२०८३ मंसिर १३ गते आइतवार / Nov 29 , 2026 , Sunday
२०८३ मंसिर १३ गते आइतवार

कांग्रेसको केन्द्रीय विवाद कतारमा पनि, जनसम्पर्क समितिमा दुई समानान्तर नेतृत्व

Nada
तिलु शर्मा पौडेल
२०८३ मंसिर १२ गते २०:४८
Shares
कांग्रेसको केन्द्रीय विवाद कतारमा पनि, जनसम्पर्क समितिमा दुई समानान्तर नेतृत्व

दोहा, कतार : नेपाली कांग्रेसभित्र केन्द्रीय नेतृत्व र पार्टीको आधिकारिकतालाई लिएर देखिएको विवादको असर प्रवासमा समेत परेको छ। पार्टीको आन्तरिक राजनीतिक ध्रुवीकरणसँगै कतारस्थित नेपाली जनसम्पर्क समितिमा मोहम्मद अजिज अली र दीप जंग शाह ठकुरीको नेतृत्वमा दुई अलग कार्यसमिति देखिएका छन्।

अली सभापति रहेको पुरानो कार्यसमिति कायम रहेकै अवस्थामा शुक्रबार, २७ नोभेम्बरमा सम्पन्न छैटौँ राष्ट्रिय महाधिवेशनले शाह ठकुरीलाई नयाँ सभापतिमा चयन गरेपछि कतारमा जनसम्पर्क समितिको नेतृत्व विवाद थप सतहमा आएको हो।

नेपाली कांग्रेसको केन्द्रीय राजनीतिमा गगनकुमार थापा र शेरबहादुर देउवा पक्षबीच देखिएको ध्रुवीकरणको प्रभाव कतारमा पनि परेको हो। राजनीतिक वृत्तमा अली नेतृत्वको समिति गगन थापा पक्षनिकट र शाह ठकुरी नेतृत्वको नयाँ समिति देउवा पक्षनिकट रहेको चर्चा छ। नयाँ महाधिवेशनमा देउवा प्रमुख अतिथिका रूपमा सहभागी हुनुले नयाँ नेतृत्वको राजनीतिक निकटताबारे थप चासो बढाएको छ।

शाह ठकुरी यसअघि अली नेतृत्वको कार्यसमितिमा केन्द्रीय सदस्य थिए। एउटै कार्यसमितिमा रहेका नेताहरूबीच नेतृत्व अलग भएपछि कतारमा कांग्रेससम्बद्ध संगठनको राजनीतिक ध्रुवीकरण थप स्पष्ट भएको छ। शाह ठकुरीको नेतृत्वमा सम्पन्न महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्नुका साथै नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कतारबाट महासमिति सदस्य र महाधिवेशन सदस्य गरी १४ जना प्रतिनिधि चयन गरेको छ। नयाँ समितिले प्रवासमा पार्टीको विचार, आदर्श र सिद्धान्तलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

नेपालमा निर्वाचन आयोगले गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गरिसकेको अवस्थामा कतारमा भने पुरानो र नयाँ नेतृत्वबीचको विवाद समाधान भएको देखिँदैन। पार्टीको केन्द्रीय विवाद प्रवाससम्म विस्तार हुँदा कतारस्थित जनसम्पर्क समितिको एकता, प्रतिनिधित्व र आगामी संगठनात्मक दिशाबारे अन्योल बढेको छ।

अब दुवै पक्षबीच सहमति र समन्वयबाट साझा नेतृत्व स्थापित हुन्छ वा समानान्तर संगठनात्मक गतिविधिले निरन्तरता पाउँछ भन्ने विषय चासोको केन्द्रमा रहेको छ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर