
दोहा, कतार : नेपाली चलचित्रका एक्सन स्टार तथा निर्देशक निखिल उप्रेती आफ्नो पछिल्लो चलचित्र ‘आचार्य’ लिएर कतार आइपुगेका छन् । चलचित्र प्रदर्शनका क्रममा दर्शकसँग प्रत्यक्ष भेटघाट गर्दै उनी स्वयं दर्शकसँगै बसेर ‘आचार्य’ हेर्न कतार आएका हुन् ।
उप्रेतीसँगै चलचित्रका निर्माता कृष्ण भट्टराई र सेभन सिज ओभरसिजका मध्यपूर्व वितरक प्रमुख रमेश ढकाल पनि कतार आएका छन् । कतार आइपुगेका उप्रेतीसहितको टोलीलाई नेपाली चलचित्रप्रेमीहरुले विमानस्थलमा भव्य स्वागत गरेका थिए ।
कतारमा आजदेखि प्रदर्शनमा आएको ‘आचार्य’को शोमा उप्रेती दर्शकमाझ उपस्थित हुने भएका छन् । उनले सामाजिक सञ्जालमार्फत आज राति ८ बजे र भोली दिउँसो ३ बजे प्लाजा मलमा दर्शकसँग भेट गर्ने जानकारी दिएका छन् । उप्रेतीले कतारमा रहेका नेपाली दर्शकलाई समय मिलाएर चलचित्र हेर्न उपस्थित हुन आग्रह गर्दै आफू पनि दर्शकसँगै बसेर चलचित्र हेर्न उत्साहित रहेको बताएका छन् ।
करिब १० वर्षपछि निर्देशनमा फर्किएका उप्रेतीको निर्देशन तथा अभिनय रहेको ‘आचार्य’ नेपालमा सेप्टेम्बर २५ देखि प्रदर्शनमा आएको हो । एक्सन प्रधान चलचित्रमा नेपाली कलाकारसँगै दक्षिण भारतीय कलाकार रघु बाबु र रघु करुमन्चीको समेत अभिनय रहेको छ । पूर्णिका सिजापति र सजिना श्रेष्ठले यही चलचित्रमार्फत अभिनय यात्रा सुरु गरेका छन् ।
नेपालमा प्रदर्शनपछि ‘आचार्य’ अन्तर्राष्ट्रिय बजारमा समेत विस्तार भइरहेको निर्माण पक्षले जनाएको छ । चलचित्र युरोप, अमेरिका, क्यानडा, कोरिया, इजरायल, मलेसिया तथा खाडी मुलुकलगायत विभिन्न देशमा प्रदर्शन हुँदैछ । नेपालबाहिरको वितरण अधिकार सेभेन सिज इन्टरनेसनलले लिएको जनाइएको छ ।
कतारमा ठुलो संख्यामा नेपाली श्रमिक तथा प्रवासी नेपाली रहेकाले नेपाली चलचित्रका लागि यो महत्वपूर्ण विदेशी बजारका रूपमा विकास हुँदै गएको छ । कलाकार तथा निर्देशक स्वयं दर्शकमाझ पुगेर चलचित्र प्रदर्शन गर्ने क्रमले प्रवासमा रहेका नेपाली दर्शक र नेपाली चलचित्रबीचको सम्बन्धलाई थप नजिक बनाउँदै आएको छ ।