
दोहा, कतार : साउदी अरबमा बसोबास, श्रम तथा सीमा सुरक्षा सम्बन्धी कानुन उल्लंघन गरेको आरोपमा एक साताको अवधिमा ९ हजार १६९ जना पक्राउ परेका छन् । साउदी अरबको गृह मन्त्रालयका अनुसार नोभेम्बर १९ देखि २५ सम्म देशभर सञ्चालन गरिएको संयुक्त सुरक्षा तथा निरीक्षण अभियानका क्रममा उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा आवासीय कानुन उल्लंघन गर्ने ४ हजार ७९७ जना, सीमा सुरक्षा कानुन उल्लंघन गर्ने २ हजार ६२३ जना र श्रम कानुन उल्लंघन गर्ने १ हजार ७४९ जना रहेका छन् । त्यस्तै, अवैध रूपमा साउदी अरब प्रवेश गर्न खोज्ने १ हजार ३७३ जना र अवैध रूपमा सीमा पार गरी बाहिरिन खोज्ने २१ जना पनि पक्राउ परेका छन् । कानुन उल्लंघन गर्ने व्यक्तिलाई ओसारपसार, आश्रय, रोजगारी तथा लुकाउन सहयोग गरेको आरोपमा थप २३ जना पक्राउ परेका छन् ।
पक्राउ परेकामध्ये कुन देशका नागरिक कति छन् भन्ने विवरण साउदी अधिकारीहरूले सार्वजनिक गरेका छैनन् । त्यसैले पक्राउ पर्नेमा नेपाली नागरिकको संख्या कति छ भन्ने यकिन हुन सकेको छैन । नेपाली नागरिक पनि साउदी अरबमा ठूलो संख्यामा कार्यरत रहेकाले यो अभियानले त्यहाँ रहेका नेपाली श्रमिक पनि पर्न सक्ने संभावना रहेको छ l
साउदी गृह मन्त्रालयका अनुसार हाल ३८ हजार ४८३ जना विदेशी नागरिकमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ । तीमध्ये ३६ हजार ३७८ पुरुष र २ हजार १०५ महिला रहेका छन् । उनीहरूमध्ये २४ हजार २२ जनालाई यात्रा कागजात प्राप्त गर्न सम्बन्धित कूटनीतिक नियोगमा पठाइएको, ८ हजार ८४० जनालाई हवाई टिकट तथा यात्रा प्रक्रिया पूरा गर्न पठाइएको र १३ हजार ९३५ जनालाई देश निकाला गरिएको छ ।
साउदी गृह मन्त्रालयले गैरकानुनी रूपमा प्रवेश गर्ने व्यक्तिलाई सहयोग गर्ने, ओसारपसार गर्ने, आश्रय दिने वा अन्य कुनै प्रकारको सेवा उपलब्ध गराउनेलाई १५ वर्षसम्म कैद र १० लाख साउदी रियालसम्म जरिवाना हुन सक्ने चेतावनी दिएको छ । त्यस्ता कार्यमा प्रयोग भएका सवारीसाधन तथा आश्रयका लागि प्रयोग गरिएका घरसमेत जफत गर्न सकिने मन्त्रालयले जनाएको छ ।
साउदी अरबमा कार्यरत नेपाली श्रमिकले आफ्नो आवासीय अनुमति (इकामा) को म्याद, रोजगारदाता तथा कार्यस्थलसम्बन्धी कानुनी अवस्था र श्रम स्वीकृतिको वैधतामा ध्यान दिन आवश्यक देखिन्छ । त्यस्तै, गैरकानुनी रूपमा बसोबास गर्ने व्यक्तिलाई लुकाउने, काममा लगाउने वा ओसारपसारमा सहयोग गर्ने गतिविधिबाट समेत टाढा रहनुपर्ने हुन्छ ।
कानुन उल्लंघनसम्बन्धी सूचना दिन मक्का, मदिना, रियाद र पूर्वी क्षेत्रमा ९११ तथा अन्य क्षेत्रमा ९९९ र ९९६ नम्बरमा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ । सूचना दिने व्यक्तिको विवरण गोप्य राखिने पनि मन्त्रालयले जनाएको छ ।