
केहीअघि काँकरभिट्टामा कविता र गजल सुनाउने कार्यक्रम थियो । आफ्ना अनुभूति बाँड्ने अवसर पनि थियो । तर त्यसबेला मनमा प्रेमका कविता आएनन्, फूलका उपमा आएनन् । मनमा एउटा नदी थियो, जसले केही दिनअघि हजारौं मानिसका सपना बगाएर लगेको थियो ।
भदौ १० गते भोटेकोशी र त्रिशूलीमा आएको भीषण बाढी सम्झिँदा मन अझै भारी हुन्छ । त्यो केवल पानीको भेल थिएन । कतिपय परिवारका लागि घरको अन्तिम ढोका थियो । कतिपय आमाबाबुका लागि सन्तान गुमाएको पीडा थियो । कतिपय बालबालिकाका लागि कापी–किताबसँगै आफ्नो बाल्यकाल नै बगेर गएको क्षण थियो ।
रसुवाका बस्तीमा बाढीले छोडेको माटो मात्र थिएन, सम्झनाहरू पनि थुप्रिएका थिए । कुनै आमाले हराएको सन्तानको खोजी गरिरहेकी थिइन् । कुनै बाबु भग्न घरमा जीवनका बाँकी चिनो खोजिरहेका थिए । कुनै वृद्धले जीवनभरको कमाइले बनाएको घर गुमाएर अस्थायी आश्रयमा दिन काटिरहेका थिए । कुनै बालकले सायद अझै बुझ्न सकेको थिएन–किन उसको विद्यालयको झोला फेरि कक्षाकोठामा फर्कन सकेन ।
बाढीपछि राहत आवश्यक थियो । खाना, लुगा र औषधि आवश्यक थियो । तर त्यतिमै जिम्मेवारी पूरा हुने अवस्था थिएन । भोक मेटिएपछि भविष्य पनि जोगाउनुपर्ने थियो ।
रसुवाका बालबालिकालाई नयाँ भवन मात्र होइन, फेरि पढ्ने अवसर चाहिएको थियो । कापी–कलम हराएका थिए भने कापी–कलम दिनुपथ्र्यो । विद्यालय बगेका थिए भने अस्थायी कक्षाबाट भए पनि पढाइ निरन्तर राख्नुपथ्र्यो । केही महिनाको शैक्षिक अवरोधले एउटा बालकको भविष्य बर्सौं पछाडि धकेलिन सक्छ । बाढीले उनीहरूको घर बगाएको थियो, सपना होइन । त्यो सपना जोगाउने जिम्मेवारी समाजकै थियो ।
अर्को महत्त्वपूर्ण पक्ष वृद्ध आमाबाबुको सुरक्षा थियो । जीवनभर परिवार र समाजका लागि योगदान दिएका उनीहरू आफैं आश्रय खोज्दै हिँड्नुपर्ने अवस्था पीडादायी थियो । उनीहरूलाई सुरक्षित बसोबास, स्वास्थ्य सेवा, औषधि, पोषण र आफ्ना मान्छेको साथ आवश्यक थियो । पुनर्निर्माणको पहिलो ढुंगासँगै वृद्धको सुरक्षालाई पनि जोड्नुपर्ने थियो ।
बाँचेकाहरूलाई रात काट्ने छानो मात्र होइन, फेरि जीवन उभ्याउने आधार चाहिएको थियो । घर हिजो जहाँ थियो, त्यहीँ बनाउने कि भविष्यमा फेरि नदीको भेलले नबगाउने सुरक्षित ठाउँ रोज्ने ? यो प्रश्न पुनर्निर्माणसँगै उठेको थियो । त्यसैले पुनर्निर्माण इँटा, बालुवा र सिमेन्टको काम मात्र हुनु हुँदैन । भूगोल, नदीको स्वभाव र भविष्यको जोखिम बुझेर सुरक्षित बस्ती निर्माण गर्नुपर्छ । प्रभावित बस्तीको सुरक्षित स्थानान्तरणबारे पनि अध्ययन र छलफल आवश्यक देखिएको थियो ।
सरकारको प्रारम्भिक आकलनले पुनर्निर्माणको आवश्यकता ठुलो रहेको देखाएको थियो । हजारौं घर, सडक, पुल, विद्यालय, स्वास्थ्य संस्था र अन्य संरचना क्षतिग्रस्त भएका थिए । त्यसैले राहतसँगै पुनस्र्थापना र पुनर्निर्माणलाई राष्ट्रिय प्राथमिकता दिनुपर्ने अवस्था थियो । तर काँकरभिट्टामा कविता सुनाउन जाँदा म सरकारलाई मात्र प्रश्न गर्न चाहन्नथेँ । म आफैंलाई पनि प्रश्न गरिरहेको थिएँ ।
रसुवाको दुःखमा मेरो कति हिस्सा छ ? एउटा बालकको आँसु पुछ्न मैले के गरेँ ? एउटा वृद्धलाई सुरक्षित बनाउने मेरो भूमिका के हो ? घर गुमाएको परिवारलाई फेरि जीवनमा फर्काउने यात्रामा मेरो योगदान कति छ ? विपत्तिमा सरकार चाहिन्छ । सुरक्षा निकाय चाहिन्छ । विज्ञ र स्वयंसेवी संस्था चाहिन्छन् । तर त्यससँगै मानवता पनि चाहिन्छ ।
राहतमा प्रतिस्पर्धा होइन, सहयोगमा एकता खोजिनुपर्छ । कसले कति दियो भन्ने हिसाबभन्दा कसको जीवन उठ्यो भन्ने प्रश्न ठुलो हो । बाढीले धनी–गरिब, जात–धर्म र दल छुट्याएन । उसले मानिसलाई आफ्नो भेलमा बगायो । अब पुनर्निर्माणले पनि मानिसलाई छुट्याउनु हुँदैन ।
त्यो विपत्तिपछि एउटा नयाँ सपना देख्नुपर्ने थियो– बालबालिका फेरि विद्यालयको पोसाकमा देखियून्, वृद्धहरू सुरक्षित घरको आँगनमा घाम ताप्न पाऊन् र आमाहरूले सन्तान फर्केर आउने बाटो होइन, विद्यालयबाट फर्केर आउने बाटो हेरून् । भोटेकोशी बगिरहेको थियो । त्रिशूली बगिरहेको थियो । नदीलाई रोक्न सकिँदैन । तर नदीले फेरि मानिसको जीवन नरोकोस् भनेर हामी सिक्न सक्छौं । त्यसैले मेरो कविता दुःखको मात्र कविता होइन । यो पुनर्जन्मको कविता हो, आशाको कविता हो र एउटा प्रश्न पनि हो । बाढीले बगाएको घर त हामी बनाउँला, तर बग्न लागेको भविष्य कसले जोगाउने ?
उत्तर हामी सबैले मिलेर दिनुपर्छ । रसुवाका बालबालिकाको भविष्य जोगाउनुपर्छ । वृद्धहरूको सुरक्षा सुनिश्चित गर्नुपर्छ । बाँचेकाहरूलाई सम्मानपूर्वक पुनस्र्थापित गर्नुपर्छ । पुनर्निर्माणलाई संरचना बनाउने काममा सीमित नराखी जीवन पुनर्निर्माण गर्ने अभियान बनाउनुपर्छ । त्यसपछि मात्र भोटेकोशीको कहालीलाग्दो भेलबाट एउटा नयाँ इतिहास जन्मिनेछ । बाढीले धेरै कुरा बगायो, तर हाम्रो मानवता बग्न दिनु हुँदैन ।