
पर्सा : पर्साको पकाहा मैनपुर गाउँपालिकाको १५औं गाउँसभा आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेट पारित गर्दै सम्पन्न भएको छ ।
गाउँसभाले आगामी आर्थिक वर्षका लागि ३६ करोड ३० लाख २७ हजार रुपैयाँ बराबरको अनुमानित बजेट सर्वसम्मत रूपमा पारित गरेको छ । गाउँपालिकाका उपाध्यक्ष सर्फुनेशा खातुनको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत सुजित कुमार सिंहले बजेट प्रस्तुत गरेका थिए ।
पारित बजेटमध्ये चालुतर्फ २४ करोड ३५ लाख ८२ हजार रुपैयाँ र पुँजीगततर्फ ११ करोड ९४ लाख ४५ हजार रुपैयाँ विनियोजन गरिएको छ । गाउँसभाबाट गाउँपालिकाका पाँचवटै वडाका बजेटसमेत पारित गरी प्रस्तुत गरिएको थियो ।
गाउँपालिका अध्यक्ष सुरेश मेहताले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, युवा रोजगारी र भौतिक पूर्वाधारलाई आगामी आर्थिक वर्षको मुख्य प्राथमिकतामा राखिएको बताए ।
अध्यक्ष मेहताको अध्यक्षतामा सम्पन्न गाउँसभा तथा नीति तथा कार्यक्रममा उपाध्यक्ष सर्फुनेशा खातुन, प्रमुख प्रशासकीय अधिकृत सुजित सिंह, पूर्व गाविस अध्यक्ष नसुरलाह मियाँ, वडाध्यक्षहरू बलिराम चौरसिया, ढेरी प्रसाद यादव, संजय चौहान, मुकुट चौहान, विनोद मेहता तथा कार्यपालिका सदस्य नेकमहम्द मियाँ, रामबहादुर सोनारलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
गाउँसभामा कार्यपालिका सदस्य, महिला तथा पुरुष सदस्य, गाउँपालिका कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक, पत्रकार, सुरक्षाकर्मी तथा बुद्धिजीवीहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षा प्रमुख दामोदर दुबेदीले गरेका थिए ।