
दोहा, कतार : लुम्बिनी प्रदेश समन्वय परिषद्, कतार तथा अन्तर्गतका जिल्ला संस्थाहरूको संयुक्त आयोजनामा बडादसैँ, तिहार, छठ पर्व तथा नेपाल सम्वतको अवसरमा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम–२०२६ आयोजना हुने भएको छ। परिषद्का अध्यक्ष सजन लौडारीका अनुसार कार्यक्रम आउँदो शुक्रवार मध्यान्ह १२ बजेदेखि कतारको सनैयास्थित प्लाजा मलमा रहेको मेस क्याफे रेस्टुरेन्टमा आयोजना हुनेछ।
कार्यक्रममा साङ्गीतिक प्रस्तुति दिन नेपाल बाट लोक तथा दोहोरी गायिका सुनिता सुनार कतार आउने भएकी छन् l सुनारसँगै कतारमा रहेका स्थानीय कलाकारले नेपाली लोक तथा दोहोरी गीतसहित विविध सांस्कृतिक प्रस्तुति दिनेछन्। साथै, दसैँ, तिहार, छठ तथा नेपाल संवतका अवसरमा शुभकामना आदानप्रदानसमेत गरिने आयोजकले जनाएको छ।
नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्नुका साथै कतारमा रहेका लुम्बिनी प्रदेशवासी नेपालीबिच आपसी सद्भाव, भाइचारा र एकता अभिवृद्धि गर्ने विश्वास आयोजकले लिएका छन् l विदेशमा रहेर पनि नेपाली मौलिक संस्कृति, चाडपर्व र परम्परालाई जीवन्त राख्दै विभिन्न जिल्ला तथा समुदायबिचको सम्बन्ध सुदृढ बनाउने कार्यक्रमको उद्देश्य रहेको परिषद्ले जनाएको छ।
कार्यक्रममा कतारमा रहेका लुम्बिनी प्रदेशवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई उपस्थितिका लागि आयोजकले अनुरोध गरेको छ।