२०८३ कार्तिक १२ गते बिहिवार / Oct 29 , 2026 , Thursday
२०८३ कार्तिक १२ गते बिहिवार

चाडपर्वले चलायमान बन्दै अर्थतन्त्र, बजारमा बढ्यो किनमेल

Nada
२०८३ कार्तिक १२ गते १८:२१
Shares
चाडपर्वले चलायमान बन्दै अर्थतन्त्र, बजारमा बढ्यो किनमेल

धनुषा : दसैं सकिएलगत्तै दीपावली, तिहार र छठ पर्व नजिकिएपछि मधेश प्रदेशसहित मुलुकभरका बजारमा किनमेल गर्ने उपभोक्ताको चहलपहल बढेको छ । 

चाडपर्व लक्षित व्यापारिक गतिविधि विस्तार भएसँगै दैनिक उपभोग्य वस्तुदेखि लत्ताकपडा, गरगहना, विद्युतीय उपकरण र सवारीसाधनसम्मको कारोबार बढ्नुका साथै सुस्त बनेको बजार चलायमान बनेका छन् । यसले होटल, रेस्टुरेन्ट, यातायात र पर्यटन क्षेत्रको आर्थिक गतिविधिमा पनि सकारात्मक प्रभाव पारेको छ ।

मधेश प्रदेशको राजधानी जनकपुरधामसहित देशका प्रमुख सहरका बजारमा चाडपर्वका लागि आवश्यक सामग्री खरिद गर्ने उपभोक्ताको उपस्थिति बाक्लिएको छ । 

जनकपुरधामका शिवचोक, रामचोक, मुरलीचोक, जानकी चोकलगायत व्यापारिक क्षेत्रमा बिहानदेखि साँझसम्म किनमेल गर्नेको भीड देखिन्छ । चाडपर्वमा नयाँ लुगा लगाउने, घर सजाउने, मिठाई तथा अन्य परिकार बनाउने र आफन्तलाई उपहार दिने परम्पराका कारण बजारमा विभिन्न वस्तुको माग बढेको व्यवसायी बताउँछन् ।

उपभोक्तालाई आकर्षित गर्न व्यापारीले मूल्यमा छुट, उपहार तथा विशेष प्याकेज सार्वजनिक गरेका छन् । विशेषगरी लत्ताकपडा, जुत्ता, इलेक्ट्रोनिक्स, फर्निचर र घरायसी सामग्रीका पसलमा चाडपर्व लक्षित योजना सञ्चालन भइरहेका छन् । नेपाली समाजमा चाडपर्व केवल धार्मिक तथा सांस्कृतिक महत्वमा सीमित नभई पारिवारिक भेटघाट, सामाजिक सम्बन्धको नवीकरण र आर्थिक कारोबार विस्तारको अवसर पनि बन्ने गरेका छन् । 

जनकपुरधाममा लामो समयदेखि अर्थशास्त्र अध्यापन गराउँदै आउनुभएका सञ्जय साहका अनुसार चाडपर्वका बेला घरपरिवारको खर्च बढ्ने र व्यवसायीले पनि ग्राहक आकर्षित गर्न विभिन्न छुटका योजना ल्याउने भएकाले बजारमा वस्तु तथा सेवाको माग बढ्छ ।

उनले चाडपर्वमा हुने खर्चले उत्पादन, वितरण र बिक्रीको प्रक्रियालाई सक्रिय बनाउने बताए। उनका अनुसार चाडपर्वमा उपभोक्ताले सामान्य समयको तुलनामा बढी खर्च गर्ने भएकाले व्यापारिक कारोबारमा वृद्धि हुन्छ । यसको प्रभाव वस्तुको आपूर्ति, उपभोक्ताको क्रयशक्ति र बजारमा उपलब्ध मूल्यमा पनि निर्भर रहने उनको भनाइ छ ।

जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारीले चाडपर्वमा हुने कारोबारले वर्षभरिको व्यापारिक चक्रमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए। उनका अनुसार चाडपर्वमा उपभोक्ताले दैनिक आवश्यकताका वस्तुका साथै लामो समयसम्म प्रयोग हुने टिकाउ सामग्री खरिद गर्ने प्रवृत्ति बढेको छ ।

फर्निचर, विद्युतीय उपकरण तथा अन्य घरायसी सामग्री खरिद गर्न उपभोक्ताले चाडपर्वमा उपलब्ध हुने छुट र सहुलियतको प्रतीक्षा गर्ने गरेका छन् । यसका कारण चाडपर्वको समयमा यस्ता वस्तुको बिक्री बढ्ने गरेको उनले बताए ।

नेपाल उद्योग परिसङ्घ मधेश प्रदेशका अध्यक्ष सिए प्रमोद साहले दसैं, तिहार र छठका बेला आम्दानी तथा खर्च दुवै बढ्ने भएकाले आर्थिक गतिविधिले गति लिने बताए । उनका अनुसार सरकारी तथा निजी क्षेत्रका कर्मचारीले पाउने तलब, चाडपर्व खर्च र अन्य आम्दानीले बजारमा नगद प्रवाह बढाउँछ । त्यस्तै, सर्वसाधारणले वर्षभरि बचत गरेको रकम चाडपर्वमा खर्च गर्ने भएकाले उपभोग्य वस्तु तथा सेवाको माग विस्तार हुन्छ ।

चाडपर्वमा हुने खर्चले बजारमा कारोबार बढाए पनि त्यसबाट अर्थतन्त्रमा दीर्घकालीन लाभ लिन उत्पादन, रोजगारी र स्थानीय व्यवसायसँगको सम्बन्ध बलियो बनाउनुपर्ने उनको भनाइ छ ।

नेपाल चेम्बर अफ कमर्स मधेश प्रदेशका अध्यक्ष विजयकुमार साहले चाडपर्वको समयमा दैनिक उपभोग्य वस्तुको माग बढ्ने र व्यापारिक गतिविधि विस्तार हुने बताए । 

‘दसैंमा सरकारी तथा निजी क्षेत्रमा काम गर्नेले तलबका अतिरिक्त चाडपर्व खर्च पाउँछन् । उनीहरूले गर्ने खर्चले बजारमा किनमेल बढाउँछ’, उनले भने ।

चाडपर्वका बेला बजारमा हुने कारोबारले आर्थिक गतिविधिलाई सक्रिय बनाउन सहयोग पुग्ने उनको भनाइ छ । उनका अनुसार चाडपर्वमा उपभोक्ताको माग बढ्दा व्यापारी, ढुवानी व्यवसायी, श्रमिक र विभिन्न सेवा प्रदायकले पनि काम पाउने अवसर बढ्छ ।

ग्रामीण बजारदेखि सहरी व्यापारसम्म प्रभाव

मधेश प्रदेशका आठ वटै जिल्लाका बजारमा चाडपर्वको चहलपहल बढ्नुका साथै सहरी क्षेत्रका ठूला व्यापारिक केन्द्रदेखि ग्रामीण बजारसम्म लत्ताकपडा, खाद्यान्न, मिठाई, पूजासामग्री र घरायसी वस्तुको बिक्री बढेको व्यवसायी बताउँछन् ।

क्षीरेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेश यादवका अनुसार दसैंअघि र चाडपर्वमा हुने कारोबार सामान्य समयको तुलनामा बढी हुन्छ । उनले चाडपर्व लक्षित छुट तथा आकर्षक योजनाका कारण पनि बजारमा रौनक बढेको बताए । 

उनका अनुसार चाडपर्वको समयमा उपभोक्ताको खर्च गर्ने प्रवृत्ति बढ्ने भएकाले व्यवसायीका लागि यो अवधि महत्वपूर्ण हुन्छ । वर्षभरि हुने कारोबारमध्ये ठूलो हिस्सा चाडपर्वको समयमा हुने भएकाले व्यवसायीले यस अवधिलाई विशेष महत्व दिने गरेका छन् ।

जनकपुरधाममा दसैंदेखि छठसम्म सञ्चालन हुने सस्ता बजारले उपभोक्तालाई एउटै स्थानमा विभिन्न सामग्री खरिद गर्ने अवसर दिएका छन् । यस्ता बजारमा स्थानीय तथा राष्ट्रिय उत्पादनको बिक्री बढ्दा साना व्यवसायी, घरेलु उद्यमी र स्थानीय उत्पादकले पनि लाभ लिन सक्ने अपेक्षा गरिएको छ ।

विप्रेषण र चाडपर्व खर्चले बढायो बजारको माग

चाडपर्वको समयमा बजारमा माग बढ्नुको अर्को महत्वपूर्ण आधार वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषण हो । वैदेशिक रोजगारीमा रहेका नेपालीले चाडपर्व मनाउन तथा घरपरिवारको खर्च व्यवस्थापन गर्न रकम पठाउने क्रमले उपभोगमा सहयोग पुर्‍याउँछ । 

विशेषगरी मधेश प्रदेशका ग्रामीण क्षेत्रमा परिवारका सदस्यले विदेशबाट पठाएको रकमले लत्ताकपडा, खाद्यान्न, घरायसी सामग्री र अन्य आवश्यक वस्तु खरिद गर्न सहयोग गर्ने गरेको छ ।

नेपाल राष्ट्र बैङ्कका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा विप्रेषण आप्रवाह रु दुई खर्ब १५ अर्ब पाँच करोड पुगेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २१ दशमलव दुई प्रतिशतले बढी हो ।

विप्रेषणको रकम घरपरिवारको दैनिक खर्च, शिक्षा, स्वास्थ्य, आवास तथा अन्य आवश्यकतामा उपयोग हुने भएकाले यसले समग्र उपभोग र बजारको मागमा प्रभाव पार्छ । चाडपर्वका बेला घरपरिवारको खर्च थप बढ्ने हुँदा विप्रेषणबाट प्राप्त रकमको केही हिस्सा बजारमा प्रवाह हुने गर्छ ।

त्यस्तै, विदेशमा रहेका नेपाली चाडपर्व मनाउन स्वदेश फर्किने क्रम बढ्दा हवाई सेवा, सार्वजनिक यातायात, होटल तथा रेस्टुरेन्टमा यात्रुको चाप बढ्ने गर्छ । यसले यातायात र आतिथ्य सेवासँग सम्बन्धित व्यवसायलाई थप कारोबारको अवसर प्रदान गर्छ । तर बजारमा हुने सबै खर्च उत्पादनमूलक क्षेत्रमा रूपान्तरण नहुने भएकाले चाडपर्वको आर्थिक प्रभावलाई दिगो बनाउन स्थानीय उत्पादनको उपभोग, रोजगारी सिर्जना र साना उद्यमको प्रवर्द्धन आवश्यक रहेको अर्थशास्त्रीहरूको भनाइ छ ।

चाडपर्वमा माग बढेसँगै बजारमा मूल्यवृद्धि, कृत्रिम अभाव, गुणस्तरहीन वस्तुको बिक्री र म्याद गुज्रिएका सामग्रीको कारोबार हुन सक्ने जोखिम रहेकाले उचित मूल्यमा गुणस्तरीय वस्तु उपलब्ध गराउन बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने सरोकार भएकाहरू बताउँछन् । 

मधेश प्रदेशमा उत्पादित खाद्यान्न, मिठाई, हस्तकला, घरेलु सामग्री, परम्परागत पोसाक र स्थानीय उद्यमका वस्तुको बिक्री बढाउन सके साना उत्पादक तथा व्यवसायीको आम्दानी वृद्धि गर्न सहयोग पुग्नेछ ।

समग्रमा, दसैंपछि दीपावली, तिहार र छठसम्म जारी रहने चाडपर्वको मौसमले मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउने अवसर दिएको छ । बजारमा बढेको किनमेल, विप्रेषणको प्रवाह, कर्मचारीले पाउने चाडपर्व खर्च र पारिवारिक उपभोगले व्यापारिक कारोबार विस्तार गर्न सहयोग पुर्‍याएका छन् । 

यस अवधिमा बढ्ने आर्थिक गतिविधिलाई स्थानीय उत्पादन, रोजगारी र उद्यमशीलताको विकाससँग जोड्न सके चाडपर्वको रौनकले तत्कालीन व्यापारिक लाभसँगै अर्थतन्त्रमा दिगो योगदान पुर्‍याउन सक्नेछ ।

ताजा खबर

सम्बन्धित खबर