
महेन्द्रनगर : सुदूरपश्चिम प्रदेश सरकार र सुदूरपश्चिम विश्वविद्यालयबीच शैक्षिक उन्नयन तथा समग्र शैक्षिक विकासका लागि प्रभावकारी समन्वय र सहकार्य गरिने भएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्ट र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा किसनदत्त भट्टबीच प्रदेश सरकार र सुदूरपश्चिम विश्वविद्यालयबीच शैक्षिक तथा प्रशासनिक क्षेत्रमा सहकार्य र समन्वय अभिवृद्धि गर्ने विषयमा आज छलफल भएको हो ।
भेटघाटका क्रममा प्रदेश सरकार र विश्वविद्यालयबीच आपसी सहकार्य, समन्वय तथा सहयोगका विविध विषयमा छलफल भएको सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयका सूचना अधिकारी नविन बमले जानकारी दिए ।
सुदूरपश्चिम प्रदेशको शैक्षिक विकासमा विश्वविद्यालयको भूमिकालाई थप प्रभावकारी बनाउने, प्रदेश सरकार र विश्वविद्यालयबीच शैक्षिक, प्रशासनिक तथा संस्थागत सहयोग आदानप्रदान गर्ने तथा प्रदेशको समग्र विकासमा विश्वविद्यालयको ज्ञान, जनशक्ति र अनुसन्धान क्षमतालाई उपयोग गर्ने विषयमा छलफल भएको सूचना अधिकारी बमले बताए ।
“प्रदेश सरकार र विश्वविद्यालयबीच विद्यमान सम्बन्धलाई थप सुदृढ गर्दै शिक्षा, अनुसन्धान, मानव संसाधन विकास तथा अन्य साझा क्षेत्रमा सहकार्यका सम्भावनालाई विस्तार गरिनेछ”, उनले भने ।
सो अवसरमा मुख्यमन्त्री भट्ट, भौतिक पूर्वाधार विकासमन्त्री ओमविक्रम भाट तथा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा भट्ट र रजिष्ट्रार प्रा डा तारादत्त भट्ट सहभागी थिए ।