जानमा कसैको सामान ओसारपसार नगर्न र कानुनी सचेतना अपनाउन आग्रह गरिएको छ ।

No description available.

​दूतावासका अनुसार सन् २०२३ यता १ हजार ३३३ हुरूब र ४ हजार ३२५ अन्य बहिर्गमन अनुमति (इग्जिट भिसा) मा सहजीकरण गरिएको छ । त्यस्तै, आर्थिक वर्ष २०८२/८३ मा ८ हजार ६९२ श्रम स्वीकृति, ५५ हजार ७०६ मागपत्र प्रमाणीकरण तथा अस्पताल र कम्पनी निरीक्षणका कामहरू सम्पन्न भएका छन् ।

​कार्यक्रममा साउदीका लागि कार्यवाहक राजदूत सिर्जना अधिकारीले श्रमिकका समस्या समाधानका लागि दूतावास र समुदायबीच निरन्तर सहकार्य हुनुपर्नेमा जोड दिइन् । सेवाग्राहीलाई बिचौलियाको पछि नलागी आधिकारिक माध्यमबाटै सेवा लिन आग्रह गर्दै उनले आगामी दिनमा डिजिटल सेवामा सुधार ल्याइने प्रतिबद्धता व्यक्त गरिन् ।

​यसैगरी, गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय उपमहासचिव राजेन्द्र अर्याल तथा अन्य प्रतिनिधिहरूले पारदर्शी सूचना प्रणाली, कन्सुलर सेवाको सरलीकरण र दमाम-काठमाडौं हवाई उडानलाई साउदीका अन्य सहरहरूमा समेत विस्तार गर्नुपर्ने माग राखेका थिए ।

ताजा खबर

सम्बन्धित खबर