
काठमाडौं : सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले मधेशलाई जात, धर्म, भूगोल वा राजनीतिको नाममा विभाजित गरी द्वन्द्वको मैदान बनाउन नहुने बताएका छन् ।
आइतबार जनकपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले देशको अबको राजनीति समाज जोड्ने, एकता कायम गर्ने र आर्थिक समृद्धितर्फ केन्द्रित हुनुपर्ने बताएका हुन् । सिंहले मधेश र कोशी प्रदेशलाई ‘ब्याटल ग्राउण्ड’ बनाउन देशभित्र र बाहिरका विभिन्न शक्तिहरू सक्रिय रहेको दाबी गर्दै त्यसबाट मुलुकलाई जोगाउनुपर्ने बताए ।
सिंहले छठ पर्वको पारणका दिन जनकपुरस्थित गंगासागरमा अर्घ दिएर जानकी मन्दिरको दर्शन गर्ने र त्यसपछि झापाको भद्रपुरबाट मेची–महाकाली पदयात्रा शुरु गर्ने घोषणा गरे । उनकाअनुसार उक्त यात्रा गाडी वा रथमा नभई पैदल हुनेछ । पदयात्राको मुख्य उद्देश्य जनतासँग प्रत्यक्ष संवाद गर्नु र उनीहरूका समस्या सुन्नु रहेको उनले बताए ।
उनले भने, ‘राजनीति भनेको समाज जोड्नका लागि हो । जात, धर्म, वर्ग र भूगोलका नाममा लडेर हामी कहीँ पनि पुग्न सक्दैनौं ।’
सिंहले पदयात्राका क्रममा आफूले कम बोल्ने र जनताको कुरा बढी सुन्ने बताए । गाउँ-गाउँ र टोल-टोल पुगेर लामो समय पैदल हिँड्ने तथा स्थानीयसँग प्रत्यक्ष छलफल गर्ने उनको भनाइ छ । उनले मञ्च बनाएर भाषण गर्नेभन्दा २०० देखि ४०० जनाको समूहमा स्थानीयका समस्या सुन्ने योजना रहेको बताए ।
पदयात्राका क्रममा युवाको विदेश पलायन, वैदेशिक रोजगारी, किसान तथा मजदुरका समस्या, व्यापारीका समस्या र मधेसको अर्थतन्त्र चलायमान हुन नसक्नुका कारणबारे जनतासँग छलफल गर्ने सिंहले बताए । सीमावर्ती क्षेत्रका नागरिकले भोगिरहेका समस्या पनि यात्राका क्रममा उठाउने उनको भनाइ छ । सीमापार व्यापार, पारिवारिक तथा सामाजिक सम्बन्ध र सुरक्षाकर्मीबाट सीमावर्ती नागरिकले भोग्नुपरेका समस्याबारे समेत प्रत्यक्ष जानकारी लिने उनले बताए ।