
बर्दिया : बर्दियाको गुलरियामा इभी गाडीले रोकिराखेको अटो र ठेलालाई ठक्कर दिँदा चार जना घाइते भएका छन् ।
आइतबार साँझ ७ः१५ बजे नेपालगञ्जबाट गुलरिया आउँदै गरेको भे १ ज १९३३ नम्बरको इभी गाडीले गुलरिया नगरपालिका–६ स्थित जिल्ला प्रहरी कार्यालय बर्दियाअगाडि रोकिराखेको अटो र ठेलालाई ठक्कर दिएको हो ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार दुर्घटनामा अटो चालकसहित चार जना घाइते भएका छन् ।
घाइते हुनेमा गुलरिया नगरपालिका–११ लालपुरका ४० वर्षीय अटो चालक महेश यादव, गुलरिया नगरपालिका–६ का ३६ वर्षीय रामादल सोनी, सोही स्थानका ४१ वर्षीय पैदलयात्री रामछविले निषाद र इभी गाडीमा सवार मधुवन नगरपालिका–७ का १० महिने बालक रहेका छन् ।
दुर्घटनामा घाइते भएका तीन जनालाई बर्दिया अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ । इभी गाडीमा सवार बालकको सामान्य उपचारपछि घर पठाइएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनापछि इभी गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।