
दोहा, कतार : श्रमिक कल्याणकारी कोष स्थापनार्थ गण्डकी प्रदेश समन्वय परिषद् कतारको आयोजनामा आगामी नोभेम्बर ६ तारिख शुक्रवार कतारमा सांगीतिक कार्यक्रम हुने भएको छ । अलवकिरस्थित डिपिएस मोनार्क स्कुलको हलमा हुने कार्यक्रममा पोखराको चर्चित लेकाली ब्यान्डले विशेष सांगीतिक प्रस्तुति दिने भएको हो ।
दसैं, तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसरसमेत जोडेर आयोजना गर्न लागिएको कार्यक्रममा कतारमा कार्यरत नेपाली श्रमिक तथा नेपाली समुदायको सहभागिता रहनेछ । कार्यक्रमबाट संकलित रकम श्रमिक कल्याणकारी कोष स्थापनाका साथै सामाजिक क्षेत्रमा आवश्यक सहयोगमा परिचालन गर्ने उद्देश्य रहेको परिषद्ले जनाएको छ ।
पोखरेली लोक–पप संगीतको पहिचान बोकेको लेकाली ब्यान्ड विसं २०५२ मा स्थापना भएको हो । ब्यान्डले विसं २०५४ मा पहिलो एल्बम ‘यो मुटुमा’ सार्वजनिक गरेपछि नेपाली संगीतप्रेमीमाझ आफ्नो छुट्टै पहिचान बनाएको थियो । ‘यो मुटुमा’, ‘वनमा कस्तुरी’, ‘पहिलो नजर’, ‘सपनीमा’, ‘कहाँबाट’ लगायतका गीत लेकालीका चर्चित सिर्जनाका रूपमा रहेका छन् । पछिल्लो समय पनि ब्यान्डले नयाँ सिर्जनासँगै पुराना लोकप्रिय गीतलाई विभिन्न सांगीतिक मञ्चमार्फत स्रोता–दर्शकमाझ पुर्याउँदै आएको छ ।
कार्यक्रमको तयारीबारे बिहीबार साँझ कतारको ग्रान्ड मलस्थित संसारा रेस्टुरेन्टमा आयोजित पत्रकार सम्मेलनमा आर्थिक संयोजक अर्जुन संग्रौलाले कार्यक्रमका लागि करिब ४५ हजार कतारी रियाल खर्च हुने जानकारी दिए । परिषद्का उपाध्यक्ष कल्याण थापाले लेकालीको सांगीतिक प्रस्तुतिमार्फत नेपाली समुदायलाई मनोरञ्जनसँगै श्रमिक कल्याणकारी कोष स्थापनाको अभियानमा जोड्ने उद्देश्य रहेको बताए ।
कार्यक्रमका लागि विभिन्न तहका प्रायोजन खुला गरिएको छ । मुख्य प्रायोजकका लागि आठ हजार, सह प्रायोजक छ हजार, प्लाटिनम पाँच हजार, डायमन्ड तीन हजार, गोल्ड एक हजार पाँच सय, सिल्भर एक हजार तथा ब्यानर र अन्य प्रायोजनका लागि पाँच सय कतारी रियाल तोकिएको छ । भिक्टोरिया गोल्ड एन्ड डायमन्ड मुख्य प्रायोजक रहने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा कतारस्थित नेपाली संघसंस्थाका प्रतिनिधि तथा पत्रकारले कार्यक्रमको उद्देश्य, आर्थिक व्यवस्थापन र समुदायको सहभागिताबारे सुझाव दिएका थिए ।
परिषद्का महासचिव मनप्रसाद राना मगरले सहजीकरण गरेको पत्रकार सम्मेलनको अध्यक्षता परिषद्का अध्यक्ष नन्दलाल बि.क. ‘अजय’ले गरेका थिए । आयोजकले कतारमा रहेका नेपाली संघसंस्था, व्यवसायी, श्रमिक तथा सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई सांगीतिक मनोरञ्जनसँगै श्रमिक कल्याणकारी कोष स्थापनाको अभियानमा सहयोग गर्न आग्रह गरेको छ ।