२०८३ असोज १९ गते सोमवार / Oct 05 , 2026 , Monday
२०८३ असोज १९ गते सोमवार

टोकियोमा अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’माथि चर्चा

Nada
२०८३ असोज १९ गते १४:४७
Shares
टोकियोमा अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’माथि चर्चा

टोकियो : खेल पत्रकार नवीन अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ विषयमा जापानको टोकियोमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आइतबार साँझ टोकियोस्थित सोलमारी रेस्टुरेन्टमा आयोजना गरिएको कार्यक्रममा जापानमा बसोबास गर्ने नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको थियो ।

ncell

कार्यक्रममा लेखक अर्यालले पुस्तक तयार पार्न करिब दुई वर्ष लागेको जानकारी दिँदै यसको बहुआयामिक पक्षबारे प्रकाश पारे । उनले हालै जापानको नागोयामा सम्पन्न एशियाली खेलकुदको सन्दर्भ पारेर सेप्टेम्बर १८ मा पुस्तक विमोचन गरिएको बताए। यसअघि उनको ‘नेपाली खेलकुदको वृत्तान्त’ प्रकाशित भइसकेको छ ।

अर्यालका अनुसार नेपाल र जापानबीच खेलकुद सम्बन्ध औपचारिक कूटनीतिक सम्बन्धभन्दा पहिलेदेखि नै सुरु भएको हो । सन् १९५१ मा भारतको नयाँ दिल्लीमा भएको पहिलो एशियाली खेलकुदबाट दुई देशका खेलाडीबीच नजिकको सम्बन्ध स्थापित भएको उनले उल्लेख गरे ।

पुस्तकमा जापानी पर्वतारोहीहरूको नेपाल आगमन, ओलम्पिक तथा एशियाली खेलकुदमा नेपालको सहभागिता, साथै दुवै देशबीच खेलकुदमार्फत विकसित सम्बन्धका विभिन्न ऐतिहासिक पक्ष समेटिएका छन् । साथै, जापानी प्रशिक्षकहरूले नेपाली खेलकुद विकासमा दिएको योगदान र सगरमाथासँग जोडिएका ऐतिहासिक घटनाहरू पनि समावेश गरिएको छ ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) का वरिष्ठ उपाध्यक्ष रोविन प्रसाद शेरचन, पूर्वअन्तर्राष्ट्रिय गोलकिपर अजर अधिकारी, मिडफिल्डर बसन्त गौचन, स्ट्राइकर हरि ठकुरी, पूर्व तेक्वान्दो खेलाडी तथा गायक नारायण गुरुङ, जापान–नेपाल समाजका निर्देशक शरद कुमार गुरुङ, जापानमा बसोबास गर्दै नेपाली फुटबललाई योगदान दिँदै आइरहेका जापान–नेपाल फुटबल संघका संयोजक तथा रानी पोखरी कर्नर टीम (आरसिटी) का पूर्वआक्रामक मिडफिल्डर शिव खड्का, लामो समयदेखि जापानमा कार्यरत अमित गौतम, मोना जापानका अध्यक्ष दीपक केसी, पूर्व पत्रकार तथा हाल जापानमा व्यवसाय गर्दै आएका नारायण रिमाल र मोहन घले तथा गोपाल भट्टराईलगायतको बाक्लो उपस्थिति थियो। 

 पुस्तक बारे चर्चा गर्दै एनआरएनएका वरिष्ठ उपाध्यक्ष शेरचनले नेपाल–जापानको खेल कूटनीति बुझ्न अर्यालको पुस्तक कोशेढुंगा सावित हुने बताए । उनले लेखक अर्याललाई बधाई दिँदै जापान र नेपालको सम्बन्धको विषयमा अरु पुस्तक पनि पढ्न पाइयोस् भनेर शुभकामना दिएका थिए । 

भारतमा आयोजना भएको तेस्रो दक्षिण एशियाली खेलकुदमा नेपाललाई फाइनलसम्म पुर्‍याउन योगदान गर्ने स्टार गोलकिपर अजर अधिकारीले पनि नेपाल र जापानबीचको खेल सम्बन्धलाई उजागर गरेर लेखक अर्यालले जापानमा बसोबास गर्ने नेपालीहरुलाई गौरवान्वित तुल्याएकोमा बधाई दिए । 

जापानमा नेपाली समुदायबीच फुटबल गतिविधि सक्रिय तुल्याउन योगदान गरिरहेका शिव खड्काले पनि आफू खेलाडी हुँदा अर्यालले फुटबलमा हुने बेथितिविरुद्ध सशक्त आवाज उठाएको बताउँदै जापानमा पुस्तक पढ्न पाउँदा खुसी लागेको बताए ।

यस्तै, पूर्वमिडफिल्डर बसन्त गौचनले पनि लेखक अर्यालले पुस्तक तयार पार्न धेरै मिहिनेत गरेको भन्दै जापानमा पुस्तक विमोचन गरेकोमा बधाई दिए । जापान–नेपाल मैत्री संघका निर्देशक शरद कुमार गौचनले पनि खेलकुदको माध्यमले देशलाई कसरी जोड्दो रहेछ भन्ने बुझ्न अर्यालको पुस्तक महत्वपूर्ण सावित हुने बताए ।

ताजा खबर

सम्बन्धित खबर