
काठमाडौं : सिद्धार्थ बैंकले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको २५औं वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । बैंकका सञ्चालक समितिका अध्यक्ष राहुल अग्रवालको अध्यक्षतामा सम्पन्न सभाले हाल कायम साधारण सेयरतर्फको चुक्ता पुँजी १४ अर्ब ७९ करोड ४४ लाख ७९ हजार १८५ रुपैयाँको १० प्रतिशतका दरले हुने १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९२० रुपैयाँ बराबरको बोनस सेयर जारी गर्ने निर्णय गरेको छ ।
त्यसैगरी, १० प्रतिशतका दरले हुने १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९२० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत सभाबाट पारित भएको छ । नगद लाभांशमा बोनस सेयर तथा नगद लाभांशको कर प्रयोजनका लागि आवश्यक रकमसमेत समावेश छ ।
सभाले अविमोच्य असञ्चिति अग्राधिकार सेयरधनीलाई पनि लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ । बैंकको ३ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजीको ८.२५ प्रतिशतका दरले हुन आउने १० करोड ७५ लाख ८९ हजार ४१ रुपैयाँ नगद लाभांश वितरण गरिनेछ । उक्त लाभांश अग्राधिकार सेयर बाँडफाँट भएको मितिदेखि २०८३ साल आषाढ मसान्तसम्मको १३६ दिनका लागि समानुपातिक रूपमा वितरण गर्ने प्रस्ताव पारित भएको हो ।