२०८३ असोज २३ गते शुक्रवार / Oct 09 , 2026 , Friday
२०८३ असोज २३ गते शुक्रवार

सडकको सास्ती र दसैं यात्रा

Nada
विश्वनाथ खरेल
२०८३ असोज २३ गते ०६:००
Shares
सडकको सास्ती र दसैं यात्रा

नेपालीहरूको महान् चाड दसैं आउँदा देशभर उत्साह छाउँछ । घर–परिवारसँग भेटघाट, टीका–आशीर्वाद, नयाँ कपडा र परम्परागत खानाको रमाइलोले सबैलाई तान्छ । तर यो खुसीको यात्रा सुरु हुनुअघि नै लाखौं नेपालीले सडकको सास्ती खेप्नुपर्छ ।

ncell

यस वर्ष काठमाडौं उपत्यकाबाट करिब १५ लाख यात्रु बाहिरिने अनुमान छ । सार्वजनिक यातायातबाट मात्रै ६ लाख ५० हजारदेखि ९ लाख ७५ हजारसम्म यात्रु बाहिरिने प्रक्षेपण गरिएको छ । निजी सवारीसमेत जोड्दा यो संख्या अझ बढ्छ । ठुलो चाप व्यवस्थापन गर्नु आफैंमा चुनौती हो । त्यसमाथि हालैको बाढीपहिरोले सडक क्षतिग्रस्त भएकाले यसपटकको यात्रा थप जोखिमपूर्ण बनेको छ ।

दसैं नेपाली संस्कृति र पारिवारिक मेलमिलापको पर्व हो । वर्षभरि सहरमा बसेका युवा, कामदार र विद्यार्थी गाउँघर फर्किन्छन् । टीकाका दिन परिवारका जेठा सदस्यबाट आशीर्वाद लिने परम्परा छ । तर गाउँ फर्किन सडक पार गर्नुपर्छ, जुन यात्रुका लागि हरेक वर्ष चुनौती बन्दै आएको छ ।

नेपालको भौगोलिक बनावट, साँघुरा सडक, तीव्र मोड, खोला–नदीका पुल र पहिरोको जोखिमले यात्रा सहज छैन । मनसुनको अन्त्यतिर भारी वर्षा हुँदा पहिरो खस्ने, सडक भासिने र पुल बग्ने समस्या दोहोरिन्छ । यस वर्ष भोटेकोशी, रोशी खोला र झ्याप्ले खोलालगायत क्षेत्रमा क्षति पुगेको छ । अरनिको राजमार्ग, बिपी राजमार्ग, कान्ति लोकपथ, गल्छी–त्रिशूली र नागढुंगा–मुग्लिन खण्ड विशेष संवेदनशील छन् ।

उपत्यकाबाट बाहिरिने र भित्रिने ८५ देखि ९० प्रतिशत सवारी नागढुंगा, साँगा र फर्पिङ नाकाबाट हुन्छन् । नागढुंगा नाकाबाट मात्रै करिब ५५ प्रतिशत सवारी बाहिरिन्छन् । यी नाकामा जाम हुँदा यात्रुले घण्टौं समय सडकमा बिताउनुपर्छ ।

मुग्लिन–नारायणगढ खण्डमा पहिरोको समस्या पुरानै हो । पहिरो पन्छाएर सडक खुलाइए पनि फेरि पहिरो खस्ने जोखिम रहन्छ । राति अचानक सडक बन्द हुँदा हजारौं यात्रु बाटोमै अलपत्र पर्छन् । पाँच घण्टामा पुगिने दूरी १५ घण्टाभन्दा बढी लाग्ने अवस्था पनि दोहोरिएको छ । दाउन्नेमा पनि लामो जामको समस्या छ । विगतमा १४ किलोमिटर सडक पार गर्न १० देखि १६ घण्टासम्म लागेको उदाहरण छन् ।

सडकको गुणस्तर अर्को मुख्य समस्या हो । साँघुरा सडक, खाल्डाखुल्डी, नालीको समस्या र सडक छेउका भित्ता काट्दा बढ्ने जोखिम बर्सौंदेखि उस्तै छन् । बाढीपहिरोका कारण करिब सात हजार किलोमिटर सडकमा समस्या आएको सरकारी आँकडा छ । यस्तो अवस्थामा दसैंको सवारी चापले समस्या झनै बढाउन सक्छ ।

सवारी र चालक 

दसैं अवधिमा यात्रुलाई गन्तव्यमा पु¥याउन न्यूनतम ४३ हजार ५७४ देखि अधिकतम ६५ हजार ३६१ सार्वजनिक सवारीसाधनका ट्रिप आवश्यक पर्ने अध्ययनले देखाएको छ । तर सवारीसाधन पर्याप्त छैनन् । टिकट काट्दा हुने भिड, कालोबजारी र क्षमताभन्दा बढी यात्रु राख्ने समस्या पनि उस्तै छन् । 

अनलाइन सर्वेक्षणअनुसार ५२ प्रतिशत यात्रु अनलाइन टिकट चाहन्छन् । तर व्यवहारमा टिकट व्यवस्थापन अझै सहज हुन सकेको छैन । थोत्रा सवारी चलाउने, क्षमताभन्दा बढी यात्रु राख्ने र चालकलाई पर्याप्त आराम नदिई लगातार सवारी चलाउने प्रवृत्तिले दुर्घटनाको जोखिम बढाउँछ ।

लामो दूरीका सवारीमा दुई चालक अनिवार्य गर्ने नियम भए पनि यसको पूर्ण कार्यान्वयन हुन सकेको छैन । मादकपदार्थ सेवन, तीव्र गति र जथाभावी ओभरटेकसँगै कमजोर सडकले दुर्घटनाको जोखिम बढाउँछ । दसैं अवधिमा दुर्घटना बढ्ने गरेको विगतको तथ्यांकले पनि देखाउँछ ।

सरकारले सडक मर्मत तथा उद्धारका लागि ५३ वटा हेभी उपकरण तैनाथ गर्ने तयारी गरेको छ । संवेदनशील स्थानमा २४ घण्टा उद्धार टोली राख्ने र नागढुंगा–मुग्लिन खण्डमा पहिरो पन्छाउने, भित्ता काट्ने तथा नाली सफा गर्ने काम तीव्र पारिएको छ । तर मनसुनको प्रभाव कायमै रहेकाले नयाँ पहिरोको जोखिम भने हटेको छैन ।

यातायात व्यवसायीले सडक सुरक्षित नभएसम्म अग्रिम टिकट बुकिङ नखोल्ने निर्णय गरेका छन् । विगतमा दबाबका कारण बुकिङ खोल्दा यात्रु तीन दिनसम्म बाटोमै अलपत्र परेको अवस्था पनि थियो । यसपटक त्यस्तो अवस्था नआओस् भन्नेमा सतर्कता आवश्यक छ । 

सरकारले मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ । ट्राफिक प्रहरीले मद्दत डेस्क, रात्रि गस्ती र प्रविधिमा आधारित निगरानी बढाएको छ । लामो दूरीका सवारीमा दुई चालक, ओभरलोडिङ नियन्त्रण र भाडा अनुगमनमा पनि जोड दिइएको छ ।

तर, तत्कालीन व्यवस्थापनले मात्र समस्या समाधान हुँदैन । सडक विस्तारमा ढिलाइ, कमजोर निर्माण, नियमित मर्मतको अभाव र जलवायु परिवर्तनका कारण बढ्दो बाढीपहिरोले दीर्घकालीन चुनौती थपेका छन् ।  हरेक वर्ष दसैंमा उही समस्या दोहोरिन नदिन सडक पूर्वाधार सुधारलाई प्राथमिकता दिनुपर्छ ।

दसैं खुसीको चाड हो । सडकको सास्तीले त्यो खुसीमा छाया पर्न दिनु हुँदैन । सुरक्षित यात्राका लागि सरकार, सडक विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यात्रु सबै जिम्मेवार हुनुपर्छ । नियम पालना र सावधानीसँगै दीर्घकालीन सडक सुधारमा ध्यान दिन सके मात्रै दसैं यात्रा सुरक्षित र सहज बन्न सक्छ ।

सम्बन्धित खबर