
दम्माम, साउदी अरब : रोजगारीका लागि आफ्नो जन्मभूमि छाडेर साउदी अरबमा रहेका नेपालीहरूले परदेशमै नेपाली संस्कृति, परम्परा र चाडपर्वको मौलिकता जोगाउँदै दसैं मनाएका छन् ।
यसैक्रममा इभेन्ट म्यानेजमेन्ट ग्रुप, जुबेलको आयोजनामा साउदी अरबको पूर्वी क्षेत्रमा पर्ने अल सफुवा फार्म हाउस रिसोर्टमा दसैंको शुभकामना आदानप्रदान तथा विजयादशमीको टीका–जमरा ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार आयोजित कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपमहासचिव राजेन्द्र अर्याल र आईसीसी सदस्य रविना अर्यालको हातबाट सहभागी तथा आमन्त्रित व्यक्तिहरूले विजयादशमीको टीका ग्रहण गरेका थिए । कार्यक्रममा साउदी अरबमा सक्रिय विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि, सदस्य तथा सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको ग्रुपका सक्रिय सदस्य तेजु श्रेष्ठले जानकारी दिए ।

परदेशको व्यस्त कार्यतालिका, कामको जिम्मेवारी र पारिवारिक दूरीका बीच पनि नेपाली चाडपर्वलाई सामूहिक रूपमा मनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । स्वदेशमा परिवारसँग बसेर दसैं मनाउन नपाएका नेपालीहरूका लागि यस्ता कार्यक्रमले आफन्तजनको सम्झना, आत्मीयता र नेपालीपनको अनुभूति गराउने सहभागीहरूको विश्वास छ ।
इभेन्ट म्यानेजमेन्ट ग्रुपले विगतदेखि नै वार्षिक रूपमा दसैंको टीका कार्यक्रम आयोजना गर्दै आएको छ । परदेशमा रहेका नेपालीबीच आपसी सद्भाव, एकता र भाइचारा अभिवृद्धि गर्नुका साथै नेपाली कला, संस्कृति र परम्परालाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
यस वर्ष साउदी अरबमा विकसित परिस्थितिका कारण केही उडान स्थगित हुँदा वडा दसैंमा घर फर्कने तयारीमा रहेका नेपाली र उनीहरूका परिवारसमेत प्रभावित भएका छन् । उडान अनिश्चितताका कारण कतिपय नेपालीले स्वदेश फर्केर परिवारसँग दसैं मनाउने योजना स्थगित गर्नुपरेको छ । यस्तो अवस्थामा परदेशमै आयोजना गरिएका सामूहिक टीका तथा शुभकामना आदानप्रदान कार्यक्रमले घरपरिवारबाट टाढा रहेका नेपालीलाई केही हदसम्म आत्मीयता र चाडपर्वको अनुभूति दिलाएको सहभागीहरूले बताएका छन् ।

साउदी अरबको विभिन्न शहरको विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरूले आफ्नो काम र अनुकूलताअनुसार टीकाको दिन वा अन्य उपयुक्त समयमा परिवार, आफन्त तथा साथीभाइसँग टीका–जमरा लगाएर दसैं मनाइरहेका छन् । रोजगारीका कारण घरपरिवारबाट टाढा रहनुपरे पनि सामूहिक भेटघाट र शुभकामना आदानप्रदानले उनीहरूमा चाडपर्वको उत्साह थपेको छ ।
परदेशमा श्रम र पसिनासँगै नेपाली संस्कृति र परम्परालाई समेत जीवन्त राख्दै आएका नेपाली समुदायका यस्ता गतिविधिले विदेशमा नेपाली पहिचान र सामाजिक एकतालाई थप मजबुत बनाउने विश्वास गरिएको छ ।