
अमेरिका–इजरायलले इरानको आणविक र मिसाइल क्षमता नष्ट गर्ने उद्देश्यसहित सन् २०२६ फेब्रुअरी २८ मा सुरु गरेको सैन्य आक्रमणले अपेक्षित परिणाम दिन सकेन । आधा वर्षभन्दा बढी समय बित्दा पनि इरानको शासन ढलेन, उसको प्रतिरोध क्षमता समाप्त भएन र आणविक कार्यक्रम निर्णायक रूपमा रोकिएन । बरु युद्धले मध्यपूर्वमा आणविक हतियारको होडबाजी बढ्ने नयाँ जोखिम जन्माएको छ ।
यसको सबैभन्दा गम्भीर पक्ष के हो भने अमेरिका र इजरायलले जुन खतरा रोक्न युद्ध सुरु गरेका थिए, युद्धपछि त्यही खतरा अझ बलियो हुन सक्ने अवस्था बनेको छ । इरानको आणविक क्षमतालाई सैन्य शक्तिबाट दबाउने प्रयासले तेहरानलाई एउटा कठोर रणनीतिक प्रश्नतर्फ धकेलेको छ–यदि आणविक हतियार नहुँदा पनि आक्रमणबाट जोगिन सकिँदैन भने अन्तिम प्रतिरोधका रूपमा आणविक हतियार आवश्यक छ कि छैन ?
‘आणविक सुप्तता’को जोखिम
बर्सौंदेखि इरानले आणविक हतियार निर्माणको अन्तिम सीमा नाघेको छैन । तर युरेनियम संवद्र्धन, उन्नत सेन्ट्रिफ्युज र भूमिगत आणविक संरचनाका कारण उसले आवश्यक परे छोटो समयमा हतियार निर्माण गर्न सक्ने क्षमता विकास गरेको छ । यही अवस्थालाई ‘आणविक सुप्तता’ भन्न सकिन्छ ।
यस रणनीतिको उद्देश्य स्पष्ट थियो–आणविक हतियार नबनाई त्यसको सम्भावित क्षमता कायम राख्ने र त्यसबाट प्रतिरोध सिर्जना गर्ने । तर सन् २०२६ को युद्धले यही रणनीतिको कमजोरी उजागर ग¥यो । इरानको आणविक पूर्वाधारमा क्षति पुगे पनि उसको राजनीतिक संरचना ढलेन । उल्टै, बाह्य आक्रमणले राष्ट्रिय प्रतिरोधको भावना बलियो बनायो ।
युद्धपछि इरानले भूमिगत आणविक संरचना विस्तार र संवर्धन क्षमताको पुनर्निर्माणलाई प्राथमिकता दिएको संकेत देखिएको छ । यसको अर्थ बमबारीले आणविक कार्यक्रमलाई केही समय ढिलो गर्न सक्ला, तर त्यसको रणनीतिक उद्देश्य बदल्न सक्दैन ।
सैन्य शक्तिको सीमा
अमेरिका–इजरायलको अर्को रणनीतिक अनुमान पनि कमजोर देखिएको छ–सटिक हवाई आक्रमण र उच्चपदस्थ नेतृत्वमाथिको प्रहारले इरानको शासनलाई छिटो कमजोर बनाउन सकिन्छ । तर इरानको शासन संरचना विकेन्द्रित र बहुस्तरीय छ । नेतृत्वमा ठुलो क्षति पुगे पनि सुरक्षा संयन्त्र, क्रान्तिकारी गार्ड र स्थानीय प्रशासनिक संरचना तत्काल भत्किएनन् ।
त्यसैगरी, इरानका आणविक संरचना पहाडभित्र गहिरो भूमिगत रहेकाले अत्याधुनिक हतियारले समेत तिनलाई पूर्ण रूपमा नष्ट गर्न कठिन देखिएको छ । यसले एउटा आधारभूत सैन्य सीमातर्फ संकेत गर्छ–हवाई शक्तिले पूर्वाधार ध्वस्त पार्न सक्छ, तर कुनै देशको रणनीतिक सोच र सुरक्षा चिन्ता ध्वस्त पार्न सक्दैन ।
युद्धले इरानको ब्यालिस्टिक मिसाइल क्षमतालाई पनि ठुलो दबाबमा पारेको छ । तर मिसाइल भण्डारको क्षति भए पनि इरानले त्यसलाई पुनर्निर्माण गर्ने प्रयास गर्नेछ । उत्तर कोरियासँग उसको दशकौं पुरानो मिसाइल तथा सैन्य प्रविधिको सम्बन्ध र रुससँगको बढ्दो रणनीतिक सहकार्यले यस विषयलाई थप संवेदनशील बनाएको छ । तत्काल सक्रिय प्राविधिक सहयोगको स्पष्ट प्रमाण नभए पनि सम्भावित सहकार्यलाई बेवास्ता गर्न सकिने अवस्था छैन ।
युद्धको मूल्य
यो युद्धको मूल्य अमेरिका, इजरायल र इरान सबैले चुकाएका छन् । अमेरिकाले ठुलो आर्थिक र सैन्य स्रोत खर्च गर्नुपरेको छ । उसका सैन्य उपकरण र क्षेत्रीय आधारमा क्षति पुगेको छ । इजरायलले पनि पूर्वाधार र मानवीय क्षति व्यहोरेको छ । इरानतर्फ भने सैन्य तथा नागरिकतर्फ ठुलो जनधनको क्षति भएको छ ।
तर सबैभन्दा ठुलो प्रश्न खर्च र क्षतिको होइन, उपलब्धिको हो । अमेरिका–इजरायलको मूल उद्देश्य इरानलाई आणविक हतियारको क्षमताबाट रोक्नु थियो । यदि युद्धपछि इरान आणविक हतियार बनाउने निर्णयतर्फ अझ नजिक पुग्छ भने सैन्य अभियान आफ्नो रणनीतिक उद्देश्यमा असफल भएको निष्कर्ष निकाल्नुपर्ने हुन्छ ।
इतिहासले पनि बाह्य सैन्य खतराले आणविक आकांक्षा कमजोर पार्नेभन्दा बलियो बनाउने उदाहरण दिएको छ । उत्तर कोरियाले इराक र लिबियाको अनुभवबाट आणविक हतियारलाई शासन र राष्ट्रिय सुरक्षाको अन्तिम ग्यारेन्टीका रूपमा हेरेको थियो । इरानले पनि त्यही निष्कर्ष निकाल्ने जोखिम बढेको छ ।
मध्यपूर्वभन्दा बाहिरको असर
इरान युद्धको प्रभाव मध्यपूर्वमै सीमित रहने छैन । यदि ‘आणविक सुप्तता’ले पनि सुरक्षा सुनिश्चित गर्न सक्दैन भन्ने निष्कर्ष फैलियो भने अन्य देशले पनि आफ्नै आणविक क्षमताबारे पुनर्विचार गर्न सक्छन् ।
साउदी अरबले इरानले आणविक हतियार प्राप्त गरे आफू पनि त्यही बाटोमा जाने संकेत दिइसकेको छ । यसले मध्यपूर्वमा आणविक प्रतिस्पर्धाको जोखिम बढाउँछ । त्यस्तै दक्षिण कोरिया र जापानमा पनि अमेरिकी विस्तारित आणविक प्रतिरोधको विश्वसनीयताबारे बहस बढिरहेको छ । यसले विश्वव्यापी आणविक अप्रसार व्यवस्थामाथि थप दबाब सिर्जना गर्न सक्छ ।
अझ महत्त्वपूर्ण कुरा, अमेरिकाको नीतिमा देखिने सम्भावित दोहोरो मापदण्ड हो । यदि उसले केही साझेदार राष्ट्रलाई आणविक प्रविधि र संवर्धनको अवसर दिन्छ तर इरानलाई त्यही क्षमताबाट रोक्न सैन्य शक्ति प्रयोग गर्छ भने अन्तर्राष्ट्रिय अप्रसार व्यवस्थाप्रतिको अमेरिकी विश्वसनीयता कमजोर हुन्छ ।
सैन्य समाधानको विकल्प
सन् २०२६ को युद्धको मूल पाठ यही हो–आणविक समस्या सैन्य शक्तिले मात्र समाधान गर्न सकिँदैन । बमले सेन्ट्रिफ्युज र मिसाइल कारखाना नष्ट गर्न सक्छ, तर सुरक्षा संकटको मूल कारण हटाउन सक्दैन ।
यदि अमेरिका साँच्चै इरानलाई आणविक हतियारबाट रोक्न चाहन्छ भने विश्वसनीय सुरक्षा ग्यारेन्टी, प्रत्यक्ष कूटनीतिक संवाद र पारस्परिक विश्वास निर्माण आवश्यक हुन्छ । इरानले आणविक हतियार त्याग्दा आफ्नो अस्तित्वमाथि खतरा नआउने विश्वास गर्न सक्नुपर्छ । त्यसका लागि केवल तेहरानमाथि दबाब होइन, क्षेत्रीय सुरक्षा संरचनामै पुनर्विचार आवश्यक छ ।
युद्ध सुरु गर्न सजिलो हुन सक्छ, तर त्यसको अन्त्य र परिणाम नियन्त्रण गर्न कठिन हुन्छ । अमेरिका–इजरायलले इरानमाथि सैन्य शक्ति प्रयोग गरेर एउटा आणविक कार्यक्रमलाई रोक्न खोजे । तर त्यसले उल्टै आणविक प्रतिरोधको तर्कलाई बलियो बनाउने जोखिम पैदा गरेको छ ।
आजको सबैभन्दा ठुलो खतरा इरानको एउटा आणविक बम मात्र होइन । खतरा त्यो सोच हो, जसले आणविक हतियारलाई सुरक्षा र अस्तित्वको अन्तिम ग्यारेन्टी मान्न थाल्छ । यस्तो सोच मध्यपूर्वमा फैलियो भने त्यसको मूल्य एउटा युद्धभन्दा धेरै ठुलो हुनेछ ।