
महेन्द्र पुस्तकालयबाट समेत सेवानिवृत्त भएपछि सच्चिदानन्द चौवेको दैनिकी त्रिभुवन चोकनजिकैको निवासमा बितिरहेको छ । उमेरले ९० वर्ष पुग्न लागेका चौवेलाई आजभोलि हिँडडुल गर्नसमेत कठिन छ । तर, नेपालको छैटौं पुरानो सहर नेपालगन्जमा जन्मिएर जीवनभर खेलकुद र शिक्षामा योगदान गरेका उनी नेपाली भलिबलको पहिलो पुस्ताको खेलाडीका रूपमा चिनिन पाउँदा गर्व गर्छन् । नेपालका पहिलो अन्तर्राष्ट्रिय भलिबल रेफ्री अजितकुमार शर्मा भन्छन्, ‘धोतीमै कोर्टमा उत्रिएको घटना सम्भवतः संसारकै रोचक र बिरलै होला ।’
नेपालगन्ज निवासी शर्मा सन् १९८६ मा दक्षिण कोरियाको सिओलमा भएको १०औं एसियाली खेलकुदमा नेपालबाट रेफ्री बनेर पुगेका थिए । त्यतिबेला उनी एकमात्र नेपाली रेफ्री थिए । करिअरको सुरुवाती चरणमा पाकिस्तान र बंगलादेशका प्रतियोगिता सञ्चालन गरेको अनुभव पनि उनीसँग छ ।
शिक्षण पेसामा जीवन बिताएका चौवे स्वयं धोतीमै काठमाडौंमा भेरी अञ्चलको टोलीबाट भलिबल खेलेको स्मरण गर्छन् । नारायण स्कुलमा पढाउने क्रममा उनले आफू मात्र खेलेनन्, अरूलाई पनि खेलाए, पढाए र अगाडि बढाए । अन्तर्राष्ट्रिय भलिबल रेफ्री अजितकुमार शर्मादेखि ओलम्पियन सुरेन्द्र हमालसम्म उनका विद्यार्थी हुन् । यस अर्थमा चौवे नेपाली खेलकुदका जीवित इतिहास हुन् ।
धोती लगाएर कोर्टमा उत्रिएको पुस्तादेखि आधुनिक र व्यावसायिक फ्रेन्चाइज प्रतियोगितासम्म आइपुग्दा नेपाली भलिबलले अकल्पनीय परिवर्तन गरेको छ । उपलब्धिका हिसाबले पनि यसले उल्लेखनीय सफलता हासिल गरेको छ । पुरुष टोलीले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्याम्पियनसिपमा कास्यपदक जितेको छ । महिला टोलीले काभा च्याम्पियनसिपको स्वर्ण जित्नुका साथै दक्षिण एसियाली खेलकुद (साग)मा श्रीलंकालाई हराएर फाइनल पुग्दै रजतपदक हात पारेको छ । यी उपलब्धि नेपाली भलिबलका लागि मात्र नभई समग्र नेपाली खेलकुदकै लागि महत्त्वपूर्ण हुन् ।
सफलतासँगै भलिबलको लोकप्रियता पनि बढेको छ । प्रतियोगिताको प्रसारण अधिकारका लागि लाखौं रुपैयाँ खर्च गर्ने अवस्था बनेको छ । खेलाडी लोकप्रियताको शिखरतर्फ उक्लिरहेका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने पल्सर स्पोट्र्स अवार्डको पिपुल्स च्वाइस विधामा भलिबल खेलाडी मनोनयनमा पर्दा विजयी हुनुले पनि यसको लोकप्रियता पुष्टि गर्छ ।
भलिबल नेपालको लोकप्रिय खेल हो भन्नेमा दुईमत छैन । पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म, हिमालदेखि तराईका फाँटसम्म खेलिने भएकाले यसलाई नेपाली माटो सुहाउँदो खेल पनि भनिन्छ । राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्यसचिव शरदचन्द्र शाहले खेलको वर्गीकरण गर्दा भलिबललाई उच्च प्राथमिकता दिएका थिए । विद्यालय तहदेखि नै खेलप्रति आकर्षण बढाउन उनले एथलेटिक्स र भलिबललाई अनिवार्यजस्तै बनाएका थिए ।
राष्ट्रिय स्तरमा पदक जित्ने सम्भावनाका आधारमा व्यक्तिगत खेललाई प्राथमिकता दिँदै गर्दा शाहले सामाजिक एकता र सामूहिक भावना विकास गर्न भलिबललाई फुटबल र क्रिकेटभन्दा अगाडि राखेका थिए । सीमित स्रोतसाधनमा पनि देशका सबै क्षेत्रमा खेल्न सकिने भएकाले भलिबल सामूहिक भावना विकास गर्ने प्रभावकारी माध्यम हुने उनको बुझाइ थियो ।
एक समय नेपालका हरेक व्यावसायिक घरानामा भलिबल टोली हुन्थे । नेपाली खेलाडीलाई ए, बी र सी गरी तीन टोलीमा वर्गीकरण गरिएको थियो । ती टोली वर्षभरि वैदेशिक प्रशिक्षणमा व्यस्त रहन्थे । तर, सदस्यसचिव शाहको नेतृत्वमा राष्ट्रिय खेलकुद परिषद्ले गरेको लगानीले पर्याप्त प्रतिफल दिन नपाउँदै नेपालको राजनीतिक परिस्थिति बदलियो । २०४६ सालमा बहुदलीय प्रजातन्त्र पुनस्र्थापना भएपछि समग्र खेलकुदको गति प्रभावित भयो । भलिबल पनि त्यसबाट अछुतो रहेन ।
२०५५ सालमा चौथो बृहत् राष्ट्रिय खेलकुद आयोजना हुँदा नेपाली सेनाले र नेपाल प्रहरीले भलिबलमा बलियो उपस्थिति देखाए । त्यसपछि सशस्त्र प्रहरी बलको टोली पनि प्रतिस्पर्धी बन्यो । जनस्तरमा भलिबललाई संस्थागत गर्दै खेलाडी उत्पादनमा योगदान दिने क्लबका रूपमा न्यु डायमन्ड अगाडि आयो ।
काठमाडौंको नैकापस्थित न्यु डायमन्ड स्कुलका प्रिन्सिपल कुमार राई आफैंले प्रशिक्षण दिने यो क्लब अहिले पनि ग्रासरुटबाट खेलाडी उत्पादन गरी राष्ट्रिय टोलीमा योगदान पुर्याउने अग्रणी संस्थामध्ये एक हो । पछिल्लो डेढ दशकमा क्लबले महिला भलिबलको विकासमा उल्लेखनीय भूमिका खेलेको छ ।
बंगलादेशको ढाकामा भएको ११औं दक्षिण एसियाली खेलकुदमा नेपाली टोलीका कप्तान भरत शाहले राष्ट्रिय झन्डा बोक्ने अवसर पाएका थिए । नेपाली भलिबलका लागि यो पनि महत्त्वपूर्ण उपलब्धि थियो । पुरुष टोलीले सन् २०१७ मा काभा च्याम्पियनसिपमा कास्यपदक जितेर सम्भावनाको संकेत गर्यो । महिला टोलीले भने सागमा सहभागिताको सुरुवातदेखि नै कास्यपदक जित्दै आफ्नो आकर्षण बढाएको थियो । नेपालमै भएको १३औं सागमा फाइनल पुगेर महिला टोलीले दक्षिण एसियामा आफ्नो बलियो उपस्थिति देखायो । त्यसपछि काभा च्याम्पियनसिपमा स्वर्ण जितेर देशको गौरव बढायो ।
यसैबीच भलिबल नेपालको राष्ट्रिय खेल घोषित भयो । राष्ट्रिय खेलको मान्यता र अन्तर्राष्ट्रिय प्रतियोगितामा प्राप्त सफलताले यसलाई देशव्यापी चर्चाको विषय बनाएको छ । भलिबलप्रति आम नागरिकमा आशा, उत्साह र सम्भावनाको भावना बढेको छ ।
नेपाली भलिबलको यो यात्रामा वर्तमान अध्यक्ष जितेन्द्रबहादुर चन्दको नेतृत्व पनि महत्त्वपूर्ण छ । नेपाली भलिबलको स्वर्ण जयन्तीको नेतृत्व गर्ने अवसर पाएका चन्द आफैं पूर्वखेलाडी हुन् । राष्ट्रिय टोलीको जर्सी लगाएर कोर्टमा उत्रिन नपाएको पीडा उनीभित्र थियो । सायद यही कारण उनले भलिबलको प्रशासनिक नेतृत्वमा रहेर अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने संकल्प गरे ।
चन्द महासचिवका रूपमा नेपाल भलिबल संघमा प्रवेश गरे । दुई कार्यकाल महासचिव हुँदा उनले अध्यक्ष दानबहादुर तामाङलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरे । त्यसपछि पनि महासचिवका रूपमा निरन्तरता दिए । मनोरञ्जन शर्माको नेतृत्वमा संघलाई व्यवस्थित ढंगले अघि बढाउन उनले मिहिनेत गरे । कार्यकारी भूमिकामा रहेर प्राप्त अनुभवले उनलाई अन्ततः संघको अध्यक्ष बन्ने अवसर दिलायो ।
अध्यक्ष बनेपछि चन्दले नेपाली भलिबललाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्न प्रयास गरे । उनी काभाको नेतृत्व तहमा पुगे भने एसियाली भलिबल महासंघको कार्यकारी समितिमा समेत जिम्मेवारी पाए । काभाका विभिन्न कार्यक्रम नेपालमा आयोजना गर्न सफल भए । अन्तर्राष्ट्रिय प्रतियोगिता व्यवस्थित रूपमा सञ्चालन गर्न नेपाल सक्षम छ भन्ने सन्देश पनि दिए ।
क्रिकेट र फुटबलमा मात्र फ्रेन्चाइज प्रतियोगिताको अवधारणा सीमित भइरहेका बेला चन्दले भलिबलमा पनि यो अभ्यास अघि बढाए । महिला फ्रेन्चाइज प्रतियोगिताका दुई संस्करण सम्पन्न भइसकेका छन् । गत महिना पुरुष फ्रेन्चाइज प्रतियोगिता पनि सुरु भयो । यसले निजी क्षेत्रलाई भलिबलमा लगानी गर्न आकर्षित गर्ने नयाँ सम्भावना खोलेको छ ।
२०३३ सालमा स्थापित नेपाल भलिबल संघका संस्थापक अध्यक्ष अनुपशमशेर जबरादेखि प्रकाश थपलिया, गंगा थापामगर, दानबहादुर तामाङ, मनोरञ्जन शर्मा हुँदै वर्तमान अध्यक्ष चन्दसम्म आइपुग्दा नेपाली भलिबलले लामो यात्रा तय गरेको छ । यसको स्वरूप, लोकप्रियता र सम्भावना बदलिएका छन् । धोती लगाएर खेल्ने पुस्ताबाट सुरु भएको यात्रा अहिले अन्तर्राष्ट्रिय पदक र व्यावसायिक फ्रेन्चाइज प्रतियोगितासम्म पुगेको छ ।
नेपाली भलिबलले नयाँ उचाइ हासिल गरे पनि यसको अन्तिम लक्ष्य अझै टाढा छ । सगरमाथाको शिखर चुम्न बाँकी नै छ । आगामी नेतृत्वले त्यसका लागि आवश्यक योजना, लगानी, पूर्वाधार र खेलाडी उत्पादनमा ध्यान दिन सके नेपाली भलिबलको स्वर्णिम यात्रा अझै अघि बढ्न सक्छ ।
(लेखक ठकुरी एम्सका सद्भाव दूत तथा नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष हुन् ।)