
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले संयुक्त अरब इमिरेट्स (युएई)को राष्ट्रिय क्रिकेट टोलीको ब्याटिङ प्रशिक्षकको जिम्मेवारी पाएका छन् । नेपालमै आयोजना हुने आइसिसी क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगितालाई लक्षित गर्दै युएई क्रिकेट बोर्डले मल्ललाई आफ्नो प्रशिक्षक समूहमा समावेश गरेको हो ।
युएई क्रिकेट बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी कर्मचारीको नाम पनि सार्वजनिक गरेको छ । जसमा मुख्य प्रशिक्षकको जिम्मेवारी अहमद रजाले पाएका छन् भने मल्ललाई ब्याटिङ प्रशिक्षक नियुक्त गरिएको छ । त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन् ।
नेपाली क्रिकेटमा लामो अनुभव बटुलेका मल्लले राष्ट्रिय टोलीको कप्तानीसमेत गरिसकेका छन् । सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएपछि उनी प्रशिक्षण क्षेत्रमा सक्रिय छन् । पछिल्लो समय उनी नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टोली कर्णाली याक्सको प्रशिक्षकका रूपमा समेत कार्यरत छन् ।
नेपालमा आगामी डिसेम्बर ४ देखि २१ सम्म सञ्चालन हुने छनोट प्लेअफमा युएईले सात खेल खेल्नेछ । प्रतियोगितामा युएईले डिसेम्बर ५ मा जर्सीसँग प्रतिस्पर्धा गर्दै आफ्नो अभियान सुरु गर्नेछ । त्यसपछि डिसेम्बर ७ मा क्यानडा, १० मा आयोजक नेपाल, १३ मा इटाली, १५ मा कुवेत, १८ मा युगान्डा र २० डिसेम्बरमा नामिबियासँग खेल्ने तालिका छ ।
प्रतियोगिताको तयारीस्वरूप युएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ । युएईको टोलीमा वृत्या अरविन्द र जुनैद सिद्दिकीले पुनरागमन गरेका छन् । टोलीको कप्तानी भने राहुल चोपडाले गर्नेछन् ।
प्रतियोगितामा सहभागी टोलीमध्ये शीर्ष चार स्थान हासिल गर्ने टोलीले आगामी वर्ष आयोजना हुने आइसिसी पुरुष एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगितामा स्थान सुरक्षित गर्नेछन् । त्यसैले युएईका लागि यो प्रतियोगिता विश्वकप यात्राको महत्वपूर्ण अवसरका रूपमा रहेको छ । मल्लको ब्याटिङ प्रशिक्षणले टोलीको प्रदर्शनमा कस्तो प्रभाव पार्छ भन्ने चासो पनि रहनेछ ।