२०८३ कार्तिक १२ गते बिहिवार / Oct 29 , 2026 , Thursday
२०८३ कार्तिक १२ गते बिहिवार

डा. गोविन्द केसीले सुरु गरे २५औँ सत्याग्रह, यस्ता छन् पाँच माग

Nada
२०८३ कार्तिक १२ गते १८:५०
Shares
डा. गोविन्द केसीले सुरु गरे २५औँ सत्याग्रह, यस्ता छन् पाँच माग

काठमाडौँ : चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीले पुनः सत्याग्रह सुरु गरेका छन् । उनले बिहीबार इलाममा पत्रकार सम्मेलन गर्दै २५औँ सत्याग्रह सुरु गरेका हुन् ।

सरकारसँग विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै केसीले सत्याग्रह सुरु गरेका हुन् । यसअघि उनले धनगढीमा २४औँ सत्याग्रह गरेका थिए ।

केसीले चिकित्सा शिक्षा क्षेत्रमा सुधार, सुशासन र सामाजिक न्याय सुनिश्चित गर्न विभिन्न पाँच माग अघि सारेका छन् ।

उनका प्रमुख मागमा न्यूनतम पूर्वाधार र जनशक्तिबिना गेटामा एमबीबीएस तथा नर्सिङ कार्यक्रम सञ्चालन गर्न दिने र मापदण्डविपरीत कलेजमा सिट वृद्धि गर्ने निर्णय खारेज गर्नुपर्ने रहेका छन् ।

त्यस्तै, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष तथा विश्वविद्यालयका पदाधिकारीको नियुक्ति र निर्णयबारे निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग उनले गरेका छन् ।

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने, आवश्यक मापदण्ड पूरा भएपछि मात्र शैक्षिक कार्यक्रम सुरु गर्नुपर्ने र विश्वविद्यालयसम्बन्धी विवादित प्रावधान परिमार्जन गर्नुपर्ने उनको माग छ ।

त्यसैगरी, सार्वजनिक तथा सरकारी स्रोत प्रयोग हुने संस्थामा ७५ प्रतिशत छात्रवृत्ति अनिवार्य लागू गर्नुपर्ने र निजी कलेजको स्वार्थमा छात्रवृत्ति कटौती तथा मापदण्डविपरीत सिट वृद्धि गर्ने प्रयास रोक्नुपर्ने उनले बताएका छन् ।

केसीले सरकारसँग स्वास्थ्य तथा शिक्षा क्षेत्रको सुधार, सुशासन र सामाजिक न्यायलगायत विषयमा भएका सहमति कार्यान्वयन गर्न पनि माग गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर