
मलेसिया : नेकपा (एमाले) निकट प्रवासी संगठन प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी मलेसियाको तेस्रो राष्ट्रिय अधिवेशन आगामी अक्टोबर ११ गते क्वालालम्पुरमा हुने भएको छ ।
प्रवासी नेपाली मञ्च मलेसियाका अध्यक्ष दयाराम कुमालको अध्यक्षतामा हालै बसेको भर्चुअल भेलाले तेस्रो राष्ट्रिय अधिवेशन अक्टोबर ११ गते क्वालालम्पुरमा गर्ने निर्णय गरेको हो ।
अधिवेशन क्वालालम्पुरस्थित ग्राण्ड कन्टिनेन्टल होटलमा आयोजना हुने प्रवासी नेपाली मञ्च मलेसियाका सचिव सविन कुमार लोप्चनले जानकारी दिए ।
अधिवेशनले मलेसियामा संगठनलाई थप सुदृढ र सशक्त बनाउँदै प्रवासी नेपालीका हक, अधिकार तथा समस्याका विषयलाई थप प्रभावकारी रूपमा उठान गर्ने उद्देश्य लिएको जनाइएको छ । साथै, प्रवासमा रहेका नेपाली समुदायसँगको समन्वय र संगठनको भूमिका थप प्रभावकारी बनाउने विषयमा पनि अधिवेशनमा छलफल हुने बताइएको छ ।
अध्यक्ष कुमालले तेस्रो राष्ट्रिय अधिवेशनलाई व्यवस्थित, भव्य र सफल बनाउन संगठनका सबै तहका नेता तथा कार्यकर्तालाई आवश्यक तयारीमा जुट्न आग्रह गरेका छन् ।
अधिवेशनबाट संगठनलाई गतिशील बनाउन सक्ने तथा कर्मनिष्ठ, इमानदार र जिम्मेवार राजनीतिक भूमिका निर्वाह गर्न सक्ने नयाँ नेतृत्व चयन हुने अपेक्षा गरिएको छ ।
प्रवासी नेपाली मञ्च मलेसियाले संगठनको आगामी कार्यदिशा तय गर्न अधिवेशनले महत्वपूर्ण भूमिका खेल्ने जनाएको छ ।