२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

मोबाइल पार्ट्ससहित ८० लाखका सामग्री बरामद

Nada
विनोद निगम
२०८३ असोज ३ गते २१:०७
Shares
मोबाइल पार्ट्ससहित ८० लाखका सामग्री बरामद

नवलपरासी : पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ स्थित एस मोडको जंगलबाट सशस्त्र प्रहरीले ८० लाख रुपैयाँभन्दा बढी मूल्यका मोबाइल पार्ट्स तथा विभिन्न इलेक्ट्रोनिक सामग्री बरामद गरेको छ ।

ncell

सशस्त्र प्रहरी बल, नेपाल नं. २६ गण हेडक्वार्टरका अनुसार विशेष सूचनाका आधारमा परिचालित टोलीले शुक्रबार राति जंगलको झाडीमा लुकाइछिपाइ राखिएको अवस्थामा ती सामग्री बरामद गरेको हो । 

सुरक्षा बेस सेमरीबाट सशस्त्र प्रहरी निरीक्षक जगन्नाथ पौडेलको कमाण्डमा १३ जना सशस्त्र प्रहरी कर्मचारीसहितको गाडी मोबाइल टोली एस मोड क्षेत्रमा परिचालन गरिएको थियो । टोलीले जंगल क्षेत्रमा खोजतलास गर्ने क्रममा झाडीमा लुकाइराखिएको अवस्थामा विभिन्न किसिमका मोबाइल पार्ट्स तथा इलेक्ट्रोनिक सामग्री फेला पारेको जनाएको छ ।

बरामद सामग्रीमा मोबाइलका विभिन्न पार्ट्स, मोबाइल ब्याट्री, टेम्पर्ड ग्लास, एयरबड, स्मार्टवाच, स्पिकरलगायत रहेका छन्। सशस्त्र प्रहरीका अनुसार बरामद सामग्रीको प्रारम्भिक मूल्यांकन करिब रु. ८० लाख ३० हजार २ सय रहेको छ ।

ठूलो परिमाणमा सामग्री फेला परेपछि सशस्त्र प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाएको थियो । बरामद सामग्रीको मूल्य कायम गरी शनिबार महेशपुर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं.२६ गणका सूचना अधिकारी तथा सशस्त्र प्रहरी नायब उपरीक्षक मनोज गुरुङले जानकारी दिए ।

जंगलको झाडीमा लुकाइछिपाइ राखिएको अवस्थामा यति ठूलो मूल्यको मोबाइल पार्ट्स तथा इलेक्ट्रोनिक सामग्री बरामद हुनुले सीमा तथा राजमार्ग आसपासबाट हुने अवैध ओसारपसार नियन्त्रणमा सुरक्षा निकायले निगरानी बढाएको संकेत गरेको छ । सशस्त्र प्रहरीले सीमा क्षेत्र, राजमार्ग तथा सम्भावित ओसारपसार मार्गमा गस्ती र निगरानीलाई निरन्तरता दिइरहेको जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर