२०८३ मंसिर ९ गते बुधवार / Nov 25 , 2026 , Wednesday
२०८३ मंसिर ९ गते बुधवार

पिएनओ परिचयपत्रको माग संसद्‍मा उठाउने संसदीय सुनुवाइ समितिका सभापति श्रेष्ठको प्रतिबद्धता

पिएनओ संयोजक कुमार कार्कीद्वारा परिचयपत्रको माग

Nada
२०८३ मंसिर ९ गते ११:५२
Shares
पिएनओ परिचयपत्रको माग संसद्‍मा उठाउने संसदीय सुनुवाइ समितिका सभापति श्रेष्ठको प्रतिबद्धता

थाइल्याण्ड : विदेशमा बसोबास गर्ने नेपाली मूलका व्यक्तिहरू (पिएनओ) लाई नेपालसँग औपचारिक रूपमा जोड्न पिएनओ परिचयपत्रको व्यवस्था गर्नुपर्ने माग संसद्मा उठाउने नेपाल सरकारको संसदीय सुनुवाइ समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बोधनारायण श्रेष्ठले प्रतिबद्धता जनाएका छन् ।

थाइल्याण्डमा बसोबास गर्ने नेपाली मूलका व्यक्ति (पिएनओ) तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रतिनिधिहरूसँग थाइल्यान्डमा भएको विशेष भेटघाटका क्रममा श्रेष्ठले पिएनओ परिचयपत्रलगायत नेपाली मूलका व्यक्तिहरूले भोग्दै आएका समस्याबारे आफूले संसद्‍मा कुरा उठाउने र सरकारलाई समेत जानकारी गराउने बताएका हुन् ।

भेटमा एनआरएनए पिएनओ संयोजक कुमार कार्की, एनआरएनए थाइल्याण्डका पूर्वअध्यक्ष एवं एसिया क्षेत्रका डिआरसी भविन्द्र बस्नेत, एनआरएनए थाइल्याण्डका निवर्तमान अध्यक्ष सञ्जय ढकाललगायत सहभागी थिए ।

पिएनओ संयोजक कार्कीले विदेशमा रहेका नेपाली मूलका व्यक्तिहरूलाई मातृभूमिसँग जोड्ने सबैभन्दा महत्वपूर्ण आधारका रूपमा पिएनओ परिचयपत्रको व्यवस्था गर्नुपर्ने माग राख्दै सभापति श्रेष्ठलाई अनुरोधपत्र हस्तान्तरण गरे । कार्कीले आफूहरूले वर्षौंदेखि एउटै माग उठाउँदै आए पनि त्यसको ठोस सम्बोधन हुन नसकेको भन्दै अब सरकारले यस विषयलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने आग्रह गरे ।

कार्कीले नेपाली मूलका व्यक्तिहरू नेपालसँग जोडिन चाहँदाचाहँदै पनि स्पष्ट पहिचान र अधिकारसम्बन्धी व्यवस्थाको अभावमा विभिन्न समस्या भोग्नुपरेको बताए । पिएनओ परिचयपत्र जारी भएमा विदेशमा रहेका नेपाली मूलका व्यक्तिहरूको पहिचान स्थापित हुनुका साथै उनीहरूलाई नेपालसँग जोड्ने संस्थागत आधार तयार हुने उनको भनाइ थियो ।

उनले पिएनओलाई नेपालमा आवतजावत, अध्ययन, लगानी तथा अन्य गतिविधिमा सहज हुने गरी स्पष्ट र व्यवहारिक व्यवस्था गर्नुपर्ने मागसमेत राखे । विशेषगरी नेपालमा अध्ययन गर्न चाहने तथा अध्ययनरत नेपाली मूलका विद्यार्थी र उनीहरूका अभिभावकले भोग्दै आएका भिसासम्बन्धी समस्या तत्काल समाधान गर्नुपर्नेमा उनले जोड दिए ।

एनआरएनए एसिया क्षेत्रका डीआरसी भविन्द्र बस्नेतले पिएनओ माथि राज्यले अन्याय गरिरहेको भन्दै अब सरकारले उनीहरूको पहिचान र अधिकारलाई सम्बोधन गर्नुपर्ने बताए । विश्वका विभिन्न मुलुकले आफ्ना डायस्पोरालाई विशेष पहिचान र सुविधा दिइरहेको अवस्थामा नेपाली मूलका व्यक्तिका लागि पनि नेपालले स्पष्ट र सम्मानजनक व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो ।

त्यस्तै, एनआरएनए थाइल्याण्डका निवर्तमान अध्यक्ष सञ्जय ढकालले पिएनओका समस्या तत्काल समाधान गर्नुपर्ने बताए । नेपाली मूलका व्यक्तिलाई नेपाल आउने सहज वातावरण बनाउन सके त्यसले देशको पर्यटनसँगै अर्थतन्त्रमा समेत सकारात्मक योगदान पुर्‍याउने उनले बताए । नेपाल जान चाहने नेपाली मूलका व्यक्तिले भिसा तथा अन्य प्रक्रियामा अनावश्यक झन्झट बेहोर्नुपर्ने अवस्था अन्त्य गर्नुपर्ने उनको भनाइ थियो ।

भेटका क्रममा प्रतिनिधिहरूले पिएनओ परिचयपत्रसँगै नेपाल आवतजावतमा सहजता, भिसा नीतिको पुनरावलोकन, विद्यार्थी तथा अभिभावकका समस्या समाधान र नेपाली मूलका व्यक्तिलाई नेपालसँग जोड्ने दीर्घकालीन नीतिको आवश्यकताबारे सभापति श्रेष्ठको ध्यानाकर्षण गराएका थिए ।

सभापति श्रेष्ठले पिएनओ परिचयपत्रको मागलाई आफूले गम्भीरतापूर्वक लिएको बताउँदै यस विषयमा संसद्मा आवाज उठाउने, सरकारलाई जानकारी गराउने र सम्बन्धित निकायसँग समन्वय गरी समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले विदेशमा रहेका नेपाली मूलका व्यक्तिहरू नेपालका महत्वपूर्ण सम्पत्ति भएको उल्लेख गर्दै उनीहरूको पहिचान सुनिश्चित गर्नुका साथै नेपालसँगको सम्बन्धलाई थप मजबुत बनाउने गरी राज्यले नीति बनाउनुपर्ने बताए ।

भेटघाटमा सहभागी पिएनओ तथा एनआरएनए प्रतिनिधिहरूले वर्षौंदेखि उठाउँदै आएको पिएनओ परिचयपत्रको माग अब आश्वासनमा सीमित नभई व्यवहारमै कार्यान्वयन हुनुपर्ने बताए । पिएनओ परिचयपत्र जारी भएमा विदेशमा रहेका नेपाली मूलका व्यक्तिहरूलाई नेपालसँग जोड्ने स्थायी र संस्थागत आधार बन्ने उनीहरूको विश्वास छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर