
दुबई, युएई : युएईमा कार्यरत नेपाली समुदायको स्वास्थ्यलाई मध्यनजर गर्दै लुम्बिनी प्रदेश समाज युएईले एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
लुम्बिनी प्रदेशअन्तर्गत युएईमा सक्रिय विभिन्न सामाजिक संघसंस्थाको प्रतिनिधित्व गर्दै आएको समाजले नेपाली समुदायको शारीरिक तथा मानसिक स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले उक्त स्वास्थ्य शिविर आयोजना गरेको हो ।
युएईकै पहिलो नेपाली पोलिक्लिनिकका रूपमा रहेको निको पोलिक्लिनिकमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा नेपाली समुदायको उत्साहजनक सहभागिता रहेको थियो। शिविरमा ३०० जनाभन्दा बढी नेपालीले निःशुल्क स्वास्थ्य परीक्षण तथा चिकित्सकीय परामर्श सेवा लिएका थिए ।

लुम्बिनी प्रदेश समाज युएईका अध्यक्ष नारायण अधिकारीका अनुसार युएईमा कार्यरत नेपालीहरूको स्वास्थ्यसम्बन्धी आवश्यकता र मागलाई मध्यनजर गर्दै शिविर आयोजना गरिएको बताउँदै नेपाली समुदायलाई स्वस्थ र सचेत बनाउने उद्देश्यले समाजले यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
अध्यक्ष अधिकारीले आगामी दिनमा स्वास्थ्य शिविरलाई दुबईमा मात्र सीमित नभई युएईका सबै इमिरेट्समा स्वास्थ्य शिविर, स्वास्थ्य सचेतना तथा विभिन्न प्रशिक्षणमूलक कार्यक्रमहरू सञ्चालन गर्ने योजना रहेको जानकारी दिए ।
स्वास्थ्य शिविरमा सहभागी रुपन्देही सेवा समाज युएईकी अध्यक्ष कला पंगेनीले नेपाली महिला दिदीबहिनीहरूका लागि शिविर निकै उपयोगी भएको बताइन् । आफू लगायत शिविरमा सहभागी महिलाहरूले आफूभित्र रहेका स्वास्थ्यसम्बन्धी समस्याहरूको निःशुल्क परीक्षण गराउनुका साथै नेपाली चिकित्सकहरूसँग सहज र सरल रूपमा परामर्श लिन पाउँदा खुसी लागेको उनले बताइन् ।

पंगेनीले नेपाली समुदायको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राखेर निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेकोमा निको पोलिक्लिनिक तथा लुम्बिनी प्रदेश समाज युएईप्रति धन्यवाद व्यक्त गरिन् ।
शिविरमा विभिन्न स्वास्थ्यसम्बन्धी समस्याको परीक्षण तथा चिकित्सकीय परामर्श उपलब्ध गराइएको थियो। लामो समयदेखि युएईमा कार्यरत नेपालीहरूले आफ्नो व्यस्त कार्यतालिकाका कारण नियमित स्वास्थ्य परीक्षण गर्न नपाउने अवस्थामा यस्ता निःशुल्क स्वास्थ्य शिविरले ठूलो सहयोग पुग्ने सहभागीहरूले बताएका छन् ।