२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

साउदीमा साइट इन्जिनियरबाट अपरेसन डाइरेक्टर बने भूपाल भण्डारी

Nada
अन्जान गुभाजु
२०८३ असोज २ गते १४:५३
Shares
साउदीमा साइट इन्जिनियरबाट अपरेसन डाइरेक्टर बने भूपाल भण्डारी

साउदी अरेबिया : वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरेबिया पुगेका नेपाली नागरिक भूपाल भण्डारीले साइट इन्जिनियरबाट आफ्नो व्यावसायिक यात्रा सुरु गर्दै आफू कार्यरत कम्पनीको अपरेसन डाइरेक्टर पदसम्मको जिम्मेवारी सम्हाल्न सफल भएका छन् ।

ncell

झापा बिर्तामोड निवासी भण्डारी सन् २००९ मा तासावे जेनेरल कन्ट्र्याक्टिङ कम्पनीमा साइट इन्जिनियरका रूपमा साउदी अरेबिया पुगेका थिए । कम्पनीमा विभिन्न जिम्मेवारी सम्हाल्दै अघि बढेका उनी हाल प्रमुख कार्यकारी अधिकृत (सिइओ) पछिको महत्वपूर्ण व्यवस्थापकीय जिम्मेवारीका रूपमा रहेको अपरेसन डाइरेक्टर पदमा पुगेका हुन् ।

साउदीको मरुभूमि क्षेत्रमा नयाँ शहर तथा पूर्वाधार विकासका विभिन्न परियोजनामा काम गर्दै आएको कम्पनीमा नेपाली नागरिक उच्च व्यवस्थापकीय तहमा पुग्नु भण्डारीको निरन्तर मेहनत, व्यावसायिक दक्षता, नेतृत्व क्षमता र जिम्मेवारीप्रतिको प्रतिबद्धताको परिणामका रूपमा हेरिएको छ । कम्पनी व्यवस्थापनले उनीप्रति देखाएको विश्वासले पनि उनको व्यावसायिक यात्रालाई थप उचाइ दिएको छ ।

साउदी अरेबियामा नेपाली समुदायका गतिविधि तथा समसामयिक राजनीतिक विषयमा समेत सक्रिय भण्डारी सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रवास समितिअन्तर्गत प्रवासी नेपाली सम्पर्क विभाग, साउदी अरेबियाका अध्यक्ष हुन् । व्यावसायिक क्षेत्रसँगै प्रवासी नेपाली समुदाय र राजनीतिक गतिविधिमा समेत उनको सक्रियता रहँदै आएको छ ।

आफ्नो सफलताबारे भण्डारीले वैदेशिक रोजगारीका लागि साउदी अरेबिया आउँदा व्यावसायिक करियरमा यस्तो उचाइ हासिल गर्ने कल्पना नगरेको बताए । “नेपालबाट वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब आउँदा एक दिन प्रोफेसनल करियरको यो उचाइमा पुग्छु भन्ने कल्पना गरेको थिइनँ । तर निरन्तर मेहनत, दृढ संकल्प र नेतृत्वप्रतिको प्रतिबद्धताले आज अपरेसन डाइरेक्टरको जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त भएको छ,” उनले भने ।

भण्डारीले आफ्नो नयाँ जिम्मेवारीलाई व्यक्तिगत उपलब्धिभन्दा पनि विश्वास, अवसर र ठुलो उत्तरदायित्वका रूपमा लिएको बताएका छन् । नयाँ पदसँगै थप चुनौती र जिम्मेवारी बढेको उल्लेख गर्दै उनले परिणाममुखी काम, समर्पण र जवाफदेहितालाई प्राथमिकतामा राखेर अघि बढ्ने बताए ।

आफ्नो व्यावसायिक यात्रामा साथ, हौसला, प्रेरणा र विश्वास प्रदान गर्ने परिवार, इष्टमित्र, गुरुजन, साथी–संगी तथा सहकर्मीहरूप्रति उनले आभार व्यक्त गरेका छन् ।

साउदी अरेबियालगायत खाडी मुलुकमा नेपालीहरू विभिन्न क्षेत्रमा कार्यरत रहे पनि उच्च व्यवस्थापकीय तहमा पुग्ने नेपालीको संख्या सीमित रहेको अवस्थामा भण्डारीको व्यावसायिक प्रगतिलाई प्रवासी नेपाली समुदायका लागि प्रेरणादायी उदाहरणका रूपमा लिन सकिन्छ । प्राविधिक तथा व्यावसायिक शिक्षामा नेपाली युवाको पहुँच विस्तार गर्न सके विश्वका विभिन्न मुलुकमा नेपालीले दक्ष जनशक्तिका रूपमा थप उच्च जिम्मेवारी प्राप्त गर्न सक्ने उनको विश्वास छ ।

नयाँ जिम्मेवारीसँगै नयाँ ऊर्जा, नयाँ लक्ष्य र अझ ठुलो प्रतिबद्धताका साथ व्यावसायिक यात्रालाई अघि बढाउने भण्डारीले बताएका छन् ।

ताजा खबर

सम्बन्धित खबर