२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

कतारमा मधेश प्रदेश समन्वय परिषद्को आयोजनामा दसैं–तिहारको शुभकामना आदानप्रदान कार्यक्रम हुँदै

Nada
तिलु शर्मा पौडेल
२०८३ असोज २८ गते २०:३७
Shares
कतारमा मधेश प्रदेश समन्वय परिषद्को आयोजनामा दसैं–तिहारको शुभकामना आदानप्रदान कार्यक्रम हुँदै

दोहा, कतार : मधेश प्रदेशको कला, संस्कृति र मौलिक पहिचान प्रवर्द्धन गर्दै कतारमा रहेका नेपालीबिच आपसी सद्भाव र एकता अभिवृद्धि गर्ने उद्देश्यले मधेश प्रदेश समन्वय परिषद्, कतारले शुक्रबार शुभकामना आदानप्रदान तथा सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ । बडादसैं, दीपावली तथा छठ पर्वको अवसरमा आयोजना हुने कार्यक्रम प्लाजा मल स्थित लालीगुराँस रेस्टुरेन्टको सभा हलमा दिउँसो १ बजेदेखि सुरु हुनेछ ।

ncell

कार्यक्रममा मधेश प्रदेशअन्तर्गतका जिल्लागत तथा जातीय संघसंस्थाका प्रतिनिधि, सामाजिक अगुवा र कतारमा रहेका नेपाली समुदायका सदस्यहरूको सहभागिता रहने आयोजकले जनाएको छ। परिषद्का अध्यक्ष कलाम हुसेन खानले मध्यान्ह दैनिकलाई दिएको जानकारी अनुसार कार्यक्रममा मधेशका मौलिक भाका, कला, संस्कृति र परम्परामा आधारित विभिन्न सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहनेछन् । पर्वको शुभकामना आदानप्रदानसँगै मधेशको सांस्कृतिक विविधता र त्यसमा निहित एकताको सन्देश प्रवाह गरिने उनले बताए ।

कतारमा रहेका मधेश प्रदेशका विभिन्न जिल्लाका नेपालीलाई साझा मञ्चमा जोड्दै आपसी भाइचारा र सामाजिक सम्बन्ध सुदृढ बनाउने कार्यक्रमको उद्देश्य रहेको परिषद्ले जनाएको छ । परिषद्ले यसअघि पनि रमजान तथा इदजस्ता धार्मिक अवसरमा सामूहिक कार्यक्रम आयोजना गर्दै विभिन्न समुदायबिच सद्भाव र सहकार्य प्रवर्धनका गतिविधि सञ्चालन गर्दै आएको छ ।

मदेशसँग सम्बन्धित सामाजिक सहित विभिन्न संस्थाहरूसँग समन्वय गर्दै आएको परिषद्ले प्रवासमा नेपाली समुदायको एकता र संस्थागत सहकार्यलाई प्राथमिकता दिँदै आएको छ । कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको परिषद्का महासचिव इसिलाल पण्डितले जानकारी दिएका छन् ।

ताजा खबर

सम्बन्धित खबर